साउदी युवराजलाई पाकिस्तानको भव्य स्वागत : साउदीद्वारा २० अर्ब डलरकाे सम्झाैता



प्रकाशित मिति : Feb 18, 2019

काठमाडाैँ । अार्थिक संकटबाट जाेगिन संघर्षरत पाकिस्तानले साउदी अरेबियाका शासक युवराज मोहम्मद बिन सलमानलाई अाेछ्याएर भव्य स्वागत गरेकाे छ ।

वैदेशिक मुद्रा सञ्चय गुमाउँदै गएको, आर्थिक घाटा बेहोरिरहेको र आफ्नो वित्तिय भविष्य सुरक्षित गर्ने दिशामा अाक्रामक रुपले लागेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अाइतबार सलमानकाे भव्य स्वागत गरेका हुन् । दुई दिने भ्रमणमा साउदी युवराज प्रधानमन्त्रीको निवासमा बस्ने बताइएकाे छ । यसरी प्रधानमन्त्री निवासमै यसअघि कुनै पनि अन्य देशका अतिथिलाई राखिएको थिएन । 

पाकिस्तान

अाफ्नाे दुईदिने भ्रमणका क्रममा युवराज सलमानले पाकिस्तानलाई २० अर्ब डलर लगानी गर्ने सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । साे सहायतामा ग्वादर नजिक एक तेल रिफाइनरीमा ८ अर्ब डलर लगानी गर्ने कुरा पनि सामेल छ । सलमानले पाकिस्तानको भविष्य उज्यालो रहेको बताउँदै भनेका छन्- ‘पाकिस्तानले गएको वर्ष पाँच प्रतिशतको आर्थिक प्रगति गर्यो र अहिलेको नेतृत्वमा पाकिस्तानको भविष्य निकै सुनौलो छ ।’

पाकिस्तानकाे केन्द्रिय बैंकसँग विदेशी मुद्रा सञ्चयअन्तर्गत जम्मा ८ अर्ब डलर मात्रै रहेको छ र भुक्तानी सन्तुलन संकटको सामना गरिरहेको अवस्थामा साउदीसँग भएकाे साे लगानी सम्झाैताले पाकिस्तानलाई ठूलाे राहत दिनेछ ।

गत अगष्टमा प्रथानमन्त्रीकाे शपथ लिएयता पूर्व-क्रिकेटर समेत रहेका इमरान खानले मित्र राष्ट्रहरूसँग सहयोगका लागि आक्रामक प्रयासहरू गरिरहेका छन् ताकि पाकिस्तानको अर्थतन्त्रलाई जोगाउन सकियोस् । उनले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग निकै कडा सर्तसहित सहायता खोजिरहेकाे समेत बताइएकाे छ । 

पाकिस्तानको सम्भावनालाई देखेर नै साउदी अरेबियाले लगानी गरेको र यो पाकिस्तानमा साउदी लगानीको सुरुवात मात्रै भएकाे युवराज सलमानले बताएका छन् । युवराजले एसियाका पाँच देशको भ्रमणमध्ये पाकिस्तान पहिलो गन्तव्य बनाए पनि मलेशिया र इण्डोनेशियाको भ्रमण तत्कालका लागि राेकिएकाे छ । उनी चीन र भारतकाे भ्रमणमा समेत जाने तयारी रहेकाे छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com