६ सय परीक्षा शुल्कमा निजी कलेजले असुल्छन् ४ हजार रुपैयाँसम्म



प्रकाशित मिति : Feb 11, 2019

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा शुल्क ६ सय रुपैयाँ तोकेको छ । तर, निजी कलेजले त्यसको ६ गुणाभन्दा बढी असुलिरहेका छन् । बोर्डको निर्देशन वेवास्ता गर्दै कलेजहरुले तीन हजार पाँच सयदेखि चार हजारसम्म परीक्षा शुल्क लिइरहेका हुन् । न्यूज–२४ ‘हेल्प डेस्क’मा प्राप्त गुनासोका आधारमा रिपोर्ट तयार पारिएको छ ।

यो काठमाडौं कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजले जारी गरेको रसिद । शीर्षक नखुलाइएको रसिदमा ३ हजार ४ सय ५ रुपैयाँ लेखिएको छ । विद्यार्थीका अनुसार यो परीक्षा शुल्क तिरेको रसिद हो ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा शुल्क ६ सय रुपैयाँ तोकेको छ । पहिलो पटक निर्धारित म्यादमा परीक्षा फारम नभरे दोस्रो पटक दोब्बर दस्तुर अर्थात् १ हजार २ सय रुपैयाँ तिरेर भर्न पाइन्छ । त्यसबाहेक शुल्क लिन पाइँदैन ।

तर, अधिकांश निजी कलेजले आफूखुसी परीक्षा शुल्क तोकेर पैसा उठाइरहेका छन् । त्यसको एक उदाहरण जेभियर कलेज नै हो । यसबारे कुरा उठाउँदा गल्ती स्वीकार्नु त कता हो कता कलेज प्रशासनले विद्यार्थीलाई नै धम्क्याउँछ ।

तीन हजार पाँच सयदेखि चार हजारसम्म परीक्षा शुल्क लिएको हाकाहाकी स्वीकार्ने जेभियर कलेजका निर्देशक लोकबहादुर भण्डारी यसबारे औपचारिक रुपमा बोल्न मानेनन् ।

जेभियरकै जस्तो मनोमानी देशैभरका कलेजले गरेका छन् । तर, उनीहरुलाई लगाम लगाउने ल्याकत सरकारी निकायसँग छैन । उता, राष्ट्रिय परीक्षा बोर्ड अनुगमनको जिम्मेवारी कानूनतः स्थानीय तहमा रहेकाले यसमा आफूले केही गर्न नसक्ने बताउँछ ।

स्थानीय सरकारले पनि यसतर्फ ध्यान नदिँदा विद्यार्थी मारमा परिरहेका छन् भने निजी कलेजको मनोमानी बढिरहेको छ । हरेक शीर्षकमा पैसा असुल्न माहिर यस्ता कलेजलाई कसले निगरानी गर्ने ?


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com