सरकारको एक बर्षे कार्यकाल पूर्णरुपमा असफलः लक्ष्मणलाल कर्ण



प्रकाशित मिति : Feb 17, 2019

काठमाडौं, ५ फागुन । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता एवम् संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले ओली सरकारको एक वर्षे कार्यकाल पूर्ण रुपमा असफल भएको दाबी गर्नु भएको छ ।

कर्णले भन्नुभयो,‘केवल भाषण गर्दैमा देश बन्दैन । देश बनाउनको लागि त विकास गर्नुपर्छ । समृद्धि ल्याउनको लागि काम गर्नुपर्छ । अहिले मुलुकको आर्थिक अवस्था डामाडोल छ ।’

कर्णले वर्तमान सरकारको एक वर्षे कार्यकालमा कोही पनि जनता सन्तुष्ट नभएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो,‘यो एक वर्षमा विकास निर्माण, सुशासन, सदाचार र नियुक्ती प्रक्रिया केही पनि राम्रो काम भएको छैन् ।’ राजपाको दृष्टिकोणमा वर्तमान सरकार कतैपनि सफल नभएको उहाँले जिकिर छ ।

विदेश नीतिमा पनि सरकार फेल भएको उहाह्ँको तर्क छ । यद्धपि उनले आफूहरुले संविधान संशोधनको आशमा यो सरकारलाई समर्थन गरेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,‘तर हामी अहिले संसदमा विपक्षको बेन्चमा बसेका छौं । त्यसैले अब राजपाले कहिले समर्थन फिर्ता लिन्छ भनेर उद्युम मच्याईरहनुपर्दैन् ।’

प्रधानमन्त्री ओलीले आफूहरुलाई पटक–पटक संविधान संशोधन गर्छु भनेर आश्वासन दिएकोले पनि समर्थन जारी राखेको कर्णले स्पष्ट पार्नुभयो । उहाँको भनाइ छ ,‘प्रधानमन्त्रीले हामीलाई पटक–पटक आश्वासन दिनुभएको छ, कहिले ७ दिनभित्र अघि बढाउँछु भन्नुभएको छ, कहिले तीन महिना भन्नुहुन्छ, अब पार्टीले यस विषयमा खास गरेर समर्थन जारी राख्ने वा नराख्ने भन्ने विषयमा अब बस्ने बैठकमा ठोस निर्णय गर्छ ।’

फरक प्रसँगमा उनले भ्रष्टाचार निवारण गर्ने निकायका व्यक्ति नै भ्रष्टाचारमा मुछिएको सुनाउँदै यो समस्यालाई गम्भीर रुपमा लिनुपर्ने बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com