सामाजिक सुरक्षा कोषमा आबद्ध हुने उपत्यकाभित्रकाे समयसीमा आज सकिँदै



प्रकाशित मिति : Feb 18, 2019

काठमाडौं । सरकारले आकर्षक नारासहित ल्याएको याेगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुने समयसीमा आज सकिंदै छ ।

श्रमीक तथा कर्मचारीको सामाजिक सुरक्षाको सवालमा सरकार गम्भीर रहेको भन्दै गत मंसिर ११ गते ‘नयाँ युगको सुरुआत्’ नारा दिएर कोषको अवधारणा सार्वजनिक गरिएको थियो । सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन रोजगारदाता कम्पनी तथा व्यवसायिक संस्थाहरुलाई फागुन ६ गतेभित्र कोषमा दर्ता हुनुपर्ने समयसीमा तोकेको थियो । त्यसको म्याद आजै सकिँदैछ ।

सामाजिक सुरक्षासम्बन्धी कार्यविधिमा रोजगारदाता कम्पनीले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत कट्टा गरेर त्यसमा २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्ने व्यवस्था छ। कार्यक्रमलाई श्रमिकको हकहित अनुकुल भएको भनिएपनि सुरक्षा कोषको अवधारणा अनुरुप निजी क्षेत्रलाई दबाब दिन नसक्दा सूचीकरणमा सुस्तता देखिएकोे छ।

सामाजिक सुरक्षा योजनामा आबद्ध हुन रोजगारदाता कम्पनीहरुले तत्परता नदेखाउनुमा रोजगारदाताहरुले श्रमिकलाई दिइआएको सेवा-सुविधाभन्दा यो धेरै हुने भएकाले खर्च धान्न नसक्ने त्रास रहेको बुझिएको छ ।

सरकारले योजनामा आबद्ध हुन उपत्यकाका तीन जिल्लामा रहेका दश हजार रोजगारदाता दर्ता हुने अनुमान गरेकोमा निर्धारित समय सकिंदै गर्दा जम्मा एक हजार पाँच सय मात्र रोजगारदाता कम्पनी सुचीकृत भएका छन् । जुन अपेक्षा गरे भन्दा निकै कम हो ।

सामाजिक सुरक्षा योजनामा आबद्ध हुन रोजगारदाता कम्पनीहरुले तत्परता नदेखाउनुमा प्रमुख रुपमा रोजगारदाताहरुले श्रमिकलाई दिइआएको सेवा सुविधाभन्दा यो धेरै हुने भएकाले खर्च धान्न नसक्ने र कम्पनी धरासायी हुने त्रास रहेको बुझिएको छ ।

तथ्यांकअनुसार नेपालमा संगठित र असंगठित गरेर १ करोड २० लाख श्रमिक छन् । सरकारले काठमाडौं उपत्यका भित्रका रोजगारदाता र सबै श्रमिक आपूर्तिकर्ताले ६ फागुनभित्रै कोषमा अनिवार्य रूपमा सूचीकृत भइसक्नुपर्ने बताएको थियो ।

त्यस्तै, उपत्यकाबाहेक प्रदेश ३ का अन्य रोजगारदाताले १४ फागुन, प्रदेश १ का रोजगारदाताले फागुन मसान्तभित्र, प्रदेश २ का रोजगारदाताले १४ चैतभित्र, गण्डकी तथा प्रदेश ५ का रोजगारदाताले चैत मसान्तभित्र र कर्णाली तथा सुदूरपश्चिमका रोजगारदाता १४ वैशाख ०७६ भित्र सूचीकृत भइसक्नुपर्ने उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com