अख्तियारका आयुक्त आफैले घुस खाएपछि मुलुकमा कसको विश्वास गर्ने ?



प्रकाशित मिति : Feb 14, 2019

अख्तियारका आयुक्त स्वयं घुस काण्डमा मुछिए । अरुले घुस खाए समात्ने निकाय हो अख्तियार तर अख्तियारका पनि आयुक्तले घुस खाएपछि मुलुकमा कसको विश्वास गर्ने ? विभिन्न निकायमा हुने गरेका घुस–खोरीहरु बारम्बार देखाइनै रहेका छाँै ।

तर अख्तियारका आयुक्तले मुद्धा मिलाइदिने भन्दै ७८ लाख लिएको समाचारले निराश बनायो । सरकारको एक बर्ष पुगेको दिन त्यसैबारे चर्चा गरौँला भन्ने सोचेको थिए । तर नचाहेर पनि टिप्पणी यही घुस काण्डको गर्न बाध्य भएको छु । अख्तियारको बिषयमा यस अघि पनि भनेका थियौ कि कर्मचारीहरु सरुवा हुने क्रममा अख्तियार पनि आउँछन् र अख्तियारबाट अन्य मन्त्रालय अन्तर्गतका विभाग कार्यालयमा पनि जान्छन् ।

अन्य कार्यालयबाट अख्तियार आउनेका बारेमा केही नभनौ तर अख्तियारबाट अन्यत्र जाने कर्मचारीहरुलाई चाँही अख्तीयारको फन्दामा कसरी परिन्छ वा अख्तियारबाट जोगिने उपाय के कस्ता हुन भन्ने कुरा मजाले थाहा हुन्छ ।

बचेर घुस खान कसरी सकिन्छ भन्ने कुरा अख्तियारमा एक पटक काम गरिसकेकालाई ठ्याक्कै थाहा हुन्छ । अख्तियारमा काम गरेर अन्यत्र गएका सबैले घुस खान्छन् भन्न खोजेको होइन तर घुस्याहाले अख्तियारको कामको तौर तरिका थाहा पायो भने भ्रम्हलुट मच्चाउन सक्छ, त्यो पनि सजिलै ।

अख्तियारका आयुक्त राजनारायण पाठक जस्ता व्यक्ति समेत अख्तियारका आयुक्त हुन योग्य हुने भएपछि देश लुट्न कसले रोक्न सक्छ । प्रधानमन्त्रीको भनाइ तालि पिट्ने मात्र काम लाग्ने हो । यथार्थ उहालाई विफ्र गरिएको छैन । देशमा रामराज्य छ तपाई आएदेखि भनेर आसेपासेले भनिदिएपछि प्रधानमन्त्रीले थाहा कसरी पाउनु ?

आयुक्त पाठक, यस अघि काठमाडौं विश्वबिद्यालयको प्रवेश परिक्षा प्रकरणमा, मेडिकल कलेजमाथि हस्तक्षेपका विवादमा गण्डकी मेडिकल कलेजको मुद्धा लगायततमा लोकमान सिंह कार्कीसँग नजिक रहेर विभिन्न मुद्धाहरुमा जोडिएका व्यक्ति हुन् । हुन त सरकार मिडियाप्रति त्यती खुसी छैन तर सुशासनको खबरदारी र भ्रष्टाचारीहरुलाई सार्वजनिक गर्ने काम सबैभन्दा बढी मिडियाले नै गरेको छ ।

भ्रष्टाचार सहन्न भन्ने सरकारलाई भ्रष्टाचारीहरु देखाइदिएर मिडियाले लगाएको गुण यो सरकार के सम्झन्थ्यो र । प्रहरीमा घुस, सेनामा मिलेमतो, अख्तियारमा त आयुक्त नै महा घुसिया, मालपोत, नापी, यातायात, पानी बिजुली अड्डा, भन्सार, त स्वर्ग नै भए, अदालतमा समेत घुसखोरी भएपछि जनताले गर्ने चाँही के ?
प्रधानमन्त्रीको भाषणमा तालि पड्काउने ? घुस खानेहरु माथि अनुगमन, स्ट्रिङ अपरेशन गर्ने मजबुत सिस्टम बनाएर लागु गर्न सके पो केही हुन्छ । को मार्फत, कति दिन लगाएर, कसरी घुस लिने र पैसा कसरी–कहाँ बुझ्ने भन्ने गोप्य बैठक दिन दिनै चलाइरहेका खुस्याहरुले प्रधानमन्त्रीले घुस खोरलाई देखिसहन्न भनेको सुन्न र हेर्न पाएकै छैनन् ।

