लगानी सम्मेलनको डेढ महिना मात्र बाँकी रहँदा पनि तयारी शून्य



प्रकाशित मिति : Feb 13, 2019

काठमाडौं । दोस्रो लगानी सम्मेलन आउन मात्रै ४५ दिन पनि छैन । तर, सरकारी तयारी शून्य जस्तै बनेको छ । झण्डै तीन महिना अघिदेखि सम्मेलनको तयारीमा जुटेको लगानी बोर्डले परियोजना बैंक बनाई लगानीकर्ता समक्ष प्रस्तुत हुने योजना अघि सारेको थियो । कस्ता–कस्ता परियोजनालाई प्राथमिकतामा राख्नेबारे बोर्ड निश्कर्षमा पुगेको पाईंदैन ।

एकातिर परियोजनाको प्राथमिकता देखिदैन भने अर्कोतर्फ आवश्यक कानून संशोधन पनि हुन सकेको छैन । सम्मेलन अघिनै लगानी सम्वन्धी १७ वटा कानून संशोधन तथा परिमार्जन गर्नुपर्ने अवस्था छ । बैदेशिक लगानी घट्दै गएका बेला विदेशी लगानी भित्र्याउन चुनौती देखिन्छ । चैत्र १५ र १६ गते तय भएको लगानी सम्मेलन वैदेशिक लगानी भित्र्याउन प्रभावकारी हुने सरकारी विश्वास छ ।

तर, तयारीको अवस्था भने पहिलो पटक आयोजना गरिएको सन् २०१७ को लगानी सम्मेलनको जस्तै छ । लगानी बोर्डले यसपटकको लगानी सम्मेलन गत वर्षभन्दा पृथक हुने बताएको थियो । यसपटक सरकारले प्रदेश, स्थानीय तहलाई समेत लगानीको क्षेत्र निर्धारण गर्न आग्रह गरेको थियो । अहिलेसम्म लगानीको क्षेत्र निर्धारण हुन सकेको छैन ।

सम्मेलन अघि संशोधन हुनुपर्ने कानूनः

  • सार्वजनिक–निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
  • –वैदेशिक लगानीसम्बन्धी विधेयक २०७५
  • –विदेशी विनिमय ऐन २०२०
  • –खानी तथा खनिज पदार्थ ऐन २०४२
  • –सार्वजनिक खरिद ऐन २०६३
  • –औद्योगिक व्यवसाय ऐन २०७३
  • –कम्पनी ऐन २०६३
  • –श्रम नियमावली २०७५
  • –वातावरण संरक्षण नियमावली २०७३
  • –पूर्वाधार निर्माण सम्वन्धी कार्यविधि

लगानी सम्मेलन सह–आयोजक अर्थमन्त्रालय पनि लगानी सम्मेलन सम्वन्धी खासै गहन तयारी भइनसकेको स्वीकार गर्छ । हाल बोर्ड सँगको सहकार्यमा मन्त्रालयले ६ वटा क्षेत्रको प्रोजेक्ट नमुनामा गहन छलफल गरेको दाबी गरेको छ ।

लगानी सम्मेलनको तयारीमा जुट्न परराष्ट्र मन्त्रालयले समेत सबै राजदुतलाई निर्देशन दिइसकेको छ । २०१७ मा भएको लगानी सम्मेलनको प्रतिवद्धता अनुरुप हाल ४ वटा क्षेत्रमा लगानी भित्रिने प्रक्रियामा रहेको बोर्डले जनाएको छ ।

करिब ३ खर्ब रुपैयाँ बराबरको हुम्ला कर्णाली २३५ मेगावाट र ३३५ मेगावाट जलविद्युत् आयोजनाको सर्भे, ७८ मेगावाटको साञ्जेन खोला जलविद्युत् आयोजना निर्माणका लागि सम्झौता भएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com