प्रणय-दिवसविशेष : हामीले गर्ने प्रेम कस्ताे ? के प्रेम अन्धो नै हुन्छ ?



प्रकाशित मिति : Feb 14, 2019
  • नविन कुलुङ

प्रेम भनेको के हो ? माया के हो ? माया-प्रेमका धेरै परिभाषाहरु गरिएका छन् स‌ंसारमा । प्राय: सबैको आ–आफ्नै तर्क हुन्छ । विभिन्न युगमा विभिन्न दार्शनिकहरूले प्रेमको परिभाषा आ-आफ्नो तरिकाले दिएका छन्। जसले जसरी परिभाषा दिए पनि ठिकै लाग्छ ।

नविन कुलुङ

जसले जसरी परिभाषित गर्‍यो, जसरी अनुभूत गर्याे त्यस्तै लाग्ने साँच्चै नै अचम्मको छ- माया/प्रेम । सायद तपाईँ पनि प्रेममा पर्नुभएको होला ? तपाईँले पनि प्रेमको अनुभूति सँगाल्नुभएको होला ? तपाईँले कस्तो प्रेम गर्नुभयो ? कसरी गर्नुभयो ?

‘प्रेममा कुनै रूप हुँदैन, रङ्ग हुँदैन’ यसै भन्छ प्रेममा परेका जोडीहरू, तर प्रेम एकनास हुँदैन । प्रेम पनि विभिन्न प्रकारको हुन्छन् । आमाले छोरालाई गर्ने प्रेम, बुवाले छोरीलाई गर्ने प्रेम, दाजुभाइ दिदीबहिनीको प्रेम, साथीसंगीको प्रेम आदि । तर यीमध्ये हामी अधिकांशले प्रेम भन्नेबित्तिकै प्रेमी-प्रेमकाबीचको प्रेमलाई बुझ्छाैँ । जुन सर्वथा विशेष र अन्य सबै किसिमका माया-प्रेमभन्दा भिन्नै हुन्छ ।

सबैले जीवनमा कसै न कसैलाई प्रेम गरिरहेका हुन्छाैँ । जानेर गरेका हुन्छौँ या नजानेर । भनेर या नभनेर प्रेम व्यक्त गरिरहेका हुन्छौँ । उमेर पुगेर गरेका छौँ, या उमेर नपुगी समेत गरेका हुन्छौँ । जे-जसरी गरे पनि हामीले प्रेम त गरेका छौँ, गरिरहेका हुन्छाैँ ।

भन्न त भन्छन्- ‘माया-प्रेम तुलना गर्न मिल्दैन ।’ तर पनि प्रेममा परेपछि मानिसहरु आफ्नो जोडीलाई राधा र कृष्ण, मुना र मदन, रोमियो र जुलियटसँग तुलना गर्छन् । यो जुनीमा एक हुन नसके, यो जुनीबाट चाँडै जाने र अर्को जुनी फेरेर सँगै जिउने बाचा खान्छन् ।

‘तिमीलाई मेरै लागि भगवानले यो धर्तीमा पठाएको हो, तिमीलाई त भगवानले फुर्सदको समयमा कुदी–कुदी यति राम्री बनाएको हो’ भन्दै फजुल कुरा गर्नेहरूको समेत कमी छैनन् यहाँ ।

आधुनिक समाजका युवा-युवती भन्छन्- ‘मन मिल्नुपर्याे, कुरा मिल्नुपर्याे । त्यो नै हो चोखो प्रेम ।’ तर चर्चित कवि विलियम वर्सवाेर्थले भनेका छन्- ‘साँचो प्रेम भनेको त्यो हो, जसलाई देख्नासाथै मन पराइन्छ, उ को हो ? के गर्छ ? कहाँ बस्छ ? कस्तो मान्छे हो ? कुन जात/धर्मकाे हो ? ऊसँग कुरो/विचार मिल्छ कि मिल्दैन ? यी सब कुरा गाैण हुन्छन् । किनकि उसको बारेमा केही पनि थाहा हुँदैन, तर पनि उसलाई मन पराइन्छ भने त्यो हो- साँच्चैकाे प्रेम ।’

