१४ चैत्र २०७५, बिहीबार

काठमाडौं, १४ चैत । आजदेखि नेपालको भ्रमणमा रहनु भएका भारतीय विदेश सचिव विजय गोखलेले आजदेखि नै भेटवार्तालाई तीब्र बनाउनु भएको छ । गोखलेले आज प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसंग भेट गर्नु भयो । त्यस्तै परराष्ट्र सचिव शंकरदास वैरागीसंग पनि भेट गरि द्धिपक्षीय हितको विषयमा छलफल गर्नु भएको छ ।

पराष्ट्र सचिव वैरागी र भारतीय विदेश सचिव गोखलेबीचको छलफलमा व्यापक द्विपक्षीय साझेदारीका साथै आपसी हितका क्षेत्रीय मुद्दा र अन्य मुद्दाहरुबारे विचारविमर्श भएको बताइएको छ । उहाँहरुले द्विपक्षीय परियोजना तथा नेपाल र भारतका प्रधानमन्त्रीद्वयको २०७४ चैत र २०७५ वैशाखमा भएको पारस्परिक भ्रमणका क्रममा गरिएका पहलमा भएको ठोस प्रगतिबारे सन्तुष्टि व्यक्त गर्नुभएको थियो ।

उहाँहरुबीच सहकार्यको विविध क्षेत्रमा द्विपक्षीय आदानप्रदानलाई निरन्तरता दिने तथा दुई देशबीचको निकट, मैत्री तथा बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने सहमति जनाइएको पनि बताइएको छ । विदेश सचिव गोखलेको नेपाल भ्रमण दुई देशबीचको नियमित उच्च स्तरीय भ्रमणलाई निरन्तरता दिनका लागि भएको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ ।

LIVE TV