यतिखेर पनि कयौँ घुस्याहरुलाई फुसर्दै छैन, दलालहरुसँग मिटिङ गर, पैसाको बार्गेनिङ गर त्यसपछि नुहने कामलाई हुने र हुने कामलाई नुहने गर्न क–कसलाई कति–कति बाड्नु पर्ने हो त्यसको हिसाब निकाल, यसलाई मनाउ, उसलाई फकाउ, पैसा को मार्फत कुन लोकेशनमा लिने हो सारा मिलाउनु प¥यो । खोइ फुर्सद, यस्तो विजी घुस्याहाहरुले न यो कार्यक्रम हेर्छन, न प्रधानमन्त्रीले थर्काएको हेर्छन् ।

तिनलाई त फुसर्दै छैन । सरकारको र प्रधानमन्त्रीको विरोध गरेको होइन तर भ्रष्टाचार नियन्त्रण मुखले बोलेर र निर्देशन दिएर रोकिदैन भन्ने कुरा बुझेको नबुझ्यै गरेको देखेर दिक्क लागेको मात्रै हो । सबैजसो क्षेत्रमा भएको भ्रष्टाचार रोक्न विशेषज्ञहरु, अत्याधुनिक प्रविधि, मोनिटर गर्ने स्पेशल युनिट, प्रमाणित सफ्ट्वेयर, अन्तराष्ट्रिय एक्सपर्टहरु चाहिन्छ क्या सरहरु ।

अख्तियारले खाइदियो, अरुको के गफ गर्ने ? कतै पढेको थिए, केन्या भन्ने देशमा पुलिसले ब्यापक घुस खान थालेपछि नियन्त्रण गर्ने उदेश्यले केन्या सरकारले कुनै पनि पुलिसको युनिर्फममा खल्ती नै नराख्ने निर्णय गरी लागु गर्दैछ । यो एउटा आइडिया मात्र हो । यसको अर्थ हो, पैसा लिएपछि खल्तीमा लुकाइन्छ ।

घुस लिएर लुकाउन सजिलो नहोस् भन्ने तर्फ सोच्न यसले मद्धत गर्छ । कसरी कसरी घुस लिइन्छ र कसरी कसरी घुस लुकाइन्छ भन्ने अध्ययन गराउन चाहने हो भने के गाह्रो छ ? अनि कयाँै ऐनहरु बन्दैछन्, घुस खानेलाई दिइने सजाय क्रुर भन्दा क्रुर बनाउन सकिदैन ?

सजायको डरले प्रत्येक घुस्याहाको खुट्टा काप्नु प¥यो, पिसाब चुहिन प¥यो, २ रुपैयाँ लिन २ लाख पटक सोच्नु पर्ने कानुन निर्माण गर्ने हिम्मत चाँहिदैन ? घुस खाएको समातेमा हुन्छ के ? भ्रष्टाचारीले पाउने सजाय के ? २० करोड खाने, २ करोड धरौटीमा रिहा । मतलब १८ करोड नाफा ।

लुगामा खल्ती नराख्ने मात्र होइन नेपालका अधिकांश कार्यालयहरुमा त कट्टु मात्र लगाएर कार्यालयमा काम गर्न पाइने, मोबाइलको कल रेर्कड डेली चेक गराउनु पर्ने, प्रत्येक कर्मचारी, नेताको जीउमा चिप्स फिट गरी बाथरुम गएको समेत रेर्कड गर्नुपर्ने सिस्टम चाहिएको छ ।

कतिपयलाई चाँही सिस्नु पानी लगाउँदै बयान लिन पाइने व्यस्थालाई पनि नियम नै बनाएर पास गराई लागु गर्दा पनि फरक पर्दैन कि । यी आयुक्त पाठकले पनि एक्लै खाएका होइनन्, धेरैलाई भाग लगाएरै खाएका हुन् ।

सिस्नु पानी सिस्टम यिनैबाट सूरु गरे, धेरैको पोल खुल्छ । ग्यारेण्टीका साथ भन्छु, मेरो नपोलिदिए हुन्थ्यो भनेर आज धेरै जना धुप बालेर बसेका छन् । देशका भ्रष्ट्राचारीहरु फुल कन्फिडेन्टका साथ खान्छन्, सरकारको गफ ठुला माछालाई त पर जाओस् भुरा माछा जस्ता सामान्य कार्यालय सहयोगीले पनि टेरेका छैनन् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com