वहसमा नागरिकता विधेयक : सन्तान जन्माउने आमालाई जेल सजाय किन ?



प्रकाशित मिति : Feb 21, 2019

काठमाडौं, ९ फागुन । नागरिकताबाट प्रभावित व्यक्तिहरुको सञ्जालले देशैभरि नागरिकताविहीन भएर बसेका नेपालीहरुलाई सरकारले तत्काल नागरिकता प्रदान गर्नुपर्ने माग गरेको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सञ्जालकी संयोजक दिप्ती गुरुङ्गले नागरिकता विद्येयक संसदबाट पारित गर्नको लागि सबै पार्टीका सांसदहरुले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँको भनाइ छ ,‘अहिले यो विद्येयकलाई स्थगित् गर्ने सांसदहरुको मनशाय छ, त्यसलाई उहाँहरुले अब अघि बढाएर विद्येयक पारित गर्नुपर्छ ।’ विद्येयकमा समावेश भएका कतिपय प्रावधानहरुलाई समेत सच्याउनुपर्ने आफूहरुको मुख्य माग रहेको उहाँले प्रष्ट पार्नुभयो ।

गुरुङ्गले अगाडि थप्नु भयो ,‘विद्येयकको प्रावधानमा अहिलेपनि आमाले स्वघोषणा गर्नुपर्ने कायमै छ, तर संविधानबमोजिम त्यो स्वघोषणा पनि हटाउनुपर्छ । र, त्यसबाहेक बुवा पत्ता नलागेको भनेर नागरिकता लिनेहरुलाई पछि बुवा पत्ता लागेमा र बुवा विदेशी नागरिक भएको ठहरिएमा आमालाई चार वर्षको जेल सजाय र नागरिकता नै खारेज गरिने भन्ने प्रावधान अहिलेको विद्येयकमा राखिएको छ, यसलाई पनि संविधान बमोजिम स्वतः अंगीकृतमा परिणत हुनुपर्छ । र, आमालाई जेल सजाय पनि हुनुहुँदैन् ।’

सञ्जालले अहिलेपनि नागरिकताविहीनहरु ठूलो संख्यामा रहेको उल्लेख गर्दै उनीहरु राष्ट्र निर्माणको अभियानमा समेत सहभागी हुनबाट बञ्चित हुनुपरेको गुनासो पोखेको छ । सञ्जालकी संंयोजक गुरुङ्गले भन्नुभयो,‘नागरिकताविहीन हुनु भनेको उनीहरुको लागि अपराधिक गतिविधिमा संलग्न हुने खतरा रहन्छ । योतर्फ पनि राज्यले ध्यान दिनुपर्छ ।’

उहाँले विभिन्न अध्ययन तथा अनुसन्धानले बाहिर ल्याएको प्रतिवेदन अनुसार अहिलेपनि ४६ लाख नेपालीहरुले नागरिकता नपाएको सुनाउँदै यो अवस्थाबाट राज्यले नागरिकताविहीनहरुलाई तत्काल नागरिकता प्रदान गरेर समस्याको समाधान गर्न सुझाव दिनुभयो । अध्यक्ष गुरुङले यो समस्या देशको हिमाल, पहाड र तराई सबै क्षेत्रमा रहेको भन्दै जनप्रतिनिधिहरुले पनि यो समस्याको समाधान गर्न विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

संसदको राज्य व्यवस्था समितिमा आफूहरुलाई पनि छलफलको लागि बोलाईएको जनाउँदै उहाँले आगामी दिनमा पनि यो समस्याको समाधान निकाल्न सबै सरोकारवालाहरुसँग नियमित छलफल तथा परामर्श जारी राख्नसमेत समितिलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो ,‘समितिले आगामी दिनमा गर्ने छलफल तथा परामर्शमा हामीलाई पनि बोलाउन नबिर्सियोस् ।’

कार्यक्रममा नागरिकताबाट प्रभावित व्यक्तिहरुको समूहका प्रतिनिधिले (नाम गोप्य राखिएको) पनि आफूहरुलाई राज्यले नागरिकताविहीन बनाएर राख्न नहुने धारणा राखे । उनले भने,‘हामीलाई नागरिकताविहीन बनाएर राज्यले अन्यौल र अन्धकारतर्फ धकेलिरहेको छ । अब यो अन्यौलता धेरै दिनसम्म राख्नुहुन्न।’


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com