प्रधानमन्त्री देखि नेताको मालामोह, विश्लेषकको नजरमा : सामन्ती संस्कार



प्रकाशित मिति : Feb 21, 2019

काठमाडौं । जति बुँदे माग त्यति नै किलोको माला । डेढ दशकअघि सुदूरपश्चिमको धनगढीबाट सुरु भएको यो लहर अहिले देशव्यापी बनेको छ । सरकार प्रमुख, वरिष्ठ नेता तथा मन्त्री पुग्दा उनीहरुको गलाले थाम्न नसक्ने भारको माला लगाइदिने चलन व्यापक बन्दैछ । अहिले यो मागसंग जोडिएर भन्दा पनि फेशन बन्दै गर्दा नेताहरुले यसलाई अस्वीकार गर्न सकेका छैनन् ।

धनगढीले सुदूरपश्चिमको विकासको माग राखेर थालेको यो अभियान अहिले आआफ्नै शैलीमा अघि बढ्न थालेको छ । समाजमा अरू भन्दा अलग देखिन, आफ्नो प्रभुत्व प्रदर्शन गर्न नेताहरूले धेरै तौलको फूलमाला लगाउने होड बन्दै आएको छ । ६२÷६३ को जनआन्दोलनपछि शान्ति प्रक्रियामा आएको तत्कालीन नेकपा माओवादीका नेता सार्वजनिक हुँदा नै अत्यधिक रुपमा फूलमाला पहिरिने गरेका थिए । त्यसयता, राजनीतिक वृत्तमा फूलको माला प्रयोग प्रचुर मात्रामा बढ्न थालेको छ ।

केही दिन यताका दृश्यले पुनः सोही प्रवृत्तिलाई बढावा दिएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीदेखि मुख्यमन्त्री र कांग्रस सभापति र नेताको मालामोह यति बेला चर्चामा मात्र नभई आलोचनाको घेरामा परेको छ । आफ्नो क्षेत्रमा प्रभुत्व जनाउने शैलीले व्यवस्था फेरिए पनि नेताहरूको संस्कार उस्तै रहेको भन्दै जनस्तरमा विरोध पनि नभएका होइनन् । तर, प्रभुत्व प्रदर्शनले घर गर्दा यस्तो संस्कार घट्नुको सट्टा फैलँदै गएको छ ।

प्रधानमन्त्री देखि नेतासम्मको माला मोहका पछिल्ला केही उदाहरण :

  • –डोटीमा प्रधानमन्त्री केपीशर्मा ओलीलाई ५१ किलोको माला
  • –बारामा कांग्रेस सभापति शेरबहादुर देउवालाई १ सय ५१ किलोको माला
  • – कोइराला परिवारका तीन सदस्यलाई पर्सामा १ सय २१ किलोको माला
  • –नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई बारामा १ सय १ किलोको माला

कांग्रेस प्रवक्ताले बढेमानको माला प्रयोग गलत भएको भन्दै ट्वीट नै गरेका छन् । तर, प्रदेशका मुख्यमन्त्रीदेखि राजनीतिकदलका नेताले पनि आफ्नो प्रतिष्ठा देखाउने बढी तौलको माला लगाउने मोह बढ्दै गएको छ । नेताहरूबीच देखिएको यो ‘लोभ’ र ‘होड’ लाई विश्लेषकहरु भने सामन्ती संस्कारको पुनरावृत्ति मान्ने गरेका छन् ।

समाजलाई रुपान्तरण गर्ने भाषण गर्दै आएका नेताहरुले अस्वाभाविक भारको मालाको मोह त्याग्नै पर्छ । संघसंस्थाले पनि जनप्रतिनिधिलाई बाह्रैमास सम्मान गरेर समय वर्वाद गर्नु पनिहुँदैन ।

नफेरिएको संस्कारलाई राजनीतिक दलले आफ्ना कार्यकर्तालाई अन्य निर्देशन जस्तै अत्यधिक मालाको प्रयोग नगर्न निर्देशनदिएर सामन्ती संस्कारको अन्त्य गर्नुपर्ने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com