२२ चैत्र २०७५, शुक्रबार
  • सुशीलबाबु थकाली,

मुस्ताङ, २२ चैत । मुस्ताङले अब फुर्सद् पाउने सम्भावना देखिन छाडेको छ । सडक सञ्जाल सहज हुँदै गएपछि विशेष अवसर र विशेष मेहनतमा मात्र पुगिने मुस्ताङ अब सबैको पहुँचबाट नजिक बन्दै गएको छ । विशेषत सिजनमा मात्र मुस्ताङ पुग्नेहरु अहिले हरेक सिजनमा पुग्न थालेका छन् । तर यसपटक देखिएको भीड परम्परागत र अध्यात्मिक भएपनि भीड विछट्ट बढेको छ ।

बिशेष गरि चैते दशैको अवसर पारेर मुस्ताङ भित्रिएका पर्यटकहरुको चहलपहल देख्न सकिन्छ । खासगरी यो सिजनमा धार्मिक पर्यटकहरु बढी आउने भएकोले पनि मुस्ताङमा चहलपहल सुरु भएको हो । नेपालको बिभिन्न भागबाट मुस्ताङ आएका पर्यटकहरू सबैभन्दा बढी कागबेनी धाममा रहेका छन् । चैते दशै तथा सोह्र श्राद्दको अवसर बर्षको २ पटक औंशीमा मुस्ताङ आउने प्रचलन छ ।

गाडीको लर्को लाग्यो मुस्ताङमा
जिल्ला ट्राफिक कार्यालय जोमसोमका ट्राफिकका अनुसार हिजोमात्रै ५ सय २ वटा साना ठुला गरि मुस्ताङमा सवारी भित्रीएको थियो । हिजोमात्रै बस ८५, जिप २८५, ट्रक २८, पर्यटक जिप ९०, ट्याक्सी १०, ट्याक्टर ४ र मोटरसाइकल ८५ गरि जम्मा ५ सय २ ओटा मुस्ताङ भित्रिएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिनुभयो । मुस्ताङको बढ्दो सवारी र पर्यटकको चापलाइ व्यवस्थापन गर्न लागिपरेको गौतमले बताउनु भयो ।

सुरक्षा सतर्कता
गौतमका अनुसार स्थानीय प्रशासनले केहि दिन यता जिल्लाको सुरक्षा व्यवस्थालाइ नै चासोका साथ हेरिरहेको छ । कतैपनि नराम्रो घटना नघटोस भनी जिल्लाका सबै स्थानमा सुरक्षा व्यवस्था कडाइ गरिएको उहाँको भनाइ छ ।

अहिले तुलनात्मक हिसाबले मुस्ताङमा गत सालको भन्दा बढी पर्यटकहरु आएकोले पनि केहि समस्याहरु भएको पनि उहाँको ठम्याइ छ । पर्यटक आउदा केहि समस्या हुनु स्वभाविक भएपनि पर्यटकको सहजताका लागि स्थानीय प्रशासन संवेदन रहेको उहाँको भनाइ छ ।

सवारी पार्किङको व्यवस्थापनमा चासो
यता वारागुँमुक्ति क्षेत्र गाउँपालिकाका प्रमुख फेञ्चोक छेप्टेन गुरुङले पर्यटकको आगमनलाई ध्यानमा राखेर कागवेनी आसपासको सरसफाईलाइ ध्यान दिइएको बताउनु भयो । उहाँले गाउँपालिकाबाट बिनियोजन भएको करिब १० लाखको बजेटलाई भौतिक पूर्वाधार निर्माणका लागि खर्च गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । गत सालभन्दा पनि यस बर्ष अत्याधिक मात्रामा पर्यटकहरूको आगमन भएकोले कागबेनीमा आवश्यक पार्किङको सुव्यवस्था नहँुदा समस्या परिरहेको बताउँदै उहाँले निकट समयमै यसको समाधान र व्यवस्थापनमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पर्यटकको बिभिन्न भागमा विभाजन
मुस्ताङका प्रहरी सहायक निरीक्षक टीकाराम दाहालले करिब ७ दिनदेखि आफ्नो नेतृत्वमा सुरक्षा व्यवस्था कडाइका साथ अगाडि बढाएको र एकैपटक धेरै पर्यटकहरु पूजाआजा गर्न आउँदा व्यवस्थापनमा केही समस्या देखिएको बताउनु भयो । उहाँले विभिन्न भागमा पर्यटकहरूलाई विभाजन गरि काम अगाडि बढाइएको बताउँदै बुढाबुढी तथा अशक्तहरुलाइ बढी समय दिने गरेको जानकारी दिनुभयो ।

आउदाआउदै बाटोमा सवारी साधन बिग्रेको खण्डमा उनीहरूलाई सम्बन्धित स्थानमै गएर आउजाउमा सघाउ पुर्याउने गरेको पनि प्रहरी सहायक निरीक्षक दाहालले जानकारी दिनुभयो ।

LIVE TV