यसकारण खसिरहेछ पोखरामा प्यारासुट ! (भिडियोसहित)



प्रकाशित मिति : Mar 07, 2019

असुरक्षित प्याराग्लाईडिङ

– –आइतबार पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुँदा रोमानियाका इड सिजरको मृत्यु भयो ।
– सोमबार भएको दुर्घटनामा दुईजना घाईते भए ।
– मंगलबार भएको दुर्घटनामा रसियाका स्टेपजिनिसिनको मृत्यु भयो ।

लगातार यसरी तीनदिनभित्र पोखरामा चार प्याराग्लाईडिङ दुर्घटना भयो । दुई जनाको मृत्यु भयो, दुईजना घाइते भए । पछिल्लो समय लगातार प्याराग्लाईडिङ दुर्घटना हुनुको कारण ‘खराब मौसम’ भनिएको छ । तर, यसका अरु थुप्रै कारण छन् । हुनतः यो सातामात्रै पोखरामा प्याराग्लाईडिङ दुर्घटना भएको होइन ।

गत असोजमा हावाहुरीका कारण साराङकोटबाट उडेको ६ वटा प्याराग्लाईडिङ एकैचोटि फेवातालमा खसेको थियो । व्यवसायिक उडान सुरु भएको २२ वर्षमा पोखरामा प्याराग्लाईडिङ दुर्घटनाका कारण १५ जनाको मृत्यु भइसकेको छ । दुर्घटना बढ्न थालेपछि प्याराग्लाडिङका लागि पोखराको आकाश असुरक्षित बन्दै गएको छ । यद्यपि, पछिल्लो साता भएको दुर्घटनाका थुप्रै कारण छन् ।

यसकारण बढ्यो दुर्घटनाः
प्याराग्लाडिङका लागि विश्वकै आकर्षक आकाशमा परिचित पोखरामा रुसको हवाई खेल महासंघको तर्फबाट ‘हिमालयन कप–२०१९’ नामक ‘प्याराग्लाइडिङ प्रतियोगिता’ भएको थियो । जुन प्रतियोगितामा भाग लिन पछ्रिल्लो १० दिनमा २१६ विदेशी नागरिक पोखरा आए । उनीहरुले सोलो उडानका लागि नागरिक उड्डयन प्राधिकरण पोखराबाट अनुमति पनि लिए । तर, उनीहरु सोलो उडानका लागि मात्रै आएका होइन रहेछन्, प्रतियोगितामा सहभागी हुन आएका रहेछन् । जुन कुरा नेपाल नागरिक उड्डयन प्रधिकरण कार्यालय पोखरालाई थाहै थिएन ।

लगातार दुर्घटना भएपछि नागरिक उड्ययन प्राधिकरणले ब्लुस्काइ प्याराग्लाइडिङ र फन्टएयर प्याराग्लाइडिङको संचालन अनुमति निलम्बन गरेको छ । यी दुई कम्पनीले उडान भरेका प्यारासुट दुर्घटना भएर पाइलट घाइते भएपछि छानबिनका लागि निलम्बन गरिएको पोखरा विमानस्थलका प्रमुख भोलाप्रसाद गुरागाईंले जानकारी दिए ।

पछिल्लो साता पोखरामा प्याराग्लाईडिङ दुर्घटना बढ्नुको मूल कारण ‘अवैध प्र्रतियोगिता’ भएको खुलेको छ । सिकारु पाइलटको सोलो उडानका कारण पनि दुर्घटना भएको आँकलन गरिएको छ । पोखरा हवाई खेलकुद संस्था ‘ना’काअनुसार प्र्रतिस्पर्धाका लागि आएका पाइलट र सोलो उडानका कारण प्याराग्लाईडिङ दुर्घटना बढेको हो ।

प्याराग्लाइडरले अवैध च्याम्पियनसीप मात्र गरेका छैनन्, नागरिक उड्डयन प्राधिकरणले तोकेको ठाउँभन्दा बाहिर पनि उडान भरिरहेका छन् । सोमबार दुर्घटनामा परेका रसियन प्याराप्लाइडरले पनि मादी क्षेत्रबाट उडान भरेका थिए । जबकि सराङकोट, तोरीपानी, मान्द्रेढुंगा र डिकीडाँडाबाट मात्रै उडान भर्ने अनुमति छ ।

नेपाल सरकारसँग अनुमति नलिई कुनै पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न पाइँदैन । तर, रसियन प्याराग्लाइडरले आफूखुसी प्र्रतिस्पर्धा गरे । तर, यसको कुनै निकायबाट नियमन भएन । यसबारे पोखरा महानगरपालिका पनि अनविज्ञ नै छ । यतिसम्म कि, कम्पनीले महानगरपालिकासँग इजाजतसम्म नलिइ प्याराग्लाईडिङ सञ्चालन गरिरहेका छन् ।

