प्रणय-दिवसविशेष : त्याे भ्यालेन्टाइनपछि समिर काेमामै रहे‍…



प्रकाशित मिति : Feb 14, 2019
  • शरद राई

मेरो एकदमै मिल्ने साथी हाे- समिर । हाम्रो भेट कलेजमा भएको थियो। मैले प्लस टु सकेर ब्याचेलर जोइन गर्ने क्रममा । पहिलो भेटमै हाम्रो चिनजान भयो र साथी बन्यौं ।

पढाइमा हामी दुवै अब्बल थियौं । अन्य साथीहरुको तुलनामा हामी अलि बढी नै रोमान्टिक पनि थियौं । क्लासमा हाम्रो चर्चा पनि उत्तिकै हुन्थ्यो । सबैसँग बोल्ने र सबैलाई आफ्नो साथी बनाइहाल्ने हाम्रो स्वभाव थियो । यसरी नै समय बित्दै जाँदा समिर र म असल साथी बन्न पुगेका थियौं ।

हामीले यसैगरी रमाइलो गर्दै ब्याचलर दोस्रो वर्षको परीक्षासमेत दियौं । राम्रै नतिजा लिएर उत्तीर्ण पनि भयौं । समिर र म असल साथी बनेको समय पनि दुई वर्ष बितिसकेको थियो ।
परीक्षा दिइसकेपछिको छोटो बिदामा पोखरा घुम्न गएका थियौं । हामीले एक साताको छुट्टी पोखरामा मज्जाले मनायौं । फेवाताल र बेगनास तालमा पौडी पनि खेल्यौं । पोखराको सुन्दरताको आनन्द सकेसम्म लुट्यौं, रमायौं । त्यतिखेरका ती रमाइला क्षणहरुलाई सम्झँदा मलाई लाग्छ, फेरि एकपटक त्यही अवस्थामा फर्किन पाए हुन्थ्यो ।

छ वर्ष बित्यो । समिर अहिले भने बोल्न र हिँड्न सक्ने अवस्थामा छैनन् । पहिलोपटक मन पराएकी युवतीसँगै आफ्नो सारा जीवन कटाउँछु भन्ने समिर अहिले ह्वीलचेयरको सहारमा बाँच्नु परेको देख्दा मन कटक्क हुन्छ । समिरको यस्तो अवस्था हुनुको पछाडि बेग्लै कहानी छ ।

०००

म र समिर तेस्रो वर्षमा अध्ययनरत थियौं । हामी कलेज छुट्टी भएर घर फर्कनका लागि गाडी कुरिरहेका थियौं । पुसको चिसो महिना थियो । जाडोबाट बच्न बाक्लो ज्याकेटले आफ्नो शरीरलाई ढाकेका थियौं ।

नजिकै एउटी गाहुँगोरी युवती पनि कलेजबाट घर फर्किनका लागि गाडीकै प्रतिक्षामा थिइन् । हेर्दा चिटिक्क परेकी, जिउडाल मिलेकी । सोही युवतीप्रति समिर लठ्ठ बने । पहिलो दिन थियो, त्यसैले समिरले ती युवतीलाई वाच मात्र गरेका थिए । समिरले ती युवतीलाई वाच गरिहरेका थिए भने ती युवती पनि समिरप्रति बोलुँलाझैँ गरिरहेकी थिइन् । तर गाडी आइपुगेको कारण तिनिहरुको बोलचाल भने हुन सकेन ।

भोलिपल्ट पनि त्यस्तै भयो । हामी घर जानका लागि गाडी कुरिरहेका थियौं । ती युवती भने गाडी चढ्दै थिइन् । गाडी चढे पनि ती युवती समिरप्रति आकर्षित भएको आभाष हुन्थ्यो । गाडी चढिसकेपछि पनि झ्यालबाट समिरलाई नियालिरहेकी हुन्थिन् उनी ।

