आठौं राष्ट्रिय खेलकुद– पचास अर्बको पूर्वाधार उपहार नेपालगञ्जमा



प्रकाशित मिति : Mar 19, 2019
  • भगतराम थारु,

नेपालगञ्ज । खेलकुद पूर्वाधारमा बाँकेले फड्को मारेको छ । त्यसको एउटै मात्र कारण हो, आठौं राष्ट्रिय खेलकुद । प्रतियोगिताको मुख्य आयोजना बाँकेमै हुने भएपछि त्यसैका लागि आधा अर्बका पूर्वाधारहरु बाँकेमा निर्माण भैरहेका हुन् ।

‘खेलकुदका लागि यतिधेरै बजेट एकै पटक पाउने सक्ने अवस्था सम्भव हुँदैनथ्यो होला’, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले भने । उनले भने, ‘बाँकेको खेल क्षेत्रका लागि आठौं राष्ट्रिय खेलकुदले करोडौंका पूर्वाधार उपहार दिएको छ ।’ अध्यक्ष ओलीका अनुसार, बाँके मात्रै ४८ करोडका खेल पूर्वाधार निर्माण भैरहेका छन् । ‘आठौंले हाम्रा लागि खेल उत्सवमात्रै होइन उपहार पनि हो’, अध्यक्ष ओली भन्छन् ।

बाँकेमा सबैभन्दा ठूलो लगानीमा नेपालगन्ज रंगशाला निर्माण भैरहेको छ । रंगशालाका लागि मात्रै २४ करोड रुपैयाँ बजेट उपलब्ध भएको छ । ‘६ करोड लागतमा फुटबल मैदान र १८ करोड लागतमा भी आइपी प्याराफिट निर्माण भैरहेको हो’, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका सब इन्जिनियर कार्म शाहीले भने ।

नेपालगञ्ज रंगशालामा खेल्न योग्य मैदानका लागि ३६ लाख रुपैयाँ खर्च गरेर दुबो रोप्न बरमुडा घाँस रोपिएको छ । त्यसले मैदानमा लोभलाग्दो हरियाली देख्न सकिन्छ । ‘भीआइपी प्याराफिट जडानका लागि स्टक्टर निर्माण पनि अन्तिममा छ’, अध्यक्ष ओली भन्छन्, ‘फुटबल मैदान अन्तर्राष्ट्रिय स्ट्याण्डर्डको बन्दैछ ।’

नेपालगन्ज रंगशाला परिसरमा फुटबल मैदान बाहेक करोडौंको लगानीमा पौडी पोखरी, सुटिङ्ग रेन्ज, भारोत्तोलन एकेडेमी निर्माण भैरहेको छ । पौडी पोखरी निर्माण कार्य पनि अन्तिममा छ । नेपालगन्ज रंगशाला छेउमा निर्माण भैरहेको पौडी पोखरीका लागि १४ करोड २८ लाख बजेट छुट्याइएको छ । ‘आठौंको प्रतियोगिताका नै सञ्चालन हुने गरी पौडी पोखरी निर्माण गरिएको हो’, ओलीले भन्छन् ।

नेपालगन्ज रंगशाला परिसरमा बन्न लागेको अर्को खेल पूर्वाधार भनेको सुटिङ्ग रेन्ज हो । ‘१ करोड ५० लाख रुपैयाँ लागतमा सुटिङ्ग रेन्ज तयार हुन लागेको हो’, क्षेत्रीय खेलकुद विकास समितिका सब इन्जिनियर शाहीले भने । नेपालगन्जकै कारकाँदोमा जुडो एकेडेमी निर्माण भैरहेको छ । जसका लागि २ करोड रुपैयाँ बजेट छुट्याएको शाही बताउँछन् । ‘जुडो एकेडेमी पनि अन्तिम चरणमा छ’, अध्यक्ष ओली भन्छन् ।

