हेटौँडामा हजारौँ बर्डफ्लु संक्रमित कुखुरा नष्ट गरिँदै, रिपोर्ट लुकाउन समाचारदातालाई दबाव



प्रकाशित मिति : Mar 19, 2019
  • देवराज पन्त

चैत्र ५, मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ स्थित नागस्वतीमा पालिएका कुखुरामा बर्डफ्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रका करीब ४१ हजार कुखुरा मकवानपुर प्रशासनले शनिबार विहानबाट नष्ट गरेको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङकाे अध्यक्षतामा कुखुरा किसान, व्यवसायी, उपभोक्ता अधिकारकर्मी, सञ्चारकर्मी सहित आज बसेको बैठकले उचित क्षतिपूर्ति सहित संक्रमित क्षेत्रका कुखुरा नष्ट गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णयनुसार प्रतिगोटा जिउँदो लेयर्स ९ सय रुपैयाँ, ब्राेईलर ४ सय रुपैयाँ, दाना प्रतिकेजी ६५ रुपैयाँ र अण्डा प्रतिगोटा ११ रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउन जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ ।

बैठकको निर्णय अनुसार हेटौंडा ७ नागस्वतीको कमर्शियल लेयर्स फर्मलाई केन्द्र मानी पूर्वतर्फ वडा नम्बर ६ र ७ को सिमाना, पश्चिममा बनदेवी मन्दिर जानेबाटोको पूर्वी सिमाना, उत्तरमा वनदेवी दुग्ध सहकारीको सिमाना बाटो र दक्षिणमा अग्राठे मन्दिरको उत्तरी सिमानाको परिधिभित्र रहेका करिब ४१ हजार कुखुरा नष्ट गरिएका छन् ।

साथै बैठकले संक्रमित क्षेत्रलाई अतिसम्वेदनशील क्षेत्र घोषणा गरेको छ भने जिल्ला प्रशासन कार्यालयले मकवानपुरबाट अन्य जिल्लामा कुखुराजन्य वस्तु ओसारप्रसार, बिक्री वितरणका लागि पशु विज्ञले स्वस्थ्य रहेको प्रमाणित गरेपछि मात्रै लैजान दिने भएको छ ।

सो क्षेत्रमा रहेका कुखुरामा एच नाईन ( गम्वारो, रानिखेत ) सहितको संक्रमण देखिएको रिपोर्ट भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले गत फागुन १३ गते जानकारी दिएको भए पनि कुखुरा मर्न नरोकिएको र अनपेक्षित रुपमा कुखुरा मरेको किसानको गुनासो पछि संक्रमित क्षेत्रबाट १० वटा नमुना संकलन गरेर करीब २ साता अघि जाँचका लागि केन्द्रीय प्रयोगशाला पठाउँदा बर्डफ्लु देखिएको थियो ।

रोगी कुखुरा बजारमा

रिपोर्ट आउन ३ साता भन्दा बढी लाग्दा अधिकांश कुखुरा मरिसकेका थिए । साथै संक्रमित क्षेत्रलाई सम्बन्धित निकायले निगरानी नगर्दा सो क्षेत्रबाट संक्रमित कुखुराजन्य वस्तु बजारमा बिक्री समेत भएका थिए ।

रिपोर्ट आउन ढिलो हुँदा अधिकांश कुखुरा मरिसकेका थिए । साथै संक्रमित क्षेत्रलाई सम्बन्धित निकायले निगरानी नगर्दा सो क्षेत्रबाट संक्रमित कुखुराजन्य वस्तु बजारमा बिक्री समेत भएपछि उपभोक्ता हित संरक्षण मञ्चले चासो व्यक्त गरेको थियो । दैनिक ठूलो संख्यामा मरेपछि किसानको खोर नै रित्तिन थालेको छ भने यसबाट लाखौँ क्षति भएको किसानले बताएका छन् ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर चेतनारायण खरेलका अनुसार संकलन गरिएका नमुना चितवन पठाइने र रिपोर्टका आधारमा अन्य काम अगाडि बढ्ने बताएका थिए । तर उनले नै आएको रिपोर्टलाई गुपचुप राखेर रोगी कुखुरा बजार जान दिएको उपभोक्ता मञ्चले पुष्टि समेत गरेको छ ।

तर एक साता अघि नै भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, मकवानपुरको टोलीले सो क्षेत्रका संक्रमण देखिएका कुखुराको नमूना परिक्षण गरेको थियो । ल्याब परिक्षणबाट गम्भीर प्रकृतिको रोग अर्थात सस्पेक्टेड आएको थियो । रिजल्ट सस्पेक्टेड आएपनि कुखुराजन्य पदार्थ बिक्री वितरणमा कुनै रोकतोक नगरिनु मकवानपुर स्थित पशुसेवा केन्द्रको ठूलो त्रुटी देखिएको छ ।

समाचारदातालाई रिपोर्ट मेटाउन दबाव

बर्डफ्लु संकास्पद आएको रिपोर्टबारे तथ्य बाहिर ननिकाल्न पशु चिकित्सक सरोज खतिवडाले दबाव दिएका छन् ।

न्युज २४ का समाचारदाता देवराज पन्तलाई रिपोर्टबारे क्यामेरामा बोलिएको भनाईलार्ई भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर चेतनारायण खरेलले प्रसारण नगर्न र सो बाईटलाई मेटाउन दबाब समेत दिएका थिए ।

तर जनताको प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले सम्बन्धित निकायबाट पुष्टि नभए सम्म आफूले सो भनाई नमेटाउने बताउँदा केहीबेर तनाब समेत उत्पन्न भएको थियो ।

रिपोर्ट संकास्पद भएमाा सो क्षेत्रलाई उच्च निगरानीमा राख्नु पर्ने नियम रहेको छ । यसबाट पनि रिपोर्टलाई लुकाउन खोजेको आशंका गर्न सकिन्छ ।

मानव स्वास्थ्यमाथि खेलबाड

ल्याब परिक्षणबाट आएको नतिजालाई केन्द्रले गुपचुप राखी कुखुरा व्यवसायीसँग मिलेमतो गरी खान योग्य अयोग्य नछुट्याइ बिक्रीवितरण गरेकोे उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका अध्यक्ष बासु खतिवडाले आरोप लगाएका छन् ।

यसबाट भोलिका दिनमा केहि हानी नोक्शानी भएमा गल्ती गर्ने उपर मञ्चले कानूनीबाटो अपनाउने बताएका छन् ।

मौन पशुसेवा कार्यालय

गत मंसिरको पहिलो साता देखि नै कुखुरामा देखिएको संक्रमण उपर पशुसेवा कार्यालय मौन बसेको थियो ।

मकवानपुरको उपभोक्ता हित संरक्षण मञ्च,नेपालले चासो व्यक्त गरेपछि एकसाता अघि मात्रै स्थानीय प्रशासन, उपभोक्ता मञ्च, पशुसेवा कार्यालय, प्रहरी, सञ्चारकर्मीको टोलीले किसानहरुको खोर निरीक्षण गरेको थियो ।

तर उपभोक्ता मञ्चले रिपोर्टका बारेमा सोध खोज गर्दा फागुन ३० गते मात्रै सार्वजनिक गरेको थियो । जुन बेलासम्म संक्रमित कुखुरा तथा अण्डा बजारमा पुगिसकेका थिए ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com