एचआइभी संक्रमित बालबालिकाको पीडा, सपना र सारथीको कथा ! (भिडियोसहित)



प्रकाशित मिति : Feb 17, 2019

काठमाडाैँ । ११ वर्षीया रमिलालाई कहिल्यै विसेक नहुने रोगः एचआइभी एड्स लागेको छ । जन्मदैं एचआईभी संक्रमित रमिलाले गाउँमा खुव दु:ख पाइन् । परिवार र आफन्तसँगै गाउँलेको हेँला सहनुपर्यो ।

रमिला अहिले काठमाडौं कीर्तिपूरस्थित बेबी लाइभ होमद्वारा सञ्चालित ‘सफलता एचआईभी शिक्षा सदन’मा ३ कक्षामा अध्ययनरत छिन् । बिनागल्ती जन्मदैँ एचआइभी संक्रमित रमिलालाई गाउँ फर्कन मन छैन ।

‘सफलता एचआईभी शिक्षा सदन’मा २३ जना एचआइभी संक्रमित बालबालिका अध्ययन गरिरहेका छन् । उनीहरुको एउटै साझा पीडा छ, बाआमाको गल्तीका कारण जन्मदैँ संक्रमित हुनुपर्यो । गाउँमा सबैले हेँला गरे । अनि अहिले यहाँ अध्ययनरत छन् ।

हरी लुइटेल (नाम परिवर्तन) । गाउँमा हुँदा उनलाई परिवारका सदस्यले लुकाएर राख्थे । काठमाडौं ल्याएपछि मात्रै उनलाई थाहा भयो कि, ‘एचआइभी संक्रमण भएको रहेछ’ भनेर । उनी कहिलेकाँही अहिले पनि आफ्नो गाउँ जान्छन् । तर, मान्छेहरुले गरेको भेदभावका कारण उनको मन दुख्छ ।

सफलता एचआइभी शिक्षा सदनमा अध्ययनरत हरीलाई राम्रोसित गीत गाउँन आउँछ । सुमधुर स्वरका हरी लय मिलाएर गाउँछन् ।
एचआइभी संक्रमण भएकै कारण हरीले बाल्यकालमै निकै सास्तीको सामना गर्नुपर्यो । तर अब उनी पीडा भुल्दै अघि बढ्न चाहन्छन् । सिभिल ईन्जीनीयर बन्न चाहन्छन् । र, आफूजस्तै पीडित बालबालिकाको उद्दार गर्न चाहन्छन् ।

८ कक्षामा अध्ययनरत शर्मिलालाई पनि एचआइभी संक्रमित भएकै कारण छिमेकीले गरेको भेदभावका कारण धेरै चित्त दुखेको छ ।
पीडाबीच अघि बढिरहेकी शर्मिलासँग ‘नेपालकै पहिलो एचआइभी संक्रमित मोडल’ बन्ने सपना छ ।

यहाँका सबै बालबालिकाको पीडा उस्तै छ । र, पीडाबीच पनि सपना हुँर्कदोँ छ । बाआमाको गल्तीका कारण समाजबाट लखेटिएका बालबालिकाको पीडासँगैको सपना हो यो । जन्मदैँ एचआइभी संक्रमित यिनीहरु कतिका बाआमाको मृत्यु भइसक्यो । कति एचआइभीसँग जुधिरहेका छन् । एचआइभी संक्रमितलाई हेर्ने हाम्रो सामाजिक नजर खराब छ । जसका सिकार बनेका छन्, रोगीहरु । अनि, बिनागल्ती पीडाभोग्न वाध्य छन्, बालबालिका ।

यसरी उद्दार भयो बालबालिकाको

जन्मिंदै एचआईभी संक्रमित हुनुको पीडा त छ दैँ छ, त्यसमाथि आफन्तबाटै अपहेलित हुनु पर्दा संक्रमित बालबालिकालाई चोटमाथि चोट पर्यो । यतिसम्म कि, उनीहरुलाई बिद्यालयले भर्ना समेत लिएन ।

