राेजगार कार्यक्रमले जगाएकाे आशा : विगतकै निरन्तरता कि क्रमभंगता ?



प्रकाशित मिति : Feb 14, 2019
  • नगीन्द्र शाही

राजनीतिमा सबैभन्दा धेरै प्रयोग हुने शब्द हुन्- आत्मनिर्भर, स्वाभिमानी । यी शब्दको रस जीवनमा उतार्न राजनीतिक दललाई माध्यम मानेर नेपाली जनता अविचलित परिवर्तका संवाहक हुदै यँहासम्म पुगेका छन् । फलस्वरुप देशमा धेरै राजनीतिक व्यवस्थाहरु उथलपुथल पनि भए र नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आइपुग्यो ।

२००७ सालदेखि २०७५ सम्मको यात्रामा देशमा ६ वटाजति त संविधान नै फेर्नुपर्याे । यस बीचमा दर्जनौंपटक सरकार फेरिए, सयौंजना मन्त्री बने । हालसम्म निर्माण भएका सबै संविधानमा लेखिएको थियो र छ- जनताको शिक्षा, स्वास्थ्य र रोजगारी प्राप्त गर्ने कुरा संवैधानिक अधिकार हुनेछ । तर विडम्वना- राजनीतिक अस्थिरताका कारण उन्नत शिक्षा, उन्नत स्वास्थ्य र सामान्य घर खर्च धान्न सक्ने समेतका रोजगारीहरु स्वदेशमा उपलब्ध हुन सकेनन् । साँझ-बिहानको गुजाराका निम्ति देशमा आत्मनिर्भर हुने कुनै सीप नचल्दा विदेशका विभिन्न मुलुकमा सस्तोमा श्रम बेच्न बाध्य नेपाली जनता स्वाभिमानी हुने कुरा एकादेशको कथाजस्तै हुने नै भयो ।

बेरोजगारीकाे भाइरस र युवा पलायन

नेपालको जम्मा जनसंख्यामध्ये १५ देखि ५५ वर्षको उद्यम गर्न सक्ने ५६ प्रतिशत उर्जाशील जनशक्ति उपलब्ध हुँदा पनि देशमा रोजगारीका अवसरहरुको सुनिश्चिता भएन । फलस्वरुप यसमध्ये वर्षेनी ५ लाखभन्दा धेरै युवाहरु कामका निम्ति विदेशिनुपरेको विभिन्न तथ्याकंले देखाउँछन् ।

नेपालका निम्ति जिका भाइरसजस्तै फैलिँदै जाने बिरामीको रुपमा रहेको बेरोजगारी समस्या समृद्ध नेपाल निमार्णका निम्ति प्रमुख बाधक तत्वकै रुपमा रहेको थियो । विश्व रोजगार बजारमा मेहनती, इमानदार, कर्मठ र बहादुर नेपाली बनेर चिनिन सफल नेपाली मानव-स्रोत स्वदेशमा इलम गर्ने वातावरण नपाउँदा विदेशमा गई तल्लो स्तरको काम गर्नुपर्ने बाध्यता एकातिर छ भने अर्काेतिर क्षमता, स्वास्थ्य अनुकुलको काम नमि‍ल्नाले धेरै नेपालीले विदेशमै ज्यान गुमाउनु परिरहेको तीताे यथार्थ हाम्रा सामु छ ।

बेरोजगारी समस्याकाे अन्त्य र रोजगारीको सुनिश्चिताका निम्ति नियम, कानुन र संरचना विगतमा थुप्रै निर्माण भए तापनि तिनीहरुले प्रभावकारी पहलकदमी लिन नसक्दा नेपालमा रहेको उर्जाशिल श्रम शक्ति खपत हुने रोजगार सिर्जना हुन सकेन । अनि नेपाल अन्तर्राष्ट्रिय श्रम बजारका निम्ति ‘सस्ता श्रमिक निर्यात’ गर्ने बजारमा सीमित हुदै आएको छ ।

केही उद्यम गर्ने मनसाय भएकाहरुका निम्ति भारतीय बजारको एकाधिकार र नेपालमा स्थापित सीमित व्यापारिक समूहको वर्चश्वका कारण साना व्यवसायीहरु माथि उठ्न सकेनन् । परिणाम- अरुलाई रोजगारी दिनुको साटो आफ्नै घरखेत बैंकको नाममा गर्न बाध्य भएका छन् उनीहरु ।

सानालाई ऐन ठूलालाई चैन

सानालाई ऐन ठूलालाई चैन भनेझैँ देशमा सञ्चालित उद्योग, कलकारखाना, परम्परागत कृषि पेसा र निर्माण क्षेत्रलगायतका क्षेत्रमा मजदुरी गरी जीवन निर्वाह गर्ने श्रमिकहरुको ज्याला, सुरक्षाको ग्यारेण्टी नहुँदा एक-दुई महिनाका निम्ति समेत काम गर्न भारत गइहाल्ने तर नेपालमा काम नगर्ने नेपाली मजदुरहरुको विबशता छ । उद्योगपति, ठेकदारहरुबाट पीडित हुन पुगेका श्रमिकहरुको आवाज नियामक निकायले नसुन्दा ‘नेपालको कानुन दैवले जानुन्’ भन्दै पीडित आफै‌ँ पाखा लाग्ने गरेको विगतदेखिकै अवस्था विद्यमान छ ।

