१७ चैत्र २०७५, आईतवार

विवादमा नागरिकता विधेयक

अहिले नागरिक विधेयकसम्बन्धी विवाद चर्चामा छ । नेपाली नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयकमा प्रस्ताव गरिएका केही व्यवस्थाका कारण विवाद बढेको हो । गृहमन्त्री रामबहादुर थापाका तर्फबाट रक्षामन्त्री ईश्वर पोखरेलले साउन २२ गते संसदमा प्रस्तुत गरेको नागरिककता सम्बन्धी विधेयक ‘राष्ट्रहित विपरीत’ र पुरुषमैत्री भएको भन्दै विवाद भइरहेको छ ।

संसदमा प्रस्तुत विधेयकमाथि १ सय २ वटा संशोधन प्रस्ताव दर्ता भएपछि थप छलफलका लागि राज्य व्यवस्था समितिमा पठाइएको छ । समितिमा सदस्यहरुबीच विवाद बढेपछि समाधानका लागि नौ सदस्यीय उपसमिति बनाइएको छ । उपसमितिले पनि विवादका विषयमा सहमति जुटाउन नसक्दा आठ महिनाअघि संसदमा प्रस्तुत विधेयक विचाराधीन छ ।

जुन विधेयक ‘नेपाली नागरिकलाई नागरिकता लिन कठिन हुने तर विदेशी नागरिकलाई नेपाली नागरिकता लिन आह्वान गर्ने’ प्रकृतिको भएको टिप्पणी भइरहेको छ । पहिला विधेयकमा के थियो, के नयाँ व्यवस्था थपियो र विवाद के हो ?

वंशजका आधारमा नागरिकताका लागिः
पहिला भएको व्यवस्थाः कुनै व्यक्तिको जन्म हुँदा निजका बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुनेछ । प्रस्तावित व्यवस्थाः कुनै व्यक्तिको जन्म हुँदाका बखत निजका बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुनेछ ।

विवादः बाबु–आमा नै नेपाली नागरिक भएपछि जुनसुकै बेला नागरिकता पाउनु पर्छ । बा वा आमाले पछि नेपाली नागरिकता त्यागे पनि सन्तान नेपाली नै हुन चाहेमा पाउनु पर्छ ।

पहिला भएको व्यवस्थाः नेपाल सरहदभित्र फेला परेको पितृत्व मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मानिनेछ ।

प्रस्तावित व्यवस्थाः ‘नेपाल सरहदभित्र’ भन्ने शब्दहरूको सट्टा ‘नेपालभित्र’ भन्ने शब्द राखी सोही उपदफामा रहेका ‘पितृत्व मातृत्वको’ भन्ने शब्दहरूको सट्टा ‘पितृत्व र मातृत्वको’ भन्ने शब्दहरू राखिएका छन् ।

विवादः पितृत्व र मातृत्वबारे स्पष्ट व्यख्या भएन । र, नेपाली भूगोलमा भेटिएका जोकोहीलाई नागरिकता दिनु गलत हुनेछ ।

थपिएका तीन व्यवस्थाः
१. २०७२ साल असोज ३ गतेअघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तान बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिक मानिनेछ ।

२. नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्ति वंशजको आधारमा नेपालको नागरिक मानिनेछ ।

३. नागरिकता प्राप्त व्यक्तिको बाबुको पहिचान भई विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिले वंशजको आधारमा लिएको नागरिकता कायम रहने छैन र निजले बाबुको नामबाट विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको भनी स्वघोषणा गरेमा निजको नागरिकतालाई अङ्गिकृत नागरिकतामा परिणत गरिनेछ ।

विवादः विदेशी ‘बा’बाट जन्मिएको जोकोहीले सजिलै नेपालको नागरिकता पाउने भयो । त्यसअघि २०६३ सालमा टोली नै खटाएर केही भारतीयलाई बनाइएको नेपालीबाट जन्मेको बच्चालाई बंशजको आधारमा नागरिकता दिने सुनियोजित खेल हो ।

अंगीकृत नागरिकताका लागिः
पहिला भएको व्यवस्थाः नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष तोकिएको ढाँचामा निवेदन दिनु पर्नेछ । निवेदन दिँदा नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्धको र आपूmले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पनि साथै पेश गर्नु पर्नेछ । विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मिएका छोराछोरीको हकमा निजको नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको र बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता लिएको रहेनछ भने निजलाई तोकिए बमोजिम अङ्गीकृत नागरिकता प्रदान गर्न सकिनेछ ।

