सरकार जस्ट पास, प्रतिपक्षी फेल ! (भिडियोसहित)



प्रकाशित मिति : Feb 18, 2019

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारको एकवर्षलाई ‘असफल’ भनिदियो । समृद्धि र सुशासनका लागि आधार तय भएको वर्षका रुपमा सरकारले दाबी गरिरहेका बेला प्रतिपक्षीले ‘सरकारलाई अनुतीर्ण’को आरोप लगायो । तर, प्रतिपक्षीकै भूमिका चाहिँ कति प्रभावशाली रह्यो ? विश्लेषणको विषय बनेको छ ।

निष्प्रभावी प्रतिपक्ष
कांग्रेसले संसदमा आफ्नो भूमिका प्रभावशाली बनाउन सकेन । सरकारका हरकामको विरोधलाई मात्रै कांग्रेसले कर्तव्य ठान्यो । कुनै सिर्जनशील वा रचनात्मक आलोचना गर्न समेत कांग्रेस चुक्यो । परिणामतः दुइतिहाई बहुमतको सरकारले पनि ‘पेल्ने रणनीति’ लियो । कांग्रेसको प्रतिपक्षी भूमिका कमजोर हुनुका खास कारण यस्तो छः

१. आन्तरिक किचलो
लामोसमयदेखि नेपाली कांग्रेस आन्तरिक किचलोमा रुमलिएको छ । पार्टीभित्रको गुट, उपगुट, सहगुट र सहयक गुटका कारण कांग्रेस एकढिक्का हुन सकेन । प्रायः पार्टीभित्रकै विवाद मिलाउनमा कांग्रेसले ज्यादा समय खर्चनु पर्यो । जसकारण उसले शक्तिशाली प्रतिपक्षीको भूमिका निर्वाह गर्न सकेन ।

२. मुद्दामै अलमल
कुन मुद्दामा कस्तो भूमिका निर्बाह गर्ने ? भन्नेमा कांग्रेस अलमलियो । संघमा मात्रै होइन, प्रदेश र अधिकांश स्थानीय तहमा कांग्रेस प्रतिपक्षी छ । तर, मुद्दामा नै कांग्रेसभित्र मत बाभ्mने गरेको छ । मुद्दा पहिल्याउन नसक्नु र मुद्दामा नेताहरुकै मत एक नहुनुका कारण पनि कांग्रेसको पव्रतिपक्षी भूमिका कमजोर भएको छ ।

३. प्रायः मुद्दा ‘ब्याकफायर’
जुनजुन मुद्दा पहिल्याएर कांग्रेसले सरकारको विरोध गर्ने हतियार बनायो, ती प्रायः मुद्दा कांग्रेसतिरै फर्कियो । वाइडबडी विमान खरिद् प्रकरणमा निकै आक्रामक बनेको कांग्रेस सेलाउन बाध्य भयो । जब मुद्दा आफैंतिर सोझियो, कांग्रेस चुपचाप भयो । चिकित्सा शिक्षा विधेयकका मामलामा कांग्रेस नराम्ररी गल्यो । गोविन्द केसीलाई हतियार बनाएर गरेको आन्दोलन निष्प्रभावी भयो ।

जेपी कोइराला स्वासप्रस्वास अस्पताल र शुशील कोइराला प्रखर क्यानस अस्पताललाई केन्द्र मातहत राख्ने विषयबाहेक सरकारलाई घुँडा टेकाउन कांग्रेसले कुनै मुद्दा पाएन । त्यो मुद्दा पनि जनसरोकारको विषय थिएन ।

४. झिनामसिनामै अल्झियो
सरकारलाई जबरजस्त अधिनायकवादी करार गर्न कांग्रेसले व्यापक प्रयास गर्यो । माइतीघर मण्डलामा नाराजुलुश निषेध गरेको विषयलाई सरकारको विरोध गर्ने ठूलो हतियार देख्यो । कहिले गीतमा त कहिले झिनामसिना राजनीतिक नियुक्तिकै बार्गेनिङमा कांग्रेसले समय खेर फाल्यो । बनेका र बन्दै गरेका ऐन, कानुनका मामलामा कांग्रेसको ध्यानै गएन ।

त्यस्तै, निर्मला हत्या प्रकरण, सुन तस्करी प्रकरणमा पनि कांग्रेसले विरोधभन्दा बढी केही गरेन ।

प्रतिपक्षी भूमिका मात्रै होइन, कांग्रेसले चुनाव जितेको स्थानीय तहमा पनि खासै उल्लेख्य रचनात्मक काम गरेको छैन । लामो संसदीय अभ्यास भोगिसकेको कांग्रेस कमजोर हुनुलाई धेरै कोणबाट विश्लेषण गरिएको छ ।

आफूलाई संयमित भएको दाबी गरे पनि कांग्रेसको प्रतिपक्षी भूमिका निष्प्रभाबी भन्दा फरक पर्दैन ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com