
- दान बहादुर बूढा
चैत्र १३, मुगु । मुगु जिल्लामा पछिल्लो समयमा खेलाडीहरु खेलकुदप्रति आकर्षित बन्दै गएपनि खेल मैदान अभावमा खेलाडीहरुको कौशल ओझेलमा पर्न गएकाे छ ।

खेलकुदका लागि आवश्यक खेल मैदान बनाउने विषयमा जिल्लाका स्थानिय सरकार, केन्द्र सरकार र प्रदेश सरकारले चासो नदेखाउँदा खेलाडीहरुले खेल अभ्यासका गर्ने ठाउँकाे अभाव देखिएकाे छ । खेल मैदान तथा खेल क्षेत्रलाई संरक्षण तथा प्रवर्द्धन गर्नको लागि सरकारले जिल्ला खेलकुद विकास समितिको कार्यालय स्थापना गरी कर्मचारीको दरबन्दी पनि राखेको छे तर समितिले खेलकुद विकासका लागि ठोस कार्य गर्न सकेको छैन ।
जिल्लामा बिभिन्न खेलका जिल्लादेखि केन्द्रीय स्तरसम्म खेल खेल्ने खेलाडी भए पनि जिल्लामा कवर्ड हल ,खेलमैदान नहुँदा खेलाडीहरुको सिप ओरालो लागेको स्थानीयको दुखेसो छ । मुगुका खेलाडीहरु जिल्ला विकास समितिले खेलका लागि आवश्यक पूर्वाधार तयार नपारिदिंदा खेत बारी ,मन्दीर, बिद्यालयको चौरमा गएर अभ्यास गर्दै क्षेत्रीय खेलहरुमा सहभागी हुन बाध्य रहेको बताउँछन् ।

खेलकुद विकास समितिले बार्षिक राष्ट्रपति रनिङसिल्ड प्रतियोगीता बाहेक अन्य कुनै पनि खेल कार्यक्रम आयोजना गर्न नसकेको राष्ट्रिय भलिवल खेलाडी पिआर मल्लले बताएका छन । मैदान अभावकै कारण जिल्ला प्रहरी कार्यालय,आँखा अस्पताल,पशुसेवा केन्द्र साबिकको प्राबिधिक कार्यालयको महाकाली उच्च माध्यमिक बिद्यालयको मैदानमा बाध्य भएर खेल खेल्नु परेको ब्याटमिन्टन खेलाडी हरी बहादुर बुढाको गुनासो रहेको छ ।

यता खेलकुद बिकास समिति कार्यालय प्रमुख बिकास मल्लले समितिको भवनको लागि आवश्यक जग्गा किन्दा खर्च भएको कारण समितिले तत्काललाई खेलकुद पूर्वाधार बनाउन नसकेको स्विकार गर्छन् ।
उनी भन्छन् ‘आफ्नै स्रोतबाट कार्यक्रम आयोजना गर्न नसक्ने भएकाले राष्ट्रिय खेलकुद परिषदबाट जस्तो कार्यक्रम आउछ त्यही अनुसार अघि बढेका छौं ।’ उनले कवर्डहलको लागि राष्ट्रिय खेलकुद परिषदमा पहल गरिरहेको बताए ।