इपीजीको प्रतिवेदन चाँडै कार्यान्वयन आउँछः भारतका लागि नवनियुक्त राजदूत आचार्य



प्रकाशित मिति : Feb 08, 2019

काठमाडौं, २५ माघ । भारतका लागि नवनियुक्त नेपाली राजदूत निलाम्बर आचार्यले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन दुवै देशका सरकारले बुझ्ने र छिट्टै कार्यान्वयनमा जाने विश्वास व्यक्त गर्नु भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कारमा नवनियुक्त राजदूत आचार्यले ईपिजीको प्रतिवेदन तयार हुनु नै ठूलो उपलब्धि भएको बताउनु भयो । उहाँले प्रतिवेदन तयार हुनु नै ठूलो उपलब्धि भएको बताउँदै यो भन्दापनि अगाडि बढ्दा दुई देशका बीचमा उच्चस्तरबाट सहमति हुनु, १९५० को सन्धिलगायत सम्पूर्ण सन्धि, सम्झौताहरुको पूरावलोकन गरेर के के कुरामा कस्तो सुधार गर्नुपर्छ भनेर त्यसलाई हेर्न सहमत हुनु पनि उपलब्धि भएको चर्चा गर्नुभयो । नेपाल–भारत सम्बन्ध पुनरावलोकन गरेर राम्रो बनाउनुपर्छ भन्ने दुबै देशका शीर्ष नेताहरुबीच सहमतिका साथ ईपीजी गठन भएको पनि उहाँको भनाइ थियो ।

साक्षात्कारमा राजदूत आचार्यले ईपीजीले तोकिएकै समयसिमा भित्र प्रतिवेदन तयार पारेको स्पष्ट पार्नुभयो । उहाँले इपीजी गठन गर्नकै निमित्त नेपालबाट ४ र भारतबाट ४ गरी ८ जनाको नियुक्ती भएको चर्चा गर्दै भन्नुभयो ‘कतिपयले प्रतिवेदन बनाउँदैन कि भन्नेथियो । तर, साझा र सहमतिको प्रतिवेदन तयार भयो । दुई वर्षको कार्यकाल थियो । कार्यकालभित्रै टुँग्यायो ।’

आचार्यले ६ महिना बितिसक्यो तर समयमै प्रतिवेदन बुझाउन सकिएन भनेर भन्नु भन्दापनि केही समय धैर्यता गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले अगाडि भन्नुभयो,‘प्रतिवेदन बुझ्दैनन् । बुझ्न सकिँदैन भनेर शंकै शंकामा पर्ने हो भने त्यसको उपाय निस्कँदैन् । केही अप्ठ्याराहरुलाई हामीले बुझिदिएर धैर्य साथ काम गर्नुपर्छ । बुझ्दैनौं त भनेको छैन नि । अध्ययन गर्दै होलान् । हेर्दै होलान् । उपयुक्त वातावरणमा र उपयुक्त समयको पर्खाईमा होलान् ।’

यद्धपि उहाँले ईपीजीको प्रतिवेदन दुवै देशको सरकारसमक्ष पेश भैसकेपछि अनि सरकारले यसलाई अध्ययन गर्ने वा कार्यान्वयन गर्ने वा जे गर्ने हो सरकारले गर्ने तर्क गर्नुभयो ।

भारतसँगको नेपालको व्यापार घाटा कम गर्नका निम्ति भारतबाट नेपालमा संयुक्त आयोजनाहरुमा लगानी गरेर उत्पादन बढाउनुपर्ने उहाँको धारणा छ । उहाँले भन्नुभयो,‘उत्पादन बढाएर हाम्रा वस्तुहरु त्यहाँ निर्यात गर्नुपर्छ । अहिलेकै समयमा पनि सिमामा के कति अप्ठ्यारा छन् ? धेरैजसो क्वारेन्टाईनको समस्या छन् । धेरैजसोले अन्य झन्झटहरु छन् भन्छन् । के कति अप्ठयारा छन्, तीनलाई हल गर्नुपर्छ ।’

भारतसँगको मित्रता बलियो पार्न र दुई देशबीचको सम्बन्धमा केही दुरी छ भने त्यसलाई कम गर्नको लागि आफु केन्द्रित हुने उहाँको भनाइ छ । राजदूत आचार्यले भारतले नेपालको विकासमा साझेदारको रुपमा धेरै सहयोग गरेको भन्दै प्रशंसा पनि गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com