अव्यवस्थित ‘डम्पिङ साइट’ बन्दै जनकपुरधाम



प्रकाशित मिति : Mar 18, 2019

धनुषा । प्रदेश दुईको अस्थायी राजधानी जनकपुरधाम । अहिले फोहोर फाल्ने ‘डम्पिङ साइट’ जस्तै बन्दा पनि प्रदेश र स्थानीय सरकारको ध्यान पुग्न सकेको छैन । धार्मिक पर्यटकीय स्थल जनकपुरको विजोग सुध्रिन सकेको छैन । जनकपुरधामको पोखरी र मन्दिर वरपर फोहोर नै फोहोर देखिन्छ ।

यो प्रदेश दुईको अस्थायी राजधानी जनकपुर हो । पवित्र धार्मिक स्थल जनकपुरलाई फोहोरले कुरुप बनाएको छ । नगर भित्रको फोहर नगरभित्रै अव्यवस्थित रुपमा फाल्ने गर्दा नागरिकको स्वास्थ्यमासम्म असर पर्ने गरेको छ ।

बाक्लो जनघतत्वकाविच जनकपुरमा यत्र, तत्र, सर्वत्र फोहर सहजै देखिन्छ । जनकपुरमा अहिले सिमित साधन श्रोतले दैनिक १० हजार टन फोहर व्यवस्थापन गर्नुपर्ने अवस्था छ ।

फोहर व्यवस्थापन गर्न मगाएका दर्जनौ सामाग्री प्रयोगविहिन बनाएर जनकपुर उपमहानगरपालिका परिषरमा फालिएको छ । फोहर विसर्जनको निमित्त अहिले ल्याण्डफील साइटको रुपमा व्यक्तिको खÞाली जग्गा प्रयोग गर्ने गरेको उपमहानागरपालिकाको भनाई छ ।

अहिले जनकपुरको जानकी मन्दिर छेउ, प्रमुख चोक मध्येको एक रामानन्द चौक, पुरानो बस पार्क, देवी चोक, मिल्स एरिया लगायतका स्थानको हरिविजोग नै छ । सरोकारवाला निकायले मात्र होइन स्थानीयले समेत फोहर व्यवस्थापनमा ध्यान दिनुपर्ने युवाको तर्क छ ।

हिन्दू धर्मालम्बीको आस्थाका केन्द्र राम–जानकीसँग जोडिएको जनकपुरधामको सफाई नहुँदा पर्यटकसम्म नाक खुम्चाउँछन् । पवित्र तीर्थस्थल जनकपुरको सफाईमा सरोकारवाला सहित आम जनताको ध्यान पुग्न जरुरी छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com