विशुद्ध नागरिक बनौं, हनुमान नबनौं- देश आफैँ बन्छ



प्रकाशित मिति : Feb 18, 2019
  • विनोद त्रिपाठी

एक वर्षअघिदेखि नै डोनाल्ड ट्रम्पलाई मिडियाले खेद्न थालिसकेका थिए । मिडियाको हैरानीले उनका क्रियाकलाप झनझन अनियन्त्रित देखिन्थे । फक्स् न्युजबाहेक खासै उनको गुनगान कुनै मिडियाले गाएनन् । यतिसम्म भयो कि मिडिया सर्र्वेेक्षणमा ट्रम्प चुनाव हार्ने परिणामहरु सार्वजनिक भए । तर उनले सबैको अनुमानलाई फेल गर्दे चुनाव जिते । २०, जनवरी २०१७ मा ट्रम्प अमेरिकाको राष्ट्रपति बने । उनी रिपब्लिकन पार्टीको शक्तिशाली नेता भए पनि उनकै पार्टीका वरिष्ठ नेताले पनि उनलाई रुचाएनन् । राष्ट्रपति भए पनि अहिलेसम्म अमेरिकामा सबैभन्दा आलोचित व्यक्तिमध्ये ट्रम्प पहिलोमा पर्छन् ।

यहाँ भन्न खोजिएको के मात्र हो भने– राजनीति वा शक्तिको पछि मिडिया लाग्न हुँदैन । जसले जे गर्छ जे भाको छ, हाम्रा आँखाले शुद्ध हेर्नुपर्छ र लेख्नुपर्छ । त्यसका लागि पत्रकार स्वंय शुद्ध हुनु अनिवार्य छ ।

के ट्रम्पले मिडिया हाउस किन्न सक्दैनथे ? के पत्रकारलाई उनले आफ्नो बनाउन चाहेनन् ?

तर, अमेरिकी मिडियामा त्यसरी बिकाउ पत्रकारिता भएका घटना हामीले पढ्न पाएका छैनौं । पार्टी पत्रकारिता निकै कम र नागरिक पत्रकारिता ज्यादा भएको मुलुकमध्ये हो अमेरिका । जुनसुकै पार्टीको होस्, त्यो नेताले जे गर्छ, त्यही लेख्नु पत्रकारको धर्म हो । ट्रम्पको आनीबानीले नै उनी आलोचित भएका हुन् । उनको पार्टीसंग मिडियाको कुनै लेनादेना छैन ।

त्यसैले पार्टी कुन हो नागरिकले ध्यान दिनु हुँदैन । के गर्देछ ? देश र जनताप्रति कस्तो काम गर्देछ ? नेताको चरित्र खास केहो ? यी विषय नै प्रधान हुन् ।

इक्वाल आदासले भनेका थिए, ‘तपाई सच्चाईको नजिक हुनुहुन्छ भने आफ्नो आँखाले सधैं सत्य हेर्ने प्रयास गर्नुस् । तपाईका हरेक समाचार स्वतः सत्य सावित हुनेछन् ।’ तमिल टाइर्गस युद्धले थिलोथिलो पर्न लागेको श्रीलंकालाई इक्वालजस्ता पत्रकारका आँखाले युद्ध मत्थर पार्ने समाचारहरु मात्र बाहिर ल्याए ।


श्रीलंकाकाको युद्धका विषयमा धेरै दख्खल राख्ने वरिष्ठ पत्रकार इक्वाल आदासले भनेका थिए, ‘तपाई सच्चाईको नजिक हुनुहुन्छ भने आफ्नो आँखाले सधैं सत्य हेर्ने प्रयास गर्नुस् । तपाईका हरेक समाचार स्वतः सत्य सावित हुनेछन् ।’ तमिल टाइर्गस युद्धले थिलोथिलो पर्न लागेको श्रीलंकालाई इक्वालजस्ता पत्रकारका आँखाले युद्ध मत्थर पार्ने समाचारहरु मात्र बाहिर ल्याए । उनले सन्डे टाइम्स, सिएनएन र न्युयोर्क टाइम्समा तमिल युद्धका विषयमा खोजमुलक सामग्रीहरु प्रकाशित गरेका थिए ।