बिनागल्ती संक्रमित भएर परिवार, आफन्त, छिमेकी र गाउँलेको हेँला खपिरहेका बालबालिकालाई काठमाडौं, कीर्तिपूरस्थित बेबी लाइभ होमले उद्दार गर्यो । समाजबाट लखेटिएका बालबालिकालाई बेबी लाइभ होमद्वारा सञ्चालित सफलता शिक्षा सदनमा अध्यापन गराइएको छ । जहाँ अहिले विभिन्न जिल्लाका २३ जना एचआइभी संक्रमित बालबालिका अध्ययन गरिरहेका छन् ।

यहाँ भएका कतिपय बालबालिकाका बाआमाको एचआइभी संक्रमणकै कारण मृत्यु भइसकेको छ । कति बाआमा पीडा र अवहेलना सहेत बाँचिरहेका छन् । अझ, बाआमाको गल्तीका कारण एचआइभी संक्रमित बालबालिकाको दर्द कम्तिको छैन । उनीहरुको दर्दमा मल्हल लागाउन बेबी लाइभ होम सफल भएको छ ।

सारथीकाे कथा

२०६७ सालमा एचआइभी संक्रमित बालबालिका बिचल्ली भएको न्यूज सुनेपछि राजकुमार पुन र उमा गुरुङको मन छोयो । त्यसपछि केही राहतको पोको बोकेर उनीहरु दाङ पुगे । राहत हस्तान्तरण गरेर फर्किने सोचका साथ दाङ पुगेका पुन र गुरुङलाई बालबालिका लिएर काठमाडौं आउनैपर्ने वाध्यता पर्यो । गाउँलेले ‘बालबालिकाका कारण गाउँमा संक्रमण बढेकाले काठमाडौं लैजान’ आग्रह गरेपछि उनीहरुको मन मानेन । पीडित बालबालिकालाई काठमाडौं ल्याए ।

समाजबाट तिरस्कृति एचआइभी संक्रमित बालबालिका कुपोषणग्रस्त थिए । शरीरमा हाडछाला मात्रै थियो । बालबालकालिकाको दयनीय स्थितिले राजकुमार र उमाको मन पगाल्यो । र, ‘जसरी भए पनि पालन पोषण गर्ने र शिक्षा दिने अठोटका साथ’ उनीहरुले पीडित बालबालिकालाई काठमाडौं प्रयास गरे ।

बालबालिकाको पालन पोषणका लागि एउटा संस्था हुनु अनिवार्य थियो । काठमाडौं फर्किएर उनीहरुले ‘बेबी लाइभ होम’ नामको संस्था दर्ता गरे । एचआइभी संक्रमित बालबालिका जम्मा गरे । र, घर बेचेर बालबालिकाको पालन पोषण सुरु गरे ।

अहिलेसम्म राजकुमार र उमाले कुनै राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट सहयोग नलिएको दाबी गरिरहेका छन् । राजकुमारले आर्थिक उपार्जनका लागि तरकारी खेती गरिरहेका छन् । र, उमाले कस्मेटिक पसल सञ्चालन गरेकी छन् । उनीहरुले त्यहीं खेती र पसलबाट भएको आम्दानीले पीडित बालबालिकाको पालनपोषण गर्दै अध्यापन गराइरहेका छन् ।

कुनै विद्यालयले भर्ना नलिएका बालबालिकालाई उनीहरुले पढाइरहेका छन् । अहिले सफलता शिक्षा सदनमा १० कक्षासम्म पढाई हुन्छ ।

एचआइभी संक्रमित बालबालिका बेलाबेला बिरामी भइरहन्छन् । उनीहरुको उपचा खर्च समेत राजकुमार र उमाले नै व्यहोरिरहेका छन् । सरकारले एचआइभी नियन्त्रण एवम् संक्रमितका लागि पर्याप्त बजेट छुट्याउने गरेको छ । तर, बेबी लाभइ होम सञ्चालनको नौ वर्षमा राजकुमार र उमाले २ लाख रुपैयाँ मात्रै पाएका छन् । सरकारले संक्रमितको सुरक्षका लागि आवश्यक पहल नगरेकोमा उनीहरुले दुखेको पोखेका छन् ।

एचआइभी एड्स एउटा दीर्घ रोग हो । औषधी सेवन गरेर संक्रमितले अरु मान्छेजस्तै सामान्य जीवन विताउन सक्छन् । तर, एचआइभीलाई हेर्ने हाम्रो सामाजिक नजर गलत छ । जसलाई परिवर्तन गर्न÷गराउन जरुरी छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com