बाँकेको खजुराको सितापुरमा आठौंका लागि भलिबल स्टेडियम बनिरहेको छ । जसका लागि २ करोड ५० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ । खजुरा–२ सितापुरमा भलिबल स्टेडियम निर्माण कार्य सकिने अवस्थामा रहेको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष ओली बताउँछन् । स्टेडियमका लागि सुरुमा १ करोड पछि थप १ करोड ५० लाख रुपैयाँ उपलब्ध भएको हो । आठौंलाई मध्यनजर निर्मार्णाधिन दर्जनौ परियोजना मध्ये भलिबल स्टेडियम उत्साहजनक ढंगले निर्माण भैरहेको पूर्वाधार हो ।

आठांैमा महिला तथा पुरुष भलिबल प्रतियोगिता शुक्र भलिबल स्टेडियम सितापुरमै आयोजना गर्ने राष्ट्रिय खेलकुद परिषद्को योजना छ । सितापुरमा ३ हजार ५ सय दर्शक क्षमताको प्याराफिटसँगै १ सय भिआइपी अट्ने प्याराफिट थप निर्माण भैरहेको हो । दुई वटा प्रतियोगिता एकसाथ खेल्न मिल्ने गरी भलिबल कोर्ट निर्माण गरिएका छन् । त्यसका लागि छुट्टाछुट्टै दुई वटा गेट, महिला पुरुषका लागि छुट्टाछुट्टै शौचालय, चेन्जिङ्ग रुम, अफिस रुम निर्माण भएका छन् । त्यति मात्रै होइट आठौंका लागि खजुरा गाउँपालिका भित्र आधा दर्जन खेल मैदानलाई स्तरोन्नती गरिएको छ ।

खजुरा–२ सितापुरमा सीतापुर स्पोर्टस् टे«निङ्ग सेन्टर निर्माण गरिएको छ । सीतापुर स्पोर्टस् टे«निङ सेन्टरलाई आठौं राष्ट्रिय खेलकुदको प्राक्टिस भेनुका रुपमा पनि अघि सारिएको छ । खजुरा–२ कै नेरा पशुपति खेल मैदान, खजुरा–३ को नेराप्रावि र नेरा शान्ति खेल मैदान, खजुरा ४ स्थित मनकामना विद्यालयको खेल मैदान र नेराप्रावि डि गाउँ खेल मैदानलाई आठौंको प्राक्टिस भेनुका रुपमा खेल मैदान स्तरोन्नतीका लागि बजेट दिइएको छ ।

बाँकेमा विभिन्न १३ वटा प्रस्तावित खेल मैदान स्तरोन्नती गरी आठांैको खेल मैदानका रुपमा विकसित गरिएको छ । त्यसका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष ओलीले जानकारी दिए ।

आसन्न आठौं राष्ट्रिय खेलकुदका लागि बाँकेको कोहलपुरमा क्रिकेट ग्राउण्ड तयार भएको छ । पुरुषतर्फको राष्ट्रिय प्रतियोगिता सञ्चालनको लागि मैदान तयार भएको हो । ‘मैदान खेल्नका लागि तयारी अवस्थामा छ’, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले भने । मैदान स्तरोन्नती भएपछि अन्तर्राष्ट्रिय स्तरको बनाउनु पर्ने सन्देश पनि प्रवाह भएको क्रिकेटप्रेमीहरु बताउँछन् । कोहलपुर क्रिकेट मैदानका लागि पटकपटक गरी १ करोड रुपैयाँ खेलकुद विकास समितिले छुट्याएको थियो । क्रिकेट मैदानमा कोहलपुर नगरपालिका र नगर विकास समितिले पनि तारबार लगायतका पूर्वाधारमा लगानी गरेको छ ।

आठौं आयोजनाले बाँकेमा करोेडौंका पूर्वाधार बनेपछि स्थानीय खेलप्रेमी, खेल पदाधिकारी, उद्योगपति, व्यापारी, राजनीतिक दलका स्थानीय नेता कार्यकर्ता, स्थानीय जनप्रतिनिधिलगायत पनि उत्साहित छन् । बाँकेसँगै बर्दियाको बाँसगढीमा कबड्डी एकेडेमी, भुरेगाउँमा खोखो कबर्ड हल बनिरहेको छ ।

