ज्यान जोगाउन सिरियाबाट भागेका बाबुछोरा सुरक्षित भनिएकाे देश न्यूजिल्याण्डमा मारिए



प्रकाशित मिति : Mar 21, 2019

काठमाडाैं । सिरियाको गृहयुद्धका कारण विश्वकै सर्वाधिक सुरक्षित ठानिएको मुलुक न्यूजील्याण्ड पुगेका मुस्लिम बाबुछोरा क्राइस्टचर्च मस्जिद गोलीकाण्डमा मारिएका छन् ।

उनीहरुको बुधबार सम्पन्न दाहसंस्कारमा सयौं न्यूजील्याण्डबासी उपस्थित भएर भावपूर्ण बिदाइ गरेका थिए । सिरियाबाट न्यूजील्याण्ड पुगेका ४४ वर्षीय खालिद मुस्ताफा र उनका १५ वर्षीय छोरा हम्जा आक्रमणमा मारिएका हुन् ।

मस्जिदमा शुक्रबारको प्राथनाका लागि भेला भएका व्यक्तिमध्ये ५० जनाको गोली लागि मृत्यु भएको थियो ।

हम्जा पढ्ने माध्यमिक विद्यालयका प्रिन्सिपलले हम्जा पढाइमा निकै मिहिनेती रहेको बताउँदै उनलाई घोडचढी खुबै मनपर्ने गरेको स्मरण गरे ।

यी बाबुछोराको दाहसंस्कारमा हम्जाका भाइ १३ वर्षीय जाइद पनि उपस्थित थिए । मस्जिदमा सँगै रहेका जाइदलाई भने पाखुरा र खुट्टामा गोली लागेको थियो । ‘दाहसंस्कारका समयमा उनी ह्वीलचेयरबाट उठ्न खोज्थे, तर सक्दैनथे,’ दाहसंस्कारमा सहभागी एक जनाले बताए ।

‘हामीले उनलाई हात नमिलाउन अनुरोध ग-यौं । तर उनी सबैसँग हात मिलाउन चाहन्थे, उनी सबैजना उपस्थित भएकामा खुशी हुन चाहन्थे,’ अस्ट्रेलियाबाट दाहसंस्कारमा सहभागी हुन क्राइस्टचर्च पुगेका जमिल एल–बिजाले भने ।

मुस्तफा बाबुछोरा गत वर्ष मात्र न्यूजील्यान्ड बसाइँ सरेका थिए । जोर्डनमा करिब छ वर्ष शरणार्थी जीवन बिताएर उनीहरु अस्ट्रेलिया हुँदै न्यूजील्यान्ड पुगेका थिए ।

मुस्तफाकी पत्नी सल्वाले रेडियो न्यूजील्यान्डसँग कुरा गर्दै सबै जनाले विश्वमै सबैभन्दा सुरक्षित मुलुक न्यूजील्यान्ड हो भनेपछि यहाँ आएको बताइन् । उनले भनिन्, ‘तर यहाँ पनि सुरक्षा रहेनछ ।’ याे समाचार आजकाे राजधानी दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com