उनी थप भन्छन्, ‘जब मान्छे कुनै मान्छेको वर्ग, पढाई, जात, पेसा, धर्म अादि कुरा जाेखेर प्रेम गर्न खाेज्छ, त्यो प्रेम नै होइन । त्यहाँ त उसकाे स्वार्थ मात्रै झल्किन्छ ।’

कोही भन्छन्, ‘नजिक हुन थालेपछि त्यही मान्छे बिस्तार-बिस्तारै मन पर्न थाल्छ । प्रेममा पर्नको लागि कसैलाई पहिलोपटक देख्दा चलचित्रमा देखाएझैँ बिछट्टै आकर्षक, स्मार्ट र सुन्दर हुनुपर्छ भन्ने हुँदैन । बोलिरहँदा उसको कुरा नसुनी उसैलाई ट्वल्ल परेर हेर्न पर्छ भन्ने हुँदैन । नजिकिँदै जाँदा, कुरा गर्दै जाँदा एक-अर्कालाई बिस्तारै महसुस गर्दै जाँदा प्रेम आफैँ उत्पन्न हुन्छ ।’

उनीहरुकाे तर्क हुन्छ- दिनहुँको भेटघाटले, छिन–छिनको मिसकलले प्रेमिल भावना र एक-अर्काकाे बाेध गर्न सकिन्छ । जब राम्ररी एक-अर्कालाई महसुस गरिन्छ, त्यसपछि सँगै बच्ने रहर पनि हुर्किँदै आउँछ ।

हुन त प्रेमकाे व्यावहारिक पक्ष पनि हेर्नुपर्छ । कुराे र कुलो जता लगे पनि जान्छ भन्छन् । प्रेममा ठूला कुराले मात्रै जीवन चल्दैन र कुलो उकालो गए पनि पानी भने जाँदैन । भन्नेहरू भन्छन्- ‘प्रेम प्राकृतिक हुन्छ, प्राकृतिक रूपमा चलिरहन्छ । सूर्यले कहिल्यै पनि विश्रान्ति नलिएजस्तै, हावाले जहिल्यै बहेजस्तै, पृथ्वीले आफ्नो अक्षांशमा परिक्रमा गरिरहेजस्तै नरोकिई निरन्तर चलिरहन्छ प्रेम । यो त निरन्तरको प्रक्रिया हो, बगिररहन्छ ।’

किन मनाइन्छ ‘भ्यालेन्टाइन डे’ ?

प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ विश्वभर नै मनाइने गरिन्छ । ‘भ्यालेन्टाइन डे’ प्रेमी जोडीहरूको लागि एकदमै महत्त्वपूर्ण दिन हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको सहादतसँग जाेडिएकाे किंवदन्ती सुन्न पाइन्छ।

तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवाहरु प्रेम र विवाहतिर लागे भने सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर प्रेम गर्न र विवाह गर्न नै प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टान भने सम्राटकाे साे निर्णयलाई धर्मविरुद्ध भन्थे । उनको बुझाइ थियो- अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् ।

त्यसैले उनले राजाज्ञाकाे अवज्ञा गर्दै प्रेम र विवाहका लागि युवाहरुलाई प्रेरित मात्र गरेनन्, युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गराइदिए । निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई.पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । यसरी प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ।

पश्चिमी मुलुकमा मनाइने यो प्रेम दिवस पछिल्लो समय नेपालकाे शहरी क्षेत्रमा पनि युवा–युवतीहरूले निकै विशेष रूपमा मनाउँदै आएका छन् ।

प्रेम साँच्चै अन्धो नै हुन्छ त ?

संसारमा धेरैले चोखो मायाको लागि ज्यान दिएका छन् र लिएको पनि छन् । त्यसैले त भनिन्छ ‘प्रेममा हरेक कुरा जायज हुन्छ, प्रेम अन्धो हुन्छ ।’

बेला-बेलामा प्रेम अन्धाे हुन्छ कि हुँदैन भन्नेमा साथीहरूबीच बहस नै चल्थ्याे । प्रेमकाे कुराे निस्कनेसाथ आत्मीय साथी रञ्जना तामाङले प्रेम कसरी अन्धाे भयाे भन्ने कथा सुनाउथिन् ।

