ओली सरकारको एक वर्ष : गफ समृद्धिको, अर्थतन्त्र धराशायी (भिडियोसहित)



प्रकाशित मिति : Feb 13, 2019

चौतर्फी ओरालोमा आर्थिक सूचकहरु

१. व्यापार घाटा बढ्यो
चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको ५ खर्ब ६९ अर्ब ४९ करोड रुपैयाँ व्यापार घाटा भएको छ । अघिल्लो आर्थिक वर्षको यहीं अवधिमा ४ खर्ब १८ अर्ब व्यापार घाटा भएको थियो । तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष एक खर्ब ७१ अर्ब रुपैयाँ बढी व्यापार घाटा हो । जुन २६.११ प्रतिशत बढी हो । व्यापार नाफा÷घाटा आयात र निर्यातको अनुपातमा विश्लेषण गरिन्छ । व्यापार घाटा बढ्नुको अर्थ निर्यात घट्नु र आयात बढ्नु हो ।

२. ३१ अर्ब शोधनान्तर घाटा
चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ८५ अर्ब रुपैयाँ शोधान्तर घाटा भएको छ । अघिल्लो आर्थिक वर्षको यहीं अवधिमा ५४ अर्ब रुपैयाँ घाटा भएको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष ३१ अर्ब रुपैयाँ बढी हो । शोधान्तर नाफा÷घाटा देशमा भित्रने र बाहिरिने रकमको अन्तरका आधारमा विश्लेषण हुन्छ ।

३. विदेशी मुद्रा सञ्चितिको स्थिति करिब उस्तै
चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा १० खर्ब ६५ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति भएको छ । अघिल्लो आर्थिक वर्षको यहीं अवधिमा १० खर्ब ८९ अर्ब रुपैयाँ विदेशी मुद्रा स्िरञ्चति भएको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष ३.३ प्रतिशतले कम हो । चालु आर्थिक वर्षको सञ्चित मुद्राले ९ महिनाको लागि आयात धान्न सक्नेछ । तर अघिल्लो अर्थिक वर्षको यही समयसम्ममा भएको विदेशी मुद्रा सञ्चितिले झण्डै १३ महिनाको आयात निर्यातलाई धान्न सक्थ्यो ।

४. वैदेशिक लगानी पनि घट्यो
चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ६ अर्ब ७८ करोड रुपैयाँ वैदेशिक लगानी भएको छ । अघिल्लो आर्थिक वर्षको यहीं अवधिमा ११ अर्ब १२ करोड रुपैयाँ वैदेशिक लगानी भएको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष पाँच अर्ब रुपैयाँ कम हो । यसले विदेशी लगानीकर्ताले वर्तमान सरकारलाई विश्वास गर्न नसकेको संकेत गर्छ ।

५. रेमिट्यान्स चाहिँ बढ्यो
चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ३ खर्ब ७६ अर्ब ५९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको यहीं अवधिमा २ खर्ब ८५ अर्ब ४८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष ९१ अर्व रुपैयाँ बढी हो । रेमिट्यान्स भनेको रोजगारीका लागि विदेश गएकाले पठाएको रकम हो । यस वर्ष वैदेशिक रोजगारीमा जानेको मात्रा ४० प्रतिशतले घटेको छ । यसले आगामी आर्थि वर्षमा रेमिट्यान्स पनि घट्ने निश्चित छ ।

६. राजश्व संकलन निराशाजनक
चालु आर्थिक वर्षमा सरकारले ८ खर्ब ३१ अर्ब ३१ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य राखेको छ । तर, आर्थिक वर्षको आधा अवधिमा ३ खर्ब ५३ अर्ब ९२ करोड रुपैयाँ मात्रै राजश्व संकलन भएको छ । लक्ष्य प्राप्तिका लागि अहिलेसम्म चार खर्ब रुपैयाँ राजश्व संकलन भइसक्नुपथ्र्यो ।

७. विकास बजेट खर्च गर्न सकेन
३ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ विकास खर्चमध्ये चालु आर्थिक वर्षको पाँच महिनामा ६९ अर्ब ७० करोड रुपैयाँ मात्रै खर्च भएको छ । जुन कुल बजेटको २२ प्रतिशत मात्रै हो । यसले विकास बजेट खर्च गर्न सरकार कमजोर भएको पुष्टि हुन्छ । र, यसवर्ष पनि आर्थिक वर्षको अन्त्यतिर हतारहतार खर्च गर्ने प्रवृत्तिको पुनरावृत्ति हुने निश्चित छ ।

८. सेयर बजारको अवस्था नाजुक
अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको सेयर बजार दिनहुँजसो खस्कँदो छ । डाक्टर युवराज खतिवडा अर्थमन्त्री भएदेखि नै सेयर बजारमा खासै सुधार आएको छैन । अर्थ मन्त्रालयले पनि सेयर बजारलाई प्रोत्साहन गरेको छैन । जसकारण सेयर बजारका लगानीकर्ता रुष्ट छन् ।

सूचका‌ंकमाथि विश्लेषण

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको पाँच महिना र चालु आर्थिक वर्षको सोही अवधिको तुलनामा प्रायः आर्थिक परिसूचक ओरालो लागेको छ । व्यापार घाटा र शोधान्तर घाटा बढेको छ । विदेशी लगानी घटेको छ ।

सेयर बजारको स्थिति नाजुक छ । जसले आमनागरिकमा सरकारप्रति निराशा बढाएको छ । दुईतिहाई बहुमतको सरकार हुँदा पनि आर्थिक परिसूचक ऋणात्मक हुनुको कारण र यसले पार्ने प्रभावबारे अर्थमामिलाका जानकार अच्युत वाग्लेको विश्लेषण यस्तो छः

  • स्थानीय सरकारलाई काम गर्ने वातावरण भएन
  • अन्तर्राष्ट्रिय जगतले सरकारलाई पत्याएन
  • कृषि उत्पादनलाई प्राथमिकता दिइएन
  • सूचकांक सुधार्ने प्रयास नै कम भयो
  • अर्थराजनीतिक दृष्टिकोणले संभावना पहिचानसमेत हुन सकेन

प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com