जनताकाे जलविद्युत : आजबाट शेयर बिक्री खुला, प्रधानमन्त्रीले १० हजार कित्ता शेयर किन्दै



प्रकाशित मिति : Mar 21, 2019

काठमाडाैँ । सरकारले ल्याएको ‘जनताको जलविद्युत’ कार्यक्रमअन्तरगत पहिलोपटक आजबाट शेयर बिक्री खुला हुँदै छ ।

गत फागुन २ गते जलविद्युत् आयोजनाहरूमा सर्वसाधारणको स्वामित्व स्थापित गर्ने लक्ष्यका साथ सरकारले सो कार्यक्रम घोषणा गरेको थियो । त्यस क्रममा यस परियोजना अन्तरगत पहिलो शेयर चैतमै आउने दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो शेयर आफूले किन्ने वाचा गर्नुभएको थियो । सोही अनुसार आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सेयरका लागि पहिलो आवेदन हुन लागेको स्रोतले जनाएको छ ।

पहिलाे शेयर प्रधानमन्त्रीलाई

आजबाट बिक्री खुला भएको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको शेयरका लागि प्रधानमन्त्री ओलीले रु १० हजार कित्ता शेयरका लागि खरिद आवेदन दिनुभएकाे बालुवाटार स्राेतले जनाएकाे छ । उहाँले ग्लोबल आईएमई क्यापिटलमार्फत शेयरका लागि अनलाइनबाटै आवेदन दिनुभएको हाे । उहाँकी पत्नी राधिका शाक्यले पनि १० हजार कित्ताका लागि शेयर अावेदन दिनुभएकाे जनाइएकाे छ ।

यसैगरी ऊर्जामन्त्री वर्षमान पुनले पनि सो आयोजनाको शेयरका लागि आजै पहिलो चरणमा आवेदन दिनुभएकाे छ । उहाँले १ हजार कित्ता तथा र उहाँकी पत्नी पूर्वसभामुख ओनसरी घर्तीले २ हजार कित्ताका लागि आवेदन दिनुभएकाे हाे ।

प्रधानमन्त्री र ऊर्जामन्त्री दुवैले आज बिहीबार बिहान करिब १०ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारबाट अनलाइनमार्फत पहिलाे चरणमा सेयर आवेदन दिनुभएकाे हाे ।

सरकारकाे लक्ष्य

‘नेपालको पानी जनताको लगानी, सबै नेपाली विद्युत्को सेयरधनी’ भन्ने मूलनाराका साथ घोषणाा गरिएको जनताको जलविद्युत कार्यक्रमबाट जलविद्युत्मा करिब सात खर्ब रुपैयाँ लगानी जुटाउने सरकारको लक्ष्य छ ।

यस कार्यक्रमका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले हाललाई तीन हजार ४७९ मेगावाट क्षमताका १९ वटा जलविद्युत् आयोजना निश्चित गरिसकेको छ । मन्त्रालयले कार्यक्रमका लागि आवश्यक कार्यविधि समेत यसअघि नै पारित गरिसकेको छ ।

कार्यविधिअनुसार यस कार्यक्रम अन्तर्गतका हरेक आयोजनामा ५१ प्रतिशत सरकारकाे तथा ४९ प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व रहनेछ । सर्वसाधारण समूहमा पनि १० प्रतिशत शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले मात्र किन्न पाउने व्यवस्था गरिएकाे छ ।

माथिल्लाे त्रिशुली ३ बी : कसरी दिने आवेदन ?

सर्वसाधारणले शेयरमा आवेदन गर्नका लागि डिम्याट खाता खाेलेकाे हुनुपर्नेछ । याे खाता भएका जाेसुकैले शेयरमा आवेदन गर्नका लागि आफ्नाे बैंक खाता भएकाे जुनसुकै शाखामा गएर आवेदन फारम भर्न सकिने छ । साथै मेराे शेयरमा गएर अनलाइनबाटै शेयर आवेदन दिन सकिनेछ ।

आजबाट बिक्रीमा आएकाे माथिल्लाे त्रिशुली ३ बीकाे शेयरकाे अ‌ंकित मूल्य प्रतिकित्ता रु १०० भए पनि पहिलाे चरणमा भने साे रकमकाे १० प्रतिशत अर्थात रु १० दशप्रतिकित्ताका दरल‍े आवेदन दिनुपर्ने व्यवस्था गरिएकाे छ । बाँकी भुक्तानी आयाेजनाकाे काम ७५ प्रतिशत सम्पन्न भएपछि मागिने आयाेजनाले जनाएकाे छ । जनताको जलविद्युत कार्यक्रमका लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ संशोधन गरेर यस्ता आयाेजनाहरुमा सर्वसाधारणबाट शेयर पूँजीको १० प्रतिशत अग्रिम संकलन गर्न सकिने व्यवस्था गरिएकाे हाे ।

माथिल्लाे त्रिशुली ३ बी काे जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँ रहेकाे छ र साेकाे १५ प्रतिशत अर्थात् कूल ३७ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्रीका लागि खुला गरिएकाे हाे ।

इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन गर्न सक्नेछन् । शेयरमा आवेदन दिने म्याद यही चैत ११ गतेसम्म रहेकाे छ । साे अवधिमा आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा भने २०७६ वैशाख ६ गतेसम्म आवेदन गर्न पाइने जनाइएकाे छ ।

नुवाकोट र रसुवामा निर्माणाधीन ३७ मेगावटको याे आयोजना २०७८ फागुन १७ भित्र सम्पन्न गर्ने लक्ष्य रहेकाे छ । आयोजना लागत ८ अर्ब २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ अनुमान गरिएकाे छ ।

(अद्यावधिक गरिएकाे)


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com