१५ चैत्र २०७५, शुक्रबार
  • रविना बाेहाेरा

बाग्लुङ । काठेखोला गाउँपालिका वडा न. ८ लेखानीमा बाटो खन्ने क्रममा सुख्खा पहिरो जाँदा नेपाली सेनाका ३ जवान घाइते भएका छन् । शुक्रबार काठेखोला गाउँपालिकाको रिङरोडको लागि लेखानी–बिहुँ खण्ड खन्ने क्रममा बाटो माथिबाट खसेको ढिस्कोमा परि नेपाली सेनामा कार्यरत जवानहरु घाइते भएका हुन ।

उनीहरुलाई लेखानी स्वास्थ्य चौकिमा सामान्य उपचार पछि अहिले थप उपचारको लागि नेपाली सेनाको हेलीकप्टर मार्फत छाउनीस्थित सैनिक अस्पताल लगिएको छ । घटनामा गम्भीर घाइते पहलमान श्रेष्ठ र सन्तोष कार्कीको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भैरहेको नेपाली सेनाले जनाएको छ ।

काठेखोला गाउँपालिका–८ लेखानी देखि वडा नं. ५ कर्लिम जाने सडक सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउन गएका तीन सैनिक जवान घाइते भएका हुन ।

स्थानीय वडा अध्यक्षहरुको आग्रहमा सेनाको अर्जुनबाँण गणका जवानहरु सडक खुलाउन गएकोमा शुक्रबार बिहान थप पहिरो खसेर घाइते भएको गणपति भुवनराज देवकोटाले बताउनुभयो ।

काठेखोला गाउँपालिकाको ६५ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त सडक उपभोक्ता समितिले निर्माण गरिरहे पनि उक्त क्षेत्रमा पहिरो गइरहेपछि नेपाली सेनाको सहयोगमा बाटो मर्मत भइरहेको थियो ।

LIVE TV