तेस्रो दिन भने समिरले आँट कसेरै भए पनि ती युवतीलाई बोलाउने निधो गरे । हामीले आफ्नो क्लास सकिनु आधा घण्टाअगावै घर जानका लागि भन्दै हिड्यौँ । ती युवतीलाई भेट्न गाडी चढ्ने स्थानतिर लाग्यौं । गाडी चढ्ने ठाउँ पुगेर हामी ती युवतीलाई कुरिरहेका थियौं, ती युवती पनि आइपुगिन् ।

समिरले तिनलाई बोलाउने आँट कसे । युवतीलाई पनि समिरसँग बोलौंझैं लागेको हुँदो हो । तर उनी बोलिनन् । समिरले पनि बोलाउन सकेनन् । त्यसपछि समिर र म आफ्नो कोठातर्फ लाग्यौं ।
प्रणय दिवश अर्थात् ‘भ्यालेनटाइन डे’ पनि नजिकिँदै थियो । फेब्रुअरी १४ तारिख आउनै लागेको थियो । समिरलाई मनमा उकुसमुकुस भए पनि आफ्नो प्रस्ताव युपतीसामु राख्न सकेका थिएनन् ।

भोलिपल्ट ती युवतीसँग उनकी साथी पनि देखिइन् । मैले युवतीकी साथीचाहिँलाई बोलाएर दुवैको नाम सोधेँ । उनले आफ्नो नाम कुसुम बताइन् । ती युवतीको नाम रहेछ– समिरा । उनीहरु पनि हामी जस्तै ब्याचेलर दोस्रो वर्षको परीक्षा दिएर तेस्रो वर्षमै अध्ययन गरिरहेका रहेछन् । उनीहरुको फ्याकल्टी म्यानेजमेन्ट रहेछ, हाम्रो भने मानविकी । त्यसमा पनि पत्रकारिता अध्ययन गरिरहेका थियौं ।

समिराकी साथी कुसुमसँग हाम्रो दोस्ती जम्न लागेको थियो । तर पनि समिरासँग भने कुनै बोलचाल हुन सकिरहेको थिएन । उनको एकतर्फी मायामा भिजिसकेका समिरले भने फेब्रुअरी १४ मनाउन समिराको लागि विभिन्न गिफ्टका आइटमहरु जोरजाम गरिसकेका रहेछन् ।

प्रणय दिवसका दिन कलेजले पनि विभिन्न कार्यक्रमहरु आयोजना गरेको थियो । त्यसैले बिहानै समिर कलेजतिर हान्निएका थिए । म भने केही समय ढिला हुन पुगेको थिएँ त्यसदिन ।

तर समिर कलेज पुगेका रहेनछन् । उनी बेहोस् अवस्थामा कलेज नजिकैको सडकछेउ लडिरहेका रहेछन् । कारण– समिराले पनि त्यो दिन समिरसँग प्रणय दिवश मनाउने सोचका साथ कलेजले आयोजना गरेको कार्यक्रममा केही गिफ्ट बोकेर साथ आएकी रहिछन् । तर गाडीबाट ओर्लिएर हतारहतार बाटो काट्न लाग्दा समिराको एक्सिडेन्ट भए्छ । उनको प्राणपखेरु घटनास्थलमै गएछ । समिराको त्यो दर्दनाक हालत देखेर समिर सडक छेउमै ढलेका रहेछन् ।

अझैं पनि समिर कोमामै छन् । न त उनले बोल्न नै सक्छन्, न त हिँडडुल गर्न नै । उनका अंगहरु नचल्नेगरी मस्तिष्कले काम गर्न छोडेको छ । सायद माथि कतैबाट समिराले समिरलाई आफूले भन्न नसकेका प्रेमिल भावहरुलाई ब्यक्त गरिरहेकी होलिन् । जबजब भ्यालेनटाइन डे आउँछ, मेरो मनमा समिर–समिराहरु झलझली नाच्न थाल्छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com