१५ चैत्र २०७५, शुक्रबार

काठमाडौं । आज सुरु भएको लगानी सम्मेलनले ३० खर्ब भन्दा बढि रकम जुटाउने अठोट लिएको छ । यसका लागि सरकारले दुईदिनसम्म लगानीकर्ताहरुलाई सम्मेलनमा विश्वास लिने कसरत गरेको छ । प्रधानमन्त्रीस्तरबाट सम्मेलनको पहिलो दिनको सुरुमै लगानीकर्ता सामु लगानी सुरक्षाको बाचा गरियो ।

७७ वटा आयोजनाका लागि सम्मेलनका सहभागीबाट ३० खर्बभन्दा बढी रकम जुट्ने आशा छ । तीन वर्षयता भित्रिएको वैदेशिक लगानीको आँकडा तुलना गर्दा यो रकमलाई महत्वकांक्षी ठानिएको छ । तर, सजिलो कानून र सुरक्षाको ग्यारेन्टी दिएर लगानीकर्ताको विश्वास बढाउन सकिने सरकारी दाबी छ ।

जति रकमको आशा लगानीकर्ताबाट गरिएको छ, नेपालसँग त्यतिनै अर्थात ३० खर्ब रकमकै आर्थिक आकार छ । यो आकारको अर्थतन्त्रको भार बोक्न वार्षिक रूपमा प्राप्त हुने १० देखि १५ अर्ब रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानीले पुग्दैन । तर आर्थिक बृद्धि बढाउन र फराकिलो बजार बनाउ लगानीको ठूलो आवश्यकता छदैछ सम्भावना पनि उतिकै छ । दुईतिहाइको बलियो सरकारले सम्मेलनको सदुपयोग गरेमा त्यो वातावरण टाढा छैन–यो भनाइ हो पूर्वअर्थ मन्त्री डाक्टर रामशरण महतको ।

सम्मेलनमा माइक्रोसफ्ट, अमेजनजस्ता विश्वविख्यात कम्पनीका साथै दरिला बहुपक्षीय तथा द्विपक्षीय विकास साझेदारहरुको पनि सहभागीता छ । वैदेशिक लगानीकर्ताहरुले सरकार र निजी क्षेत्रको सहकार्यलाई सकारात्मक मानेका छन् । यसबाट लगानीको वातावरण सजिलो हुदै गए लगानी बढ्दै जाने आशय देखाएका छन् ।

४० देशका ६ सयभन्दा बढी विदेशी लगानीकर्ताले उर्जादेखि पर्यटनसम्मका ७ क्षेत्रमा चासो देखाएका छन् ।

LIVE TV