एमाले–माओवादी खोजी आवश्यक छैनः ठाकुर गैरे, केन्द्रीय सदस्य, नेकपा (भिडियो)



प्रकाशित मिति : Feb 11, 2019

काठमाडौं । गत जेठ तीन गते तत्कालीन एमाले र माओबादीबीच पार्टी एकीकरणपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । अहिले नेकपाभित्रका शीर्ष नेताहरुको आक्षेप र भनाभनले एक प्रकारको तरंग उत्पन्न भएको छ । पार्टीको तल्लो तहसम्मको एकताको प्रकृया अगाडि नबढ्दै पार्टीभित्र विभिन्न गुट, उप–गुट, शंका, उप–शंका पनि उब्जिएको छ ।

यी र यस्तै प्रकारको विभिन्न चुनौतीहरुकाबीच पार्टी कसरी अगाडि बढ्छ त लगाएतका प्रश्न उठ्न थालेका छन् । यी र यस्तै प्रकारका विभिन्न विषयमा कुराकानी गर्नका लागि न्युज २४ टेलिभिजनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य ठाकुर गैरेलाई आफ्नो स्टुडियोमा निम्त्याएको छ ।

(नेकपा)का केन्द्रीय सदस्य गैरेले भन्नुभयो, ‘गत जेठ तीन गते तत्कालीन एमाले र माओबादीबीच सार्वजनिक रुपमा पार्टी एकताको घोषणा भयो । त्यस्तै जेठ, असार र साउन तीन महिनाभित्र प्रदेश कमिटी, जिल्ला कमिटी, गाउँपालिका नगर कमिटीहरु समेत गठन गरिसक्ने र देशव्यापी रुपमा एकता सन्देशका रुपमा कार्यक्रहरु आयोजना गर्ने भनेर सचिवालयको स्थायी समितिले निर्णय गरेको थियो ।’

यसरी पार्टी एकीकरणपछि देशभित्र एक प्रकारको उत्साह जागेको उहाँले बताउनुभयो । त्यस्तै एकातिर दुई तिहाईको सरकार र अर्कोतिर पार्टी एकीकरणले देश एउटा उत्सबमय भएको थियो । तर समय बित्दै जाँदा एकीकरणमा ढिलाई हुन पुगेको उहाँले स्वीकार गर्नुभयो ।

‘पार्टी एकीकरणको प्रकृयामा ढिलाई हुने, मिटिङहरुनै आयोजना नहुने, स्थायी समितिको बैठक नबस्ने, केन्द्रीय समितिको बैठक नबस्ने, पोलिटब्युरोको गठन नहुने भएको सात महिनापछि पार्टी भित्रका आफूहरुले ६ बुँदे एउटा लिखित ज्ञापनपत्र बनाएर पार्टी अध्यक्ष लगायतका शीर्ष नेताहरुलाई भेटेर बुझाएका थियौं ।’

टिभी जर्नलिष्ट निमा काफ्लेसंग न्यूज २४ को नियमित प्रस्तुति इस्युज अफ द डे आइओडीमा कुराकानीको क्रममा उहाँले एमाले–माओबादी खोजी आवश्यक नरहेको पनि बताउनुभयो । कुराकानीको विस्तृत भिडियोमा हेर्नुहोस्ः


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com