१६ माघ २०७५, बुधबार

काठमाडौं । रुस्लान धनगढी प्रिमियर लिगको टोली महेन्द्रनगर युनाइटेडले यूएईका कप्तान मोहम्मद नाबिदलाई अनुबन्ध गरेको छ । तेस्रो संस्करणका लागि महेन्द्रनगर युनाइेटडले विदेशी खेलाडीको कोटामा नाबिदलाई अनुबन्ध गरेको हो ।

नियमित कप्तान रोहन मुस्तफालाई यूएई क्रिकेट बोर्डले ८ हप्ताका लागि निलम्बन गरेपछि नेपालविरुद्धको तीन एकदिवसीय अन्तर्राष्ट्रिय र तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नाबिदलाई कप्तानको जिम्मेवारी दिईएको छ । माघ २६ गतेबाट धनगढी स्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगितामा महेन्द्रनगर युनाइटेडबाट नाबिदले खेल्नेछन् ।

डिपिएलमा सहभागी ६ टोलीले अनिवार्य रूपमा दुई विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने अनुसार महेन्द्रनगर युनाइटेडले नाभीदलाई अनुबन्ध गरेको युनाइटेडका सहमालिक म्यानेजर निरज चन्दले जानकारी गराउनु भयो । माघ ६ गतेदेखि सुरु हुने प्रतियोगितामा महेन्द्रनगर युनाइटेडको कप्तानी शरद भेषावकरले गर्दैछन् ।

महेन्द्रनगर युनाइटेडले अर्को विदेशी खेलाडी पनि छिट्टै भित्र्याउने जनाएको छ । “अनुभवी नाभीदको आगमनले टिमलाई थप मजबुत बनाएको छ । नाभीदले बलिङसँगै राम्रो ब्याटिङ पनि गर्न सक्छन् । युवा खेलाडीको बाहुल्य रहेको हाम्रो टोलीमा नाभीदको अनुभवले प्रतियोगितामा महेन्द्रनगरले अझ राम्रो गर्नेमा आशावादी भएका छौं,” महेन्द्रनगरका युनाइटेडका म्यानेजर निरज चन्दले बताउनु भयो।

३१ वर्षे नाभीद तिव्र गतिका बलर हुन् । बलिङसँगै उनी ब्याटिङमा पनि उत्तिकै दख्खल राख्छन् । नाभीदले युएईका लागि ३५ एकदिवसीय अन्तर्राष्ट्रिय तथा २३ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट तथा ट्वान्टी–२० अन्तर्राष्ट्रियमा २३ विकेट लिइसकेका छन् । महेन्द्रनगर युनाईटेडको कप्तानी शरद भेषावकर गर्नेछन ।

खेलाडीहरुमा आरिफ शेख, रोहितकुमार पौडेल, अभिनाश बोहरा, अमरसिंह रौटेला, सागर ढकाल, दिलिप नाथ, सिद्धान्त लोहनी, शाहब आलम, कुशल मल्ल, दिपेन्द्र चन्द, सन्तोष भट्ट, सुशील खड्का (ट्यालेण्ट हन्टबाट छनोट), र बिदेशी खेलाडीको कोटामा मोहम्मद नाबिदलाई अनुबन्ध गरिएको हो अझै एकजना बिदेशी खेलाडीको कोटा खालिरहेको छ । त्यो कोटा पनि छिट्टै पूरा हुने टिम मालिक अशोक पाण्डेले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV