१३ चैत्र २०७५, बुधबार

काठमाडाैं । लगानी बोर्डले शुक्रबारबाट हुने लगानी सम्मेलनको सबै तयारी पूरा भएको जनाएको छ । सम्मेलनको तयारीबारे प्रधानमन्त्री, मन्त्रीहरू, उच्च सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिलाई हिजो ‘ब्रिफिङ’ गर्दै बोर्डले सबै तयारी पूरा भएको जनाएको हो ।

सम्मेलनमा दातृ निकाय र विकास साझेदारसहित ६ सयभन्दा बढी विदेशी र ४ सय हाराहारी स्वदेशी लगानीकर्ता सहभागी हुने बोर्डले जनाएको छ । सम्मेलनमा गैर–आवासीय नेपालीले पनि भाग लिने छन् ।

सरकारले प्राथमिकताका सात क्षेत्र तोक्दै सम्मेलनमार्फत ७३ आयोजनाका लागि ३१ खर्ब स्रोत जुटाउने लक्ष्य लिएको छ । सम्मेलनमा प्रस्तावित आयोजनाबारे जानकारी लिएपछि लगानीकर्ताले क्षमता र रुचीका क्षेत्रमा लगानी गर्ने वातावरण बन्ने भन्दै सरकारले सम्मेलनलाई झोलामा बोकेर ल्याएको पैसा खन्याई हाल्नेरुपमा बुझ्न नहुने पनि स्पष्ट पारेको छ ।

सम्मेलनका लागि आमन्त्रित विदेशी पाहुना काठमाडौँ आउनेक्रम पनि सुरु भइसकेको बोर्डले जनाएको छ । शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नुहुने छ ।

लगानी सम्मेलनकै बेला विप्लवकाे बन्द

सरकारले १५ र १६ गते लगानी सम्मेलन आयोजना गर्दै छ । जसलाई लक्षित गरेर झैँ प्रतिबन्धित नेकपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

वैदेशिक लगानीप्रति अनुदार नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले सम्मेलन आसपास नै आन्दोलन घोषणा गर्नुमा मनोबैज्ञानिक त्रास फैलाउने उद्देश्य राखेको बुझ्न सकिन्छ । तर, सरकारी अधिकारी चन्द समूहकै कारण सम्मेलनप्रति शङ्का बढाउन नहुने बताउँछन् । उनीहरूका अनुसार सरकार लगानी सुरक्षाका लागि जुनसुकै कदम उठाउन तयार छ ।

१६ गते नै विप्लव समूहले नेपाल बन्दको समेत घोषणा गरेकाे छ । आफनो कार्यकर्ता पक्राउ परेका नेता कार्यकर्ताको रिहाइका निम्ति चैत १६ गते नेपाल बन्द गरेको विप्लबले जारीगरको विज्ञप्तीमा उल्लेख छ । 

विप्लवले सरकारले देशलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको समेत आरोप लगाएका छन्।

LIVE TV