अमेरिकन राजदुतावासको सहयोगमा महिला पुनस्र्थापना केन्द्र निर्माण



प्रकाशित मिति : Feb 20, 2019
  • तारा आचार्य,

विराटनगर, ८ फागुन । अमेरिकन राजदुतावासको सहयोगमा विराटनगर महानगरपालिका वडा नं. ४ कंचनबारीमा महिला बालबालिका पुनस्र्थापना केन्द्र निर्माण गरिएको छ ।

महिला बेचबिखनमा परेका तथा लैगिंक हिंसा पीडित महिलाहरुलाई पुनस्र्थापना गर्न सो पुनस्र्थापना केन्द्र करिब ७ करोड रुपैया लागतमा निर्माण गरिएको हो । पीडित महिलाहरुलाई समाजमा पुनस्र्थापना नगराउन्जेल यसै केन्द्रमा राखिनेछ । १५ वटा कोठा रहेको सो महिला बालबालिका पुनस्र्थापना केन्द्रमा ३६ जना महिला र ४ जना प्रशिक्षकहरु बस्न सक्ने क्षमता रहेको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मंत्री थममाया थापा र एक नम्बर प्रदेशका सामाजिक विकास मंत्री जीवन घिमिरेको उपस्थितिमा बिहिवार एक कार्यक्रमबीच अमेरिकन नेभी आर्मीले सो पुनस्र्थापना केन्द्र महिला बालबालिका तथा जेष्ठ नागरिक मंत्रालयलाई हस्तान्तरण गरेको छ । नेपाल सरकारलाई हस्तान्तरण पछि सो पुनस्र्थापना केन्द्र पुनः एक नम्बर प्रदेशको सामाजिक विकास मंत्रालयलाई हस्तान्तरण गरिएको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै महिला बालबालिका तथा जेष्ठ नागरिक मंत्री थममाया थापाले महिलाहरुलाई सम्मानित नागरिकका रुपमा स्थापित गराउन सरकारले विभिन्न योजनाहरु बनाइरहेको जानकारी दिए । उनले महिला सशक्तिकरणका लागि सरकारलाई सबैको सहयोग आवश्यक भएको बताउदै पुनस्थार्पित महिलाहरुलाई सीप प्रदान गर्ने कार्यक्रम ल्याउन प्रदेश सरकारलाई आग्रह गरे ।

उनले प्रत्येक प्रदेशमा पुनस्र्थापना केन्द्र निर्माणका लागि अमेरिकन सरकार संग आग्रह गरिएको पनि जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com