हामी प्रगतिउन्मुख वा प्रगतितिर दौडिएका देशका उदाहरण सिक्न सक्छौं । मुलुक बनाउने वा बिगार्ने एक व्यक्ति काफी हुन्छ । हरेक नागरिक लाखौंमा एक हो । एक/एक नागरिकले देशको लागि म केहि गर्छु भन्यो भने मुलुक बन्न समय नै लाग्दैन ।

हाम्रो देशमा छिटो छिटो राजनीति परिवर्तन भयो । तर, हामी कति पनि परिवर्तन भएनौं । सधैं राजनीतिको उभार मात्र आयो हाम्रो देशमा । बिकासको ज्वाला कहिल्यै दन्किएन । पञ्चायतकालको ३० र यो ३० वर्ष गरेर हाम्राे ६० वर्ष दलहरुकै हनुमान बनेर खेर गएको पश्चात्ताप त गरौं एकपटक । के अझै अर्को ६० वर्ष यसरी नै हनुमानगिरी बनेर तपाईँ-हाम्रा सन्ततिलाई हामीले दु:ख दिने हो त ? यस्ताे महाभूल अब कदापि नगरौं ।

मैले पशुपति शर्माको ‘लुट कान्छा लुट’ भन्ने गित सरकारले हटाउँदैछ वा हटाउन दबाब दिंदैछ लेखें । त्यसको साढे दुई घण्टामै हटाइयो । यो विश्वसनीय खबर सरकारनिकटका हनुमानहरुलाई पत्यार लागेको थिएन । केही हनुमानले मलाई ताज्जुब तरिकाले सुझाव दिए, ‘पहिल्यै अफवाह नफैलाउनुस्, तपाईंजतिको सम्पादकले ।’ तर, मैले स्पष्ट थाहा भएरै लेखेको थिएँ । त्यसपछि मात्र अनलाइनहरुमा छ्याप्छ्याप्ती पशुपतिको गीत हटाएको समाचार आएको थियो । (हेर्नुस, टाइमिङ) ।

अब जो सामाजिक सञ्जालमा झुट कुरा गरेर जनतालाई झुक्याउँछन्, अपराधमा लाग्छन्, उनीहरुलाई खेद्ने र धपाउने समुह नै तयार भएको छ ।

यही असारमा मैले यस्तै विषय लेखेको थिएँ, सरकारले इन्टरनेटको मुल्य बढाउँदैछ । त्यतिबेला पनि सरकार निकटका कुकुरहरुले बिश्वास गरेनन्, नभन्दै साउन १ देखि इन्टरनेटको मुल्य बढाइयो । अहिलेसम्म देख्नुभएकै छ, यो सरकारले न इन्टरनेटको गति सुधार गर्यो न मुल्य घटायो । त्यसपछि मैले लगातार लेखें, सरकारको फलडाउन यात्रा, निर्मला हत्याकाण्डका अपराधी पत्ता लगाउन नसक्नु , मूल्यबृद्धि अहिलेसम्मका सरकार मध्ये अहिले बढि, बिकृति बिंगति सरकारकै कारण आदि आदि । (हेर्नुस, बिभिन्न समाचार, लेखका लिंक र स–साना स्टाटस ।)

अब त हाम्रो समूह नै तयार भएको छ, जो हामीले चाहेका थियौं । अब जो सामाजिक सञ्जालमा झुट कुरा गरेर जनतालाई झुक्याउँछन्, अपराधमा लाग्छन्, उनीहरुलाई खेद्ने र धपाउने समुह नै तयार भएको छ । आज मलाई खुशी लागेको छ , हामीले जुनसुकै अभियान पनि चलाउन सक्छौं । त्यसैले, हामी प्रत्येक नागरिकले अब केहि त गर्नेपर्छ ।

बुँदागत रुपमा-
१, हामी देशमा कार्यकर्ता होइन, सबैलाई असल नागरिक मात्र बनाउन चाहन्छौं । किनकि देशलाई कार्यकर्ता शुन्य र असल नागरिक शतप्रतिशत चाहिएको छ ।

२, सरकारका हनुमानगिरी गर्ने जुनसुकै पेशा, वर्ग र तहका व्यक्तिलाई सबै मिलेर खेदौं । ताकि उनीहरुलाई कार्यकर्ता होइन, असल नागरिक बन्न चेत खुलोस ।

