२१ चैत्र २०७५, बिहीबार

काठमाडौं । दुई दिने राष्ट्रिय विकास परिषदको बैठक समापन भएको छ । परिषद्ले दुई दिने बैठकमा आएका सुझाव समेट्ने गरी १५ औँ पञ्चवर्षीय योजनामा मस्यौदा स्वीकृत गरेको छ ।

विकास परिषद्बाट पारित मस्यौदा मन्त्रिपरिषद्मा पेस गरेपछि योजनाका रूपमा आउनेछ । १५ औ पञ्चवर्षीय योजनामा १६ सय डलर प्रतिव्यक्ति आय पुग्ने गरिबीको रेखामुनिको जनसंख्या १३ प्रतिशतमा झार्ने तथा बहुआयामिक गरिबीको जनसंख्या १४ प्रतिशतमा झार्ने लक्ष्य निर्धारण गरिएको छ ।

योजनामा अपेक्षित आयु ७२ वर्ष पु¥याउने लक्ष्य निर्धारण गरिएको छ भने साक्षरता दर ९० प्रतिशत, युवा साक्षरता ९९ प्रतिशत, आधारभूत खुद भर्ना ९९.५ प्रतिशत रहने लक्ष्य निर्धारण गरिएको छ । समापन कार्यक्रममा प्रधानमन्त्री केपीशर्मा ओलीले दीर्घ परिवर्तित अवस्थामा देशको पहिचान र परिचय बदल्ने योजना सरकारले अघि बढाएको दावी गर्नुभएको थियो ।

केन्द्र, प्रदेश र स्थानीय तहकाबीचमा विभिन्न संयन्त्र तय गरिएको जनाउँदै प्रधानमन्त्री ओलीले मुलुकले योजनाबद्ध रुपमा परिवर्तन गरिने दावी गर्नुभयो । बैठकमा समेटिएका सुझावलाई अध्ययन गरेर उपयुक्त सुझाव समावेश गरिने उहाँको दावी थियो ।

१५ औं योजनाको आधार पत्रमा कृषि, उर्जा, खनिज र पर्यटन क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने उल्लेख गरिएको छ । कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले जतिसक्यो छिटो १५ औँ पञ्चवर्षीय योजनालाई अन्तिमरूप दिनका लागि आग्रह समेत गर्नुभएको थियो । उहाँले योजनाका आधारमा आगामी आर्थिक वर्षको बजेट निर्माण गरिने जनाउँदै योजनालाई यथाशक्य पेश गर्न समेत आग्रह गर्नुभएको थियो ।

योजनाको मस्यौदामा २५ वर्षे दीर्घकालीन सोचसहितको आधार पत्रको मस्यौदामा ५ वर्षभित्र मुलुकमा समृद्धको सृजना गर्ने, १० वर्षभित्र समृद्धिका लागि आवश्यक काममा तीव्रता दिने कार्यक्रम पनि समावेश गरिएको छ ।

LIVE TV