चितवनमा हात्तीका लागि वृद्धाश्रम



प्रकाशित मिति : Feb 21, 2019

चितवन । बेकामे हात्तीको स्याहार गर्ने काम कम चुनौतीपूर्ण छैन । यही कामका लागि सौराहामा हात्तीको वृद्धाश्रम नै खोलिएको छ ।

सफारीमा जान नसक्ने बूढा हात्ती वृद्धाश्रममा स्याहार गरी राखिन्छ। उसै पनि हात्ती पालनपोषणमा खर्च बढी लाग्छ । आम्दानी नगर्ने हात्तीका लागि खर्च जुटाउनु झन् चुनौतीपूर्ण कार्य हो ।

सांकेतिक तस्विर

वृद्धाश्रमले काम गर्न नसक्ने अवस्थाका हात्ती जम्मा गरी तिनको स्याहार गर्नेछ। हात्ती नमरेसम्म त्यहीँ पालिन्छ। खैरहनी नगरपालिकाको कुमरोजमा साढे दुई बिघा क्षेत्रफलमा रिसोर्ट सञ्चालन र हात्तीको वृद्धाश्रम सुरु गरिएको हो। वृद्धाश्रममा राखिएपछि रिसोर्टमा आएका पाहुनाले हात्तीको दिनचर्या हेर्न पाउनेछन् ।

मंगलबारदेखि सुरु गरिएको वृद्धाश्रममा ४५ वर्षको बिरामी पोथी हात्ती ‘सीताकली’ लाई राखिएको छ । अशक्त यो हात्तीले आँखा देख्दैन । एक जना माहुते त्यसको स्याहारका लागि खटाइएको छ। तारबारले घेरिएको खुला चौरमा हात्तीलाई छाडिएको छ । हात्ती राख्न बनाइएको जग्गामा उसलाई मन पर्ने खानेकुरा, बोटबिरुवा लगाइनेछ ।

वृद्धाश्रममा ४० देखि ५० वर्ष नाघेका हात्ती ल्याइन्छ । हात्ती संरक्षणका लागि भेटेरेनरी चिकित्सक अमेरिकी नागरिक डा ट्रिस लन्डन खटिएकी छन् । यो समाचार आजको अन्नपुर्णा पोस्ट दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com