हराउँदैछन् जंगे पिलरहरु, मेटिदैछन सीमामा स्वाभिमानको धर्कोहरु (भिडियोसहित)



प्रकाशित मिति : Mar 12, 2019

सीमावासी नेपाली भन्छन्– सीमानाका बन्द हुँदा हामी नै मारमा प-यौ

१.नाका अझै खुलेनः

कञ्चनपुर । नेपाल भारतबीचको सीमा नाका सदियौंदेखि खुला छ । यही खुला सीमाना कतिपय अवस्थामा बरदान सावित हुन्छ भने कतिपय अवस्थामा सम्बन्धमा दरार बढाउने माध्यम पनि बन्छन् । दुई बर्ष अघि कञ्चनपुरको पुनर्वासमा कल्भर्टको विषयलाई लिएर भएको झडपमा नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएपछि तनावपूर्ण बनेको सीमाको अवस्था अझै सहज बनेको छैन ।

गौतमको मृत्यु पछि बन्द भएको आनन्दबजार बसइ नाका सुनसान नै छ । जस्ले गर्दा नेपालतर्फको बजारको व्यापार सुकेको छ भने बन्द भएको नाका खुलाउन कतैबाट पनि पहल भएको छैन । सीमावर्तीवासी नेपालीको गुनासो छ – सीमा बन्द हुँदा मारमा हामी नै प¥यौ ।

देशको भूगोल र आकार अनुसार स्वाभिमानको मापन पनि हुन्छ र ?

२.सीमामा सास्तीः

कञ्चनपुर । कुनै पनि मुलुकको स्वाभिमान र स्वाधीनता आफैमा महान र उच्च हुन्छ । सानो र ठूलो हुँदैमा देशको भूगोल र आकार अनुसारको स्वाभिमानको मापन कतै गरिन्न पनि । राष्ट्रिय स्वाभिमान सबै देशका नागरिकलाई सबैभन्दा प्रिय र सम्मानित विषय हो नै । नेपाल र भारतको सम्बन्धमा समय समयमा यही प्रश्नले ठाउँ पाउने गरेको छ ।

आफूलाई ठूलो दाई ठान्ने भारतको हेपाहा नीतिको शिकार नेपाली नागरिक बारम्बार बन्दै आएका छन् । झन बढी कष्ट सीमावर्ती नेपाली नागरिकले भोग्दै आएका छन् । नेपालको सीमाना भित्र सहजै प्रवेश गरि नेपाली नागरिकमाथि गैर मानवीय व्यवहार गर्ने भारतीय सुरक्षाकर्मीको प्रवृति सच्चिदो नभई चर्कदो छ ।

सीमामा साँझ विहान नेपाली नागरिकले भोग्दै आएको सास्तीको कुनै हिसाब किताब नै हुँदैन । ज्यादतिले हद् नै नाघ्न थालेपछि सीमावासी नेपालीले प्रश्न गर्न थालेका छन् – कहिलेसम्म हेपिनु पर्ने हो,गोर्खाली स्वाभिमानलाई विर्सिएर ।

हराउँदैछन जंगे पिलरहरु, मेटिदैछन सीमामा स्वाभिमानको धर्कोहरु

३.जंगेपिलर सारियोः

कैलाली । सर्दैछ नेपाली भूिम, हराउँदैछ सीमाको स्वाभिमान र रक्षा बनेर उभिएका जंगे पिलरहरु । सानो मुलुकको भूगोल निरन्तर खुम्चदै गर्दा ठूलो छिमेकी भारतको सीमा झन फैलदैछ । २२ सय किलोमिटर लामो नेपाल भारत सीमानामा गम्भीरतापूर्वक खोजी गर्ने हो भने धेरै जंगे पिलरहरु गायब भइसकेका छन् । यसपटक कैलालीमा पनि कैलालीवासी नेपालीले यस्तै पीडा भोगे ।

भोगचलन गर्दै आएको ५० विघा भन्दा बढी भूमि भारतीय भूमिमा पुगेको छ । नेपालीहरुले उपभोग गरेको भूमि भारतको भन्दै दावी गरेर सीमा स्तम्भ सारिएपछि स्थानीयवासी आक्रोशित बनेका छन् । तर राज्यले कुनै प्रतिवाद नगरेपछि उनीहरु निरीह बन्नु बाहेक केही गर्न नसक्ने अवस्थामा पुगेका छन् । अहिले उनीहरु गुमेको भूमिमा बगाएको पसिना र पुर्खाले सीमामा कोरेको स्वाभिमानको धर्को मेटिएको टुलुटुल हेर्न बाध्य बनेका छन् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com