धनगढी प्रिमियर लिग डीपीएलको उद्घाटन, बर्षाको कारण खेलहरु भने सोमबारदेखि मात्र हुने



प्रकाशित मिति : Feb 09, 2019
  • दीपक उपाध्याय,

माघ २६, कैलाली । धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको शनिबार उद्घाटन गरिएको छ । सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले एक समारोहका बीच लिगको तेस्रो संस्करणको उद्घाटन गर्नु भएको हो । उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले प्रतियोगितालाई र फाप्लालाई अन्तराष्ट्रिय मैदान बनाउनका लागि प्रदेश सरकार गम्भीर भएको भन्दै यसलाई प्रदेशको गौरवको आयोजनाका रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बर्षाका कारण प्रतियोगिता उद्घाटन भएपनि खेलहरु भने सोमबारदेखि मात्रै सुरु हुने आयोजकले जानकारी दिएको छ । लगातारको बर्षाले फाप्ला मैदान हिलाम्मे भएपछि खेल दुई दिन सारिएको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले जानकारी दिनुभयो ।

दुई दिन खेल सारेसँगै नयाँ खेल तालिका पनि सार्वजनिक गरिएको छ । सोमबारदेखि दैनिक दुई वटा खेल हुनेछन । पहिलो खेलमा धनगढी स्टार्स र काठमाडौं गोल्डेन्स भिड्नेछन् । यस्तै दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर यूनाइटेड खेल्नेछन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट मान्यता प्राप्त प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ । टी –२० फरम्याटमा खेलाईने प्रतियोगिताको लिग चरणमा प्रत्येक टिमले एक आपसमा एक–एक खेल खेल्ने छन् । शिर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसंगको विजेतासंग फाइनल प्रवेशको लागि खेल्नेछ ।

प्रतियोगिताका लागि ५ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ । यस्तै आयोजकले दर्शकहरुका लागि टिकट दर लिग चरणमा ५०, प्ले—अफमा ७० र फाइनलमा १०० रुपैयाँ तोकेको छ । टिकट बिक्रीको २० प्रतिशत रकम फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट निर्माण अभियान (ड्रिम फाप्ला) लाई छुट्याइने तथा ४० प्रतिशत रकम सहभागी टिमलाई प्रदान गरिनेछ ।

पवन अग्रवाललाई ‘धनगढी क्रिकेट सम्मान’ र सुनोज भट्टराईलाई ‘अर्जुन खड्का स्मृति सम्मान’

धनगढी क्रिकेट एकेडेमीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पवन अग्रवाल र प्रशिक्षक सुनोज भट्टराई सम्मान गरेको छ । शनिबार तेस्रो संस्करणको डीपीएलको उद्घाटन समारोहमा एकेडेमीले अग्रवाललाई ‘धनगढी क्रिकेट सम्मान’ र भट्टराईलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ बाट सम्मानित गरेको हो ।

सम्मान स्वरुप दुवैलाई एक एक लाख रुपैयाँ प्रदान गरिएको थियो । सम्मानित भएका भट्टराई नेपालको पहिलो आधिकारिक प्रशिक्षक हुन् । भट्टराई सन् १९९६ मा मलेसिया भएको एसीसी ट्रफीमा नेपाली टिमको प्रशिक्षक भएर गएका थिए ।

पुरस्कार लिदै प्रशिक्षक भट्टराईले डीपीएलले गरेको सम्मानबाट आफु खुसी भएको बताउनुभयो । पुरस्कार लिदै पूर्व कप्तान अग्रवालले आफुले पाएको एक लाख रुपैयाँ फाप्ला क्रिकेट मैदान निर्माणका लागि दिने घोषणा गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com