मिसिन सकेनन् पूर्व एमाले र पूर्व माओवादी केन्द्र



प्रकाशित मिति : Feb 13, 2019

काठमाडौं । एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी ( ने क पा) बन्यो । पार्टी एकताको नौ महिना हुनै लाग्दा पनि संगठनात्मक एकताको काम अझै पूरा हुन सकेको छैन । पछिल्ला दिनहरुमा पार्टी एकताको विषयलाई लिएर नेकपाका शीर्ष नेताहरु ‘नोक झोंक’मा उत्रिए ।

अहिले अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहालबीच ‘कुरा मिले’ जस्तो देखिएको छ । दुबै अध्यक्षले फरक–फरक कार्यक्रममा एकतामा षड्यन्त्र भइरहेको समान टिप्पणी गरेका छन् । तर, भावनात्मक एकता देखिन सकेको छैन ।

‘जनयुद्ध दिवस’को अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले एकतामा फाटो ल्याउन षड्यन्त्र भएकाले त्यसलाई चिर्न नेता कार्यकर्तालाई सचेत गराएका छन् । उनले दुई ठूला कम्युनिष्ट पार्टीको एकताले विश्वको ध्यान तानेको बताए ।

अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भमा पार्टीभित्र समस्या पैदा गर्ने काम भएको बताए । उनले सांकेतिक रुपमा आफू र अध्यक्ष दाहालबीच फाटो ल्याउने प्रयासलाई सफल हुन नदिने बताए ।

अध्यक्षद्वयले पार्टी एकतामा आँच आउन नदिने दाबी गरिरहँदा व्यवहारले पूर्व एमाले र माओवादी केन्द्रबीच भावनात्मक एकता हुन नसकेको देखिएको छ । धुम्बाराहीस्थित नेकपा कार्यालयमा ‘जनयुद्ध दिवस’ मनाइरहँदा पूर्व एमालेमा खासै उत्साह थिएन । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली कार्यक्रममा सहभागी भएनन् । सामाजिक सञ्जालमा सक्रिय हुने उनले ‘जनयुद्ध’ बारे एक शव्द सम्म खर्चिएनन् । नेकपाले देशभर आयोजना गरेको कार्यक्रममा जनयुद्धका अगाडि जनआन्दोलन थपिएको थियो ।

फागुन १ मा माओवादीले जनयुद्ध दिवस मनाए पनि ‘जनआन्दोलन दिवस’ मनाउने प्रचलन नै छैन । धुम्वाराहीमा पूर्व एमाले विष्णु पौडेल, सुवास नेम्वाङ लगायत केही नेता सहभागी भएपनि पूर्व माओवादीको तत्कालिन मुख्यालय पेरिसडाँडामा पूर्व एमाले सहभागी भएनन् । दाहाल पूर्व माओवादी नेता सहित पेरिसडाँडा पुगे । अर्कोतर्फ पूर्व एमाले माधव नेपालले जनकपुरमा जनयुद्ध दिवस मनाउने पार्टीको नीति नै नभएको बताए । यसले नेकपामामा भावनात्मक एकता नभएको संकेत गरेको छ ।

अध्यक्षद्वयको पार्टी फुटाउने षड्यन्त्रको समान अभिव्यक्ति फगत कार्यकर्तालाई आश्वस्त पार्न मात्र आएको होइन ? भन्ने शंका कायमै छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com