११ चैत्र २०७५, सोमबार

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले अन्तराष्ट्रिय फौजदारी अदालतको विधानलाई अनुमोदन गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग आग्रह गरेको छ । सद्भाव प्रवद्र्धन, हिंसा र घृणा खारेजी एवं दण्डहीनताको अन्त्यका लागि योगदान गर्न सबै पक्षलाई आग्रह गरेको हो ।

सद्भाव प्रवद्र्धन, हिंसा र घृणा खारेजी एवं दण्डहीनताको अन्त्यका लागि योगदान भन्ने अभियान अभियान सञ्चालन गर्दै आएको समाजको प्रतिनिधिमण्डलले सोमबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग भेटी दण्डहीनताको अन्त्यका खातिर नेपालले शीघ्र अन्तराष्ट्रिय फौजदारी अदालतको रोम विधानलाई अनुमोदन गर्न आवश्यक रहेको जिकिर गरेकाे हाे ।

प्रतिनिधिमण्डलसँगको छलफलमा अध्यक्ष गणेश तिमिल्सिनाले मानव अधिकारको प्रत्याभुति र शान्तिको सुनिश्चितता नै लोकतन्त्रको विशेषता भएको भन्दै अन्तराष्ट्रिय फौजदारी अदालतको विधान अनुमोदनका लागि आफुले विशेष पहल गर्ने बताउनुभएकाे छ ।

प्रतिनिधिमण्डलमा समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, वरिष्ठ उपसभापति गोविन्द खनाल, केन्द्रीय सदस्यहरु गीता तिमिल्सना, नम्रता खरेल, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारासहित ७ जनाकाे उपस्थिती रहेको थियो ।

शान्ति समाजले सन् १९९८ देखी नै रोम विधानलाई नेपालले अनुमोदन गर्नुपर्छ भनि निरन्तर रुपमा अभियान सञ्चालन गर्दै आएको छ ।

LIVE TV