प्रस्तावित व्यवस्थाः नेपालीसँग विहे गरेकी विदेशी महिलालाई नेपाली नागरिकता प्रदान गरिनेछ । नागरिकता प्राप्त गर्न चाहने महिलाले नेपालको नागरिकता प्राप्त गरेको मितिले छ महिनाभित्र विदेशको नागरिकता परित्याग गरेको निस्सा पेश गर्नु पर्नेछ । विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाबाट नेपालमा जन्मिएको व्यक्तिले नागरिकता प्राप्त गर्दाका बखत निजका बाबु र आमा दुवै नेपाली नागरिक रहेछन् भने त्यस्तो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्न सक्नेछ ।

विवादः नेपालीसँग बिहे गर्नेवित्तिकै विदेशी महिलाले नेपाली नागरिकता पाउनु र उनीहरुबाट जन्मेको बच्चाले वंशजका आधारमा नेपाली नागरिकता पाउने प्रस्ताव गलत छ । र, विदेशी नागरिकता त्यागेको प्रमाणबिनै नेपालको नागरिकता दिनु राष्ट्रहित विपरीत हुनेछ ।

त्यस्तै गैरआवासीय नेपालीका लागि प्रस्ताव गरिएको व्यवस्था पनि गलत भएको टिप्पणी भइरहेको छ । यसमध्ये अंगीकृत नागरिकतासम्बन्धीको विवाद उत्कर्षमा छ ।

नागरिकतासम्बन्धी यसअघिको व्यवस्था नै ‘नेपालीका लागि कठोर र विदेशीका लागि उदार’ भएको आरोपबीच आएको प्रस्तावित विधेयक झन् राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्ताविरुद्ध भएको टिप्पणी छ । नागरिकतासम्बन्धी संविधान संशोधनको माग गरिरहेका मधेस केन्द्रित दलका नेताले पनि प्रस्तावित विधेयकको विरोध गरिरहेका छन् । प्रस्तावित विधेयक नेपालको हित विपरीत भएको भन्दै सत्ताघटक दलका नेताले समेत आपत्ति जनाउँदै आएका छन् ।

टिप्पणी र प्रतिक्रिया

 संसदमा दर्ता भएर संसदीय समितिमा छलफल भइरहेको नागरिकतासम्बन्धी विधेयक निकै विवादित बनेको छ । मूलतः जन्मका आधारमा सबै विदेशीले नेपाली नागरिकता पाउने, नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई विवाहलगत्तै नागरिकता दिने, विदेशी पुरुषसँग विवाह गर्ने नेपाली महिलाले नागरिकता परित्याग नगरेको अबस्थामा तिनका सन्तानले पनि नागरिकता पाउनेलगायत प्रस्तावित व्यवस्थाका कारण विधेयक विवादित बनेको हो । त्यस्तै, विधेयकले संविधानमा महिलालाई दिएको हक हनन गरेको भन्दै अधिकारकर्मीले विरोध गरेका छन् ।

२०७२ सालअघि अंगीकृत नागरिकता लिएकाबाट जन्मिएको सन्तानलाई बंशजको आधारमा नेपाली नागरिकता दिने भन्ने विषय पनि निकै विवादित छ । यसलाई कतिपयले ‘हिजो नागरिकता दिएर नेपाली बनाएको भारतीयबाट जन्मेकालाई बंशजका आधारमा नेपाली बनाउने’ खेलका रुपमा बुझेका छन् ।

भारतीयलाई नेपाली नागरिकता दिएर नेपाललाई भारतमा बिलय गराउने रणनीतिक योजनासहित नागरिकता विधेयक आएको भन्दै धेरैले आपत्ति जनाएका छन् ।

कुनै विदेशीले नेपालीसँग बिबाह गर्नेवित्तिकै नेपाली नागरिकता दिने प्रस्तावले सरकारको नियतमाथि स्वभाविक प्रश्न उठाएको छ । नागरिकता वितरणको खुकुलो विधिले क्रमशः देशको राष्ट्रियतामाथि नै प्रहार हुने सम्भावनाप्रति धेरैले चिन्ता गरेका छन् ।

अहिले नेपालमा अंगीकृत नागरिकता लिनेको सङ्ख्या बढिरहेको छ । तथ्यांकअनुसार नयाँ संविधान जारी भएपछि करिब पाँच हजारले वैवाहिक अंगीकृत नागरिकताको प्रमाणपत्र पाएका छन् । त्यस्ता नागरिकता प्राप्त गर्ने प्रायः नेपालीसँग विवाह गरेका भारतीय महिला हुन् । प्रस्तावित नागरिकता विधेयक पारित भएपछि यो सङ्ख्या झन् बढ्ने निश्चित छ ।

LIVE TV