पहुँच, पैसा भएकाहरुले कानुनलाई समेत सजिलै प्रभाव पार्न सक्छन् भन्ने श्रमिकको आम मनोविज्ञान अहिले पप्पु कन्ट्रक्सन प्रकरण, एनसेलकाे लाभकर छली प्रकरण हेरे पुग्छ । श्रमिकको न्यूनतम ज्याला निर्धारण, सीप र सिर्जनाका साथै शैक्षिक योग्यताका आधारमा सहुलियत ऋण र सामाजिक सुरक्षा कार्यक्रमजस्ता सकारात्मक कामले आम नेपाली जनताको सरकार तथा राज्यका निकायप्रति विश्वास बढेको छ । तर यिनकाे कार्यान्वयन पक्ष के कस्ताे रहन्छ त्याे भने हेर्न बाँकी छ ।

रोजगार कार्यक्रम : जागेको आशा

नेपालको संविधान २०७२ भाग ३ को मौलिक हकअन्तरगत धारा ३३ मा रोजगारीको हक र धारा ३४ मा श्रमको सम्मान सम्वन्धी व्यवस्था गरिएको छ । नेपालको इतिहासमा पहिलोपटक सरकारले यसको वस्तुगत कार्यन्वयन गर्दै छ । यसले अाम नेपालीमा अाशा जगाएकाे छ ।

मुलुकभित्र सम्पूर्ण बेरोजगारलाई योग्यताअनुसारको राेजगारी र कामअनुसारको ज्यालाको सुनिश्चिता अनिवार्य गर्ने साथै काम उपलब्ध गराउन नसक्दासम्म सय दिन बराबरको बेराेजगार भत्ता दिने घोषणा सरकारले गरेको छ ।

माओले भन्नुभएको थियो, ‘जब म पढ्थेँ मात्र, त्यतिखेर कुराको चुरो पत्ता लगाउन सक्दिनथेँ । तर मैलै त्यतिखेरदेखि बुझ्न थालेँ- जब मैलै त्यसलाई प्रयोग गरेँ ।’ विगतमा हामीले धेरै संविधान लेख्यौं अनि ती संविधान पढ्यौँ तर व्यवहारमा लागु गर्ने आँटछाँट कसैले नगरेका कारण नेपाली समाजमा रहेका समस्या हल हुनुको साटो झन् विकराल बन्दै महामारीकाे रुप लिए । नेपाली जनताको समृद्धिको सपना मृगतुष्णामा मात्र सीमित रह्यो ।

सयुक्त राष्ट्रसंघमा आबद्ध १९३ देश मध्ये अविकसित राष्ट्रको सूचीमा १४७ औं नम्बरमा रहेको अविकसित हाम्रो देश जहाँ विकासका न्यूनतम् पूर्वाधारको समेत आधारशीला तयार हुन सकिराखेको छैन । यही देशका नागरिक काम नपाएर काम खोज्दै विदेशमा भैतारिनुमा विगतका नीतिमा मात्र खोट थिएन, नेताहरुमा पनि दुरदर्शिताको अभाव थियो भन्ने नै बुझिन्छ । २०४७ सालयता बनेका सरकारहरुले बेरोजगारहरुलाई नेपाल निर्माणको अभियानमा सहभागी गराउन सकेको भए अवश्य हाम्रो विकासको दुर्दशा यस्तो हुँदैन थियो होला । अहिले सम्म ३.२ प्रतिशत भन्दा माथि उल्कन नसकेको औसत रोजगारी धेरै माथि पुगी सक्थ्यो होला ।

निरन्तरता कि क्रमभंगता ?

विगतकै निरन्तरताले वर्तमान समयको गतिलाई पक्डन कदाचित सक्दैन । कुनै न कुनैले विगतको निरन्तरताको क्रमभंगता गर्ने साहस गर्ने पर्ने हुन्छ । जसरी २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकाले ल्याएको नौ ‘स’, वृद्धवृद्धाको भरणपोषण वापत सामाजिक सुरक्षा कार्यक्रमले जनतालाई वास्तविक सरकारको अनुभूति गराएको थियो र छ ।

जहाँसम्म देशमा रहेको क्रियाशील श्रमशक्ति उत्पादनमा राज्यले लगाउन सक्दैन, त्यहाँसम्म जनताले प्रत्यक्ष अनुभव गर्ने विकासको कल्पना पनि गर्न सकिँदैन । ‘खुसी जनता, समृद्ध देश’ निर्माणको महाअभियानलाई सार्थक बनाउन जनता स्वतस्फूर्त अभियन्ता बन्ने वातावरण राज्यले निमार्ण गर्नै पर्दछ । जुन अभियानको शुरुवात वर्तमान सरकारले गरेको छ । यसले नेपालको संविधानको ब्यवहारिक कार्यन्वयनको सुरुवात भएको छ भने अर्को तर्फ गाँस, वाँसको सुनिश्चितता सहितको नेपाल निमार्णको महाअभियानमा सहगागी हुने यो पुस्तालाई अवसर प्राप्त भएकोमा देशमा जन उत्साह पैदा भएको छ ।

वास्तवमा बेरोजगारी समस्या नेपालमा प्रमुख चुनौतीको रुपमा रहदै आएको छ । यो समस्याको समाधानका निम्ति सरकार प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गरेको छ । क्षतिपूर्तिको सिद्धान्त सहित सञ्चालन हुन लागेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई तिनै तहका सरकारले आक्रमक ढंगबाट लागु गर्न सक्ने हो भने आगामी पाँच वर्षभित्र सतप्रतिशत बेरोजगारी समस्या हल मात्रै हुने छैन परन्तु देशको निर्माण पनि हुनेछ । र, नेपाली जनता खुसी, नेपाल समृद्ध पनि हुनेछ ।

(लेखक शाही नेकपा कर्णाली प्रदेश सदस्य हुन्)


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com