३, भ्रष्टाचार, हिंसारहित समाज निर्माणमा निस्वार्थ भावले एकजुट बनौं । यसले प्राकृतिक रुपमा स्वर्ग जस्तो मुलुकलाई सांच्चीकै स्वर्ग बनाउन सकिन्छ ।

४, हाम्रो मुलुक सरकार र शक्तिका पछाडी बहुमत जनता लागेरै बिकास हुन नसकेको हो । त्यसैले, जो शक्तिका पछि लागेर आफ्नो स्वार्थ पुरा गर्न जस्तोसुकै गलत काम गर्न उत्प्रेरित छ, उनिहरुलाई समाप्त पार्नेपर्छ । नत्र मुलुक बन्दै बन्दैन ।

५, सरकारले आलोचना गर्नेलाई तह लगाउन मिडिया र सामाजिक संजाललाई पुर्ण नियन्त्रण गर्न खोजिरहेको छ । हाम्रो अभियान जुनसुकै माध्यमबाट पनि जारी राख्नैपर्छ । सरकारले नियमनको नाममा मिडिया र संजाललाई नियन्त्रण गर्यो भने बिदेशमा बस्ने सम्पुर्ण साथीहरुले अभियानलाई जारी राख्नुहोला ।

६, आज मृल्यबृद्धि भएर जनता इन्तु र चिन्तु अवस्थामा छन् । अपराधीहरुले सोझा नागरिकलाई मारिरहेका छन् । निर्मला हत्याकाण्डका अपराधीहरु सरकारसंग कुममा कुम जोडेर बसेका छन् । गरिब जनताले उपचार पाउन सक्ने अवस्था छैन । सरकारी काम झन गिर्दो अवस्थामा छ । यी सबै बिकृति पहिले पनि थियो । यो सरकार आएपछि झन यो बिकृति ह्वात्तै बढ्यो । यसलाई रोक्न सबैले हातेमालो गरौं ।

७, एउटा रवि लामिछाने कहिले अपराधी खोज्न हिंड्छ । कहिले भ्रष्टाचारी खोज्न दौडन्छ । त्यसरी नै सबैले आआफ्नो स्थानमा रहेर देशका लागि निस्वार्थ बनेर साथ सहयोग अभियानमा सरिक बनौं ।

८, हाम्रा अभियानलाई सरकारका हनुमानहरुले प्रतिक्रिया जनाउँछन् बिरोध गर्छन् । उनीहरु माथि सबै मिलेर गतिलो जवाफ दिउँ । ताकी उनिहरु पार्टीको कार्यकर्ता होइन, शुद्ध जनता मात्र बन्न सिकुन् ।

९, बिकसित मुलुकमा पार्र्टीका कार्यकर्ता खोजेरै पाईंदैन । कार्यकर्ता निकै कम र तटस्थ जनता धेरै भयो भने देश बन्ने हो । त्यसैले, दलको राजनीति गर्ने, झन सरकारको तावेदारी गरेर फाइदा लिन खोज्नेहरुलाई आजैबाट अन्त्य गर्न सबै सक्रिय बनौं ।

१०, हरेक नागरिकले जुन पेशा हो, त्यसैमा इमान्दार बनेर लाग्नुपर्छ । सचारकर्मी, बैदेशिक रोजगारी, चिकित्सक, शिक्षक, कर्मचारी, ब्यबसायी, ब्यापारी, उद्योगी, कृषक, बिभिन्न सरकारी र गैरसरकारी काम गर्ने सबैले आआफ्नो पेशा सर्बोपरी ठानेर तटस्थ र निष्पक्ष भएर काम गर्ने हो भने मुलुक बन्नेछ ।

यस्ताेमा विद्यार्थी र बेरोजगार साथीहरु त झन कुनै दलको कार्यकर्ता बन्नै हुँदैन । देश बनाउनका लागि हामी कार्यकर्ता होइन, पहिला असल नागरिक बन्न सिकौं । हामी कसैको हनुमान नबनौं, वस्तुगत ढंगले मूल्या‌ंकन गर्न सिकाैँ । यति भएपछि देश अाफैँ बन्दै जानेछ ।

(लेखक सौर्य राष्ट्रिय दैनिकका सम्पादक हुन् ।)


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com