दाङको बेलझुण्डिमा ३४ करोड बजेटमा प्रदेश स्तरीय रंगशाला निर्माण कार्यका लागि टेण्डर प्रक्रिया सुरु भैसकेको अध्यक्ष ओलीले जानकारी दिए । लमहीमा ४० लाख बजेट क्रिकेट मैदानका लागि छुट्याइएको ओलीको भनाइ थियो ।

आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घघाटन र समापन नेपालगञ्ज रङ्गशालामा गरिनेछ भने बाँकेको कोहलपुर र खजुरा, बर्दियाको गुलरिया र ठाकुरद्वारा, दाङको बेलझुण्डी, कपिलवस्तु र रुपन्देहीमा समेत केही खेलहरु हुनेछन् । प्रतियोगिताका लागि बर्दिया राष्ट्रिय निकुञ्जको पहिचान झल्किने गरी हात्तीको छावालाई ‘मष्कट’का रुपमा राखिएको छ । राखेपले ‘आठांै खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ नारा तय गरेको छ ।

प्रतियोगिता समयमै आयोजना गर्न सङ्घीय, प्रदेश नं ५ र त्यसअन्तर्गतका स्थानीय तहसँग क्षेत्रीय खेलकूद विकास समितिले सबैखाले सहयोग, सहकार्य र अपनत्व ग्रहण गर्न आग्रह गर्दै आएको छ । प्रतियोगितामा ३५ खेलका पाँच हजारभन्दा बढी खेलाडी सहभागी हुने बताइएको छ ।

पूर्वको विराटनगरमा भएको साताँै राष्ट्रिय खेलकूद प्रतियोगिता समापनमा आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता नेपालगञ्जमा गर्न सक्ने आँट र साहसका साथ झण्डा ग्रहण गरेका मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम ओलीलगायत नेपालगन्जका सबै पक्ष अहिले दैनिकजसो खेलकूदको भौतिक पूर्वाधारहरुको अनुगमन गर्दै प्रतियोगिता समयमै आयोजना गर्न जुटेको छ ।

प्रतियोगिताको तयारीमा सबै उपसमितिहरु सक्रिय छन् । राष्ट्रिय खेलकुद परिषद, प्रादेशिक खेलकुद विकास समितिसंगै सिंगो तयारी समितिहरु आयोजनाका लागि सक्रिय भएका हुन् ।

यस्तै यही चैत २५ देखि ३० गतेसम्म प्रतियोगिता गर्ने आन्तरिक तयारीका साथ कार्यकारी समितिले प्रस्ताव पास गरेको सदस्य सचिव विष्टले खुलासा गरे । उनले आगामी चैत्र ८ गते बस्ने मन्त्रिपरिषद्को बैठकले प्रतियोगिताको मिति तय गर्ने जानकारी दिए ।

प्रतियोगिता उद्घाटन अगावै चैत्र २० गतेदेखि नै विभिन्न प्रतियोगिता तयारी गर्ने सदस्य सचिव विष्टले जानकारी दिए । उनले विशिष्ट पाहुनाहरु बस्ने प्याराफिट आउन ढिलाई भएका कारण मिति तोक्न समस्या भइरहेको जानकारी दिए । ‘मंगलबार रातिसम्म प्याराफिट नेपालगन्ज आइपुग्छ, त्यसपछि काम धमाधम अघि बढ्छ, बढीमा १५ दिनमा प्याराफिट बनाएर सकिन्छ,’ विष्टले भने । विष्टले खेलाडीको स्वास्थ्यलाई मध्यनजर गर्दे खेलाउनै पर्ने खेल आउटडोर खेलाइने र इनडोरलाई बढि प्राथमिता दिइने बताए ।

जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगितामार्फत गरिएको खेलाडी छनोटमा रु २५ करोड खर्च भइसकेको विष्टले जानकारी दिए । नेपालगन्जमा चैतमा अत्याधिक गर्मी हुने भएकाले अधिकांश खेल साँझ र बिहानमा खेलाइने तयारी गरिएको विष्टले बताए ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले भौतिक पूर्वाधार निर्माणकै कारण प्रतियोगिता रोक्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे । उनका अनुसार, ९० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com