घरेलु उद्योगको नेपाली अर्थतन्त्रमा ८० प्रतिशत योगदान



प्रकाशित मिति : Mar 09, 2019

काठमाडौं । मुलुकको अर्थतन्त्रमा घरेलु उद्योगको ८० प्रतिशत योगदान छ । तर, घरेलु उद्योगलाई राज्यले कम महत्वमा राखेको गुनासो उत्तिकै छ । मुलुकभर संचालनमा आएका साढे ३ लाख उद्योगले उत्पादन गरेका सामाग्रीको बजारीकरण गर्ने हो भने बाह्य मुलुकसँगको १२ खर्ब बराबरको व्यापार घाटा कम हुनेछ ।

भृकुटीमण्डपमा जारी १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा भोजपुरका पूर्णबहादुर विश्वकर्मा, दाङकी प्रेमकुमारी पुन, ललितपुरका अस्तमान महर्जन र काठमाडौं नयाँ बजारका मिलनविर मालाकार आफ्ना घरेलु उत्पादनको प्रचारमा छन् ।

लोप हुँदै गएको भोजपुरे खुकुरीको प्रचारमा रहेका भोजपुरका यि उद्यमी आफ्ना बाजेको बिरासतलाई जोगाउन चहान्छन् । सबैको रोजाईमा परेको अल्लोको कपडामै जीवन देखेकी दाङकी महिला उद्यमी प्रेमकुमारी पुनलाई पनि मेलामा भ्याईनभ्याई छ । अवलोकनका लागि आएका दर्शकहरुको रोजाईमा पनि अल्लोबाट बनेका कपडा नै पर्ने गरेका छन् ।

काठमाडौं उपत्यकामै बसेर एलोभेरा खेती गरी ‘वाइन’ उत्पादन गर्दै आएका गोदावरीका अस्टमान महर्जन सस्तो र अन्यभन्दा फरक अर्गानिक उत्पादनले राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने बताउँछन् ।

काठमाडौं नयाँबजारमा नेपाली कपडा उत्पादन गर्दै आएका युवा उद्यमी मिलनबिर मालाकारले औद्योगिक व्यापार मेलामा वास्तविक नेपालीपनको पहिचान दिएका छन् ।

यि केही प्रतिनिधि पात्रमात्रै हुन् । मेलामा भएका २ सय १० स्टलमा स्वदेशी उद्यमीले तयार पारेका नयाँ–नयाँ वस्तुलाई सजाइएको छ । राज्यले लघु उद्यमको क्षेत्रलाई बेवास्ता गरेपनि नेपालको अर्थतन्त्रमा ८० प्रतिशत योगदान घरेलु तथा साना उद्योगको छ । अहिले पनि २ लाख ६३ हजार साना तथा घरेलु उद्योगहरु संचालनमा छन् ।

मुलकले अहिले वार्षिक १२ खर्बभन्दा बढीको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । यही घाटालाई न्युनिकरण गर्न पनि सरकारले अर्थतन्त्रमा योगदान दिने घरेलु उद्योगलाई संरक्षण गर्नु आवश्यक छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com