काठमाडौंलाई ४१ रनले पराजित गर्दै सिवाइसी अत्तरिया डिपिएल तेस्रो संस्करणको फाइनलमा



प्रकाशित मिति : Feb 20, 2019

कैलाली । सिवाइसी अत्तरिया धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) तेस्रो संस्करणकाे फाइनलमा पुगेको छ।

बुधबार काठमाडौं गोल्डेन्सलाई प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न भएको पहिलो क्वालिफायर खेलमा ४१ रनले पराजित गर्दै अत्तरिया फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । पराजित काठमाडौंले भने फाइनल प्रवेशका लागि बिहीबार हुने इलिमिनेटरको विजेतासँग शुक्रबार खेल्नेछ। इलिमिनेटरमा रुपेन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेड बिहीबार भिड्नेछन्।

अत्तरियाले टस जित्दै दिएको १ सय ११ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौं गोल्डेन्स १८.३ ओभरमा सबै विकेट गुमाएर ६९ रनमा समेटिदै ४१ रनको हार व्यहोन पुग्यो । काठमाडौंका गौरव तमोरले २६ तथा ज्ञानेन्द्र मल्ल र योगेन्द्रसिंह कार्कीले समान ११/११ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्। अत्तरियाका सन्नी पटेलले ३ तथा भुवन कार्की र कमलसिंह ऐरीले २/२ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १० रन जोडेको थियो।

उसका कप्तान दीपेन्द्रसिंह ऐरीले ३३, सन्नी पटेलले २८, सुबेन्दु पाण्डेले १६ र जयकिशन कोल्सावालाले १३ रन जोडे। छैटौं ओभरमा अंकित दबासले काठमाडौंलाई सुरुवाती सफलता दिलाएका थिए। तेस्रो बलमा अत्तरियाका ओपनर जयकिशन कोल्सावाला १३ नन्दनकुमार यादवको हातबाट क्याच गराएका दबासले अर्को बलमा भर्खरै क्रिजमा आएका रित गौतमलाई खाता नै खोल्न नदिई बोल्ड पारे।

तेस्रो विकेटका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सुबेन्दु पाण्डेसँग मिलेर ४० रनको साझेदारी गर्दै टोलीको स्कोर अघि बढाएका थिए।सुर्य तामाङको १३औं ओभरको तेस्रो बलमा स्वीप गर्ने क्रममा ब्याटको माथिल्लो भाग लागेपछि उठेको बललाई विकेटकिपर अनिलकुमार साहले क्याच गर्दै दीपेन्द्रलाई पवेलियन फर्काए।

३४ बलको सामना गरेका दीपेन्द्रले ५ चौका प्रहार गरेका थिए। यस्तै सोही ओभरको अन्तिम बलमा सुबेन्दु पाण्डे १६ लाई पनि अनिलले स्टपिङ गरे। पाँचौ विकेटका लागि अनुभवी विदेशी खेलाडी सन्नी पटेल र युवा खेलाडी जितेन्द्रसिंह ठकुरीले ३५ रनको साझेदारी गर्दै टोलीलाई सो स्कोरमा पुर्याएका थिए। उन्नाइसौं ओभरको अन्तिम बलमा जितेन्द्र स्टपिङ हुँदा ६ रन जोडेका थिए।

अन्तिम ओभरको तेस्रो बलमा रासिद खानको बलमा विक्रम भुषालबाट क्याच हुनुअघि २३ बलको सामना गरेका सन्नीले २८ रन जोडे। उनले १ चौका र २ छक्का प्रहार गरे। काठमाडौंका अंकित दबास र सुर्य तामाङले २/२ तथा रासिद खान र योगेन्द्र कार्कीले १/१ विकेट प्राप्त गरेका थिए ।

अत्तरियालाई जिताउन महत्त्वपूर्ण भुमिका खेलेका सन्नी पटेल प्लेयर अफ दि म्याच घोषित भए ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com