प्याराग्लाडिङका लागि पोखराको आकाश निकै आकर्षक मानिन्छ । यहाँ प्याराग्लाइडिईडिङका लागि विश्वभरबाट पर्यटक आउने गरेका छन् । दैनिक चार सयले पोखरामा प्याराग्लाईडिङ गर्ने गरेको तथ्यांक छ । पोखरामा प्याराग्लाईडिङ गराउने ६४ कम्पनी छन् । जसले दुईदेखि ६ वटासम्म यन्त्ररहित प्याराग्लाईडिङ सञ्चालन गरिरहेका छन् । ६४मध्ये दुईवटा कम्पनीले मात्रै महानगरपालिकालाई कर तिरेर उडान भरिरहेका छन् । बाँकी सबै आ–आफ्नै तरिकाले चलिरहेका छन् । प्याराग्लाईडिङ कम्पनीसँग करको विषयमा पटक–पटक छलफल भएको छ । तर, निष्कर्षमा पुगेको छैन ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले कम्पनीको सिफारिसका आधारमा ५ हजार रुपैयाँ शुल्क लिएर सोलो उडानका लागि १५ दिनको परमिट दिने गरेको छ । तर, कम्पनीले मनलाग्दी प्याराग्लाईडिङ सञ्चालन गरिरहेका छन् ।

सोलो उडान बन्द
लगातार चार सोलो उडान दुर्घटनामा परेपछि नागरिक उड्डयन प्राधिकरण पोखराले मंगलबारदेखि सोलो उडान बन्द गरेको छ । थप जनधनको क्षति हुननदिन केही दिनलाई उडान रोकिएको प्राधिकरणको भनाई छ । प्रभावकारी नियम तथा अनुगमन नहुँदा साहसिक खेल जोखिमयुक्त बन्दै गएको छ । यसले पोखराको पर्यटन व्यवसायलाई पनि प्रभावित पार्ने निश्चित छ ।

सुरक्षित बनाऔं
नेपालको मुख्यमध्येको एक पर्यटकीय गन्तव्य पोखराको खास आकर्षण हो, प्याराग्लाईडिङ । साहसिक खेलको रुपमा लिइने प्याराग्लाईडिङका लागि विश्वभरबाट पर्यटक पोखरा आउने गरेका छन् । तर, पछिल्लो समय बढ्दो दुर्घटनाले प्याराग्लाईडिङप्रतिको आकर्षण घट्ने सम्भावना छ । जुन पोखरासँगै देशकै लागि दुखद कुरा हो । अझ स्थानीय प्रशासन, महानगरपालिका र उड्ययन प्राधिकरणलाई समेत थाहा नदिई अन्तर्राष्ट्रिय प्यराग्लाडिङ प्रतियोगिता हुनु गलत कुरा हो । जसको सरोकारवाला निकायले अनुगमन या नियमन गर्नैपथ्र्यो ।

पोखरा, नेपालमै धेरै प्याराग्लाइडिङ हुने क्षेत्र हो । जहाँ ६४ वटा प्याराग्लाइडिङ कम्पनी छन् । प्रत्येकसँग २ देखि ६ वटासम्म यन्त्ररहित प्याराग्लाइड छन् । मौसम अनुकूल हुँदा दिनमै ४ सयसम्म प्याराग्लाइड उडान हुन्छन् । यस्ता उडान गर्ने कम्पनीका उपकरण, पाइलट, पूर्वाधार, टेकअफ र ल्यान्ड गर्ने स्थललगायतको नियमन भने पोखरा विमानस्थलले गर्दै आएको छ । नागरिक उड्डयन प्राधिकरणले पोखराबाहेक ललितपुर, धरान र सुर्खेतमा प्याराग्लाइडिङ उडानको अनुमति दिएको छ । पोखराबाहेक अन्य स्थानको नियमन काठमाडौंबाट हुँदै आएको छ ।

उड्डयन मनोरञ्जनका लागि गरिने प्याराग्लाइडिङ यन्त्ररहित हुन्छ । यो साहसिकमात्र होइन, जोखिमपूर्ण पनि छ । यस्ता उडान दुईखाले हुन्छन् । ट्यानडम उडानमा पाइलटसँग एक जना यात्रु रहन्छ । सोलो उडानमा पाइलट (प्याराग्लाइडर) मात्रै । व्यावसायिक उडानमा त्यति समस्या देखिएका छैनन् । धेरैजसो दुर्घटना सोलो उडानमा भएका छन् । तर, यसको प्रभावकारी नियमन तथा अनुगमन भएको छ्रैन ।

नागरिक उड्डयन प्राधिकरणलेसोलो उडानमा रोक लगाएको छ, तर यो समाधान भने होइन । उडान रोक लगाउनुभन्दा सुरक्षित र व्यवस्थित बनाउन आवश्यक छ । सोलो उडानका लागि आएका विदेशी नागरिकलाई पोखराको मौसम, वातावरण एवम् भुगोलबारे राम्रो ज्ञान हुँदैन । जसकारण पनि दुर्घटना बढिरहेको छ । त्यसैले उडान अनुमति दिनुपूर्व उनीहरुलाई भूगोल र वातावरणको स्थितिबारे जानकारी दिनु पर्छ । अहिले उड्ययन प्राधिकरणले प्याराग्लाइडिङ नियमन गर्ने अधिकार निजी संस्थालाई दिने चाँजो मिलाउन थालेको छ । जसलाई प्रभावकारी बनाए प्याराग्लाईडिङ दुर्घटना कम हुनसक्छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com