काठमाडौंमा वार्षिक ५ सय आगलागीको तथ्यांकः वारुण यन्त्रको अवस्था विजोग



प्रकाशित मिति : Mar 15, 2019

काठमाडौं । काठमाडौं उपत्यकामा मात्र वार्षिक पाँच सय भन्दा बढी आगलागी हुने गरेको तथ्यांक रहेको छ । तर, आवश्यक वारुण यन्त्र नहुँदा समस्या जटिल बन्ने गरेको छ । चैत, बैशाख आगलागीको जोखिमको महिना पनि हो । आगलागी नियन्त्रणका लागि सरकारी तयारी भने खासै देखिने गरेको छैन ।

काठमाडौं उपत्यकामा आगलागी नियन्त्रणको प्रमुख दायित्व बोकेको जुद्ध वारुण यन्त्र अभावसँग जुधेको धेरै भइसकेको छ । जुद्ध वारुण यन्त्रसँग रहेका ९ वटा दमकल रहेका छन् त्यसमध्ये ६ वटा विग्रिएको अवस्थामा छ । राजधानी मात्रै होइन उपत्यका र वरपरका जिल्लामा आगलागी हुदा थोत्रा दमकल कै भर पर्नुपरेको छ । उपत्यकामा ठूलो रुपमा आगलागी हुने गरेपनि नियन्त्रणका खटिने ‘फायर फाइटर’ पनि न्यून संख्यामा रहेका छन् ।

उपत्यकाको आगलागी नियन्त्रणको लागि जुद्ध वारुण यन्त्रको अलावा ललिपुर महानगरपालिकासंग २, भक्तपुर नगरपालिकासंग २ र नेपाल प्रहरीसंग १ दमकल रहेका छन् । निजि ट्याङकर व्यवसायीसंग सहकार्य गर्दै उपत्यकामा आगो नियन्त्रणको व्यवस्थापन गरिदै आएको छ । तर, आगो नियन्त्रणका लागि आवश्यक पर्ने पानीको व्यवस्थापनका लागि समेत निश्चित स्थान छैन । पछिल्लो समय उपत्यकामा अग्ला भवन निर्माण गर्र्ने कार्य वढ्दै गएको छ । तर, आगलागी नियन्त्रणका लागि प्रयोग हुने सामाग्री केवल सात आठ तलासम्म मात्र सम्भव हुन सक्छ ।

वारुण यन्त्र कार्यालयमा रहेका पुराना दमकलको सामान र मर्मत गर्ने स्थान अभावको कारण अधिकांश सवारी साधन बिग्रिएर थन्किएका छ । दमकल कार्यालयमा रहेको दमकल सहित दुई दर्जन सवारी साधन मध्य अधिकांश बिग्रिएको अवस्थामा छ । गृहको मातहतमा रहेको जुद्ध वारुण यन्त्र कार्यालय बिक्रम संवत् २०६५ कातिक ९ गतेको मन्त्रिपरिषद्को निर्णयसंगै काठमाडौं महानगरपालिकाको मातहतमा ल्याएको थियो । काठमाडौ महानगरपालिकाको मातहतमा आएपनि जुद्ध वारुण यन्त्रको स्रोतसाधन विस्तार हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com