उनी यसरी सुनाउथिन्– ‘सुन, प्रेम कसरी अन्धो भयो भने नि रिस, माया र पीडा एकदमै मिल्ने साथी थिए । उनीहरू सबै सँगै खेल्थे, सँगै घुम्न जान्थे । घुम्न गएको बेला उनीहरू एक दिन लुकामारी खेलेछन् । माया र पीडा चाहिँ लुक्न गएछन् । माया र पीडा लुक्न गएपछि रिसले उनीहरूलाई देख्नु पर्ने थियो । पीडा पर्खालभित्र लुके, माया गुलाफको बोटमुनि लुके । पर्खालमुनि लुकेको पीडालाई रिसले सजिलै देखिहाल्यो तर मायालाई भने देखेन । जति खोज्दा पनि रिसले मायालाई देख्न सकेन तर माया लुकेकाे पीडाले चाहिँ देखिरहेकाे थियाे । मायालाई नभेटेको देखेर पीडालाई रिस उठ्यो । रिसले मायालाई नदेखेपछि पीडाले मायालाई गुलाफको बोटमुनिबाट तानेर निकाल्यो । मायालाई गुलाफको बोटमुनिबाट तानेर निकाल्दा गुलाफको काँडाले मायाको दुवै आँखा घोचिदियाे । गुलाफको काँडाले मायाको दुवै आँखा फुट्यो, त्यसपछि माया अन्धो भयो । माया हिँडडुल गर्न नसक्ने भएपछि भगवनाले पीडालाई जहिले पनि मायालाई डाेहोराएर हिँड्नु पर्ने सजाय दियो, त्यसैले मायाअन्धो भएको हो । र मायाको प्रतीकको रूपमा गुलाफको फुल लिएको हो, त्यसैले त भन्छन् जहाँ माया हुन्छ त्यहाँ पीडा पनि हुन्छ ।’

प्रेममा बढ्दो विकृति

आजकाल जुन हिसाबले प्रेममा विकृति बढेको छ । म सोच्न बाध्य हुन्छु, आखिर के हो त यो प्रेम ? कसैलाई मिठा कुरा गरेर गुलाफको फूल दिँदैमा हुने हो त प्रेम ? संसारमा देखावटी प्रेमका अनेकौँ रूपहरू भेटिन्छन् ।

प्रेममा वनको बाघभन्दा मनको बाघ बडेमान हुन्छ । वनको बाघले नखाए पनि मनको बाघले सधैँ खाने गर्छ । हुन त मनको डर पनि आजीवकै हुन्छ । भिरबाट हामफालेर आत्महत्या गर्न जाने मान्छे पनि झाडीको सर्पदेखि डराउँदै जाने गर्छन् । त्यस्तै हो प्रेम पनि ।

मायामा सबै स्वीकार्य हुन्छ भन्छन् । तर आफ्नो प्रेमी/प्रेमीका कसैसँग फोनमा कुरा गरिरहेको भेट्यो भने त्यहीबाट झगडा गर्न थाल्छन् । अझ बाहिर कसै केटा/केटीसँग आफ्नो प्रेमी/प्रेमीका हिँडेको देख्यो भने त अरू के नै चाहियो र झगडा गर्नलाई ।

कसैसँग प्रेम बसेको एक वर्षपछि सोध्नु पर्छ खै तिम्रो प्रेमी/प्रेमीका भनेर । ‘खोइ खोला ? सुक्यो।’ भने जस्तै सजिलैसँग जवाफ दिन्छन् । सात जुनीसम्म पनि एक-अर्काको हुने कसम खाएकाहरू एक वर्ष पछि ‘खुट्टा भए जुत्ता जति पनि पाइन्छ ।’ भन्दै हिँड्न थाल्छन् ।

मायाले खुसी मात्रै दिदैन्, पीडा पनि दिन्छ । कहिले अतीत सम्झिँदा धुरुधुरु रुवाउँछ, कहिले त्यही अतीत सम्झिँदा मुसुक्क मुस्कुराउन पनि मन लाग्छ । दुःख बिर्साउने पनि यही अतीत र दुःख बेसाउने पनि यही अतीत भइदिन्छ । अतीतका कुनै पलाहरु मनको डायरीमा कैद भएर बसेका हुन्छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com