१६ माघ २०७५, बुधबार
  • नविन कुलुङ

काठमाडाैं । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै देशभर आज शहिद दिवस मनाइँदै छ । प्रत्येक वर्ष माघ १६ गते शहिद दिवसको रुपमा मनाउँदै आएका छौँ ।

शहिद भन्नासाथ हाम्रो मस्तिष्कमा जहानियाँ राणा शासन फालेर जनतालाई प्रजातन्त्र दिलाउन ज्यान दिने शुक्रराज शास्त्री, गंगालाल, धर्मभक्त, दशरथ चन्दको नाम याद आइहाल्छ । राणा शासनविरुद्ध आवाज उठाएको अभियोगमा यी चार जनालाई मृत्युदण्ड दिइएकाे थियाे । उनीहरूलाई २००७ सालमा प्रजातन्त्र स्थापनापछि सहिद घोषणा गरी माघ १६ गते शहिद दिवस मनाउन थालिएको हाे ।

गोरखा, बुंकोट विद्रोहका नायक लखन थापामगर नेपालका प्रथम सहिद मानिन्छ । नेपाल सरकारले उनलाई २०५६ साल फागुन ११ गते सहिद घोषणा गरेकाे थियाे ।

वीर शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ एवं दशरथचन्द ठकुरीलाई माघ १५ गते शोभा भगवतीमा झुण्डयाएर मृत्युदण्ड दिएको थियो ।

शहिद दिवसको अवसरमा सबैले सम्झिने भनेको कवि भूपि शेरचनको दुई लाईन कविता हो ।

‘हुँदैन विहान मिर्मिरे तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपुत मरेर नगए’

शहिद दिवसको अवसरमा यो कविता सामाजिक सञ्जालभरी छाएको देखिन्छ । उनले परिवर्तनका लागि केही मान्छेहरू नमरी सम्भव नहुने कुरा आफ्नो कवितामार्फत दर्शाएका थिए । उनकाे कविताकाे एक अंशले हरेक दिन गगनका तारा झरेर अनि सूर्यको प्रकाशको पदार्पण सहित मान्छेले आफ्नो दैनीकि शुरु गरेजस्तै मुलुक बन्नका लागि पनि हरेक ऐतिहासिक कालखण्डमा वीर सपूतहरुको वलिदान चाहिन्छ भन्ने तात्पर्य बुझाँउछ ।

दल पिच्छेकै ‘सहिद’

पछिल्लो समय सरकारले आफूखुसी शहिद घोषण गर्न थालेको पाइन्छ । खासगरी लोकतन्त्र स्थापनापछि सरकारले सडक प्रदर्शनको दबाब र जुन पार्टी सरकार सत्तामा गयो आफ्ना कार्याकर्तालाई सहिद घोषणा गर्ने प्रवृत्ति छाएको छ ।

अहिले त सहिद घाेषणा गर्ने हाेडबाजी नै चलेको छ । सरकारले प्रत्येक वर्ष आफूअनुकूल शहितको संख्या थप्दै गएको छ । हिजाे मत्रै प्रधानमन्त्री केपी शर्मा ओलीले २८७ जनालाई सहिद घोषणा गर्नु भयाे । सशस्त्र प्रहरीको १८औं वार्षिकोत्सवमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै द्वन्द्वका क्रममा मारिएका सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागकालाई सहिद घोषणा गर्नुभयाे ।

राजनीतिक दलहरूले आफ्नो कार्यक्रतालाई धेरै शसिद घोषण गरेका पाइन्छ । देशको लागि बलिदानी दिने भन्दा पनि आफ्नो पार्टीका लागि सडकमा आगो बाल्ने, टायर जलाउने, तोडफोड गर्नेहरुलाई शहिद घोषण गदै आएको पाइन्छ ।

पछिल्ला समय कर्मचारी सहिद, धार्मिक सहिद, पत्रकार सहिद, गाडीको ठक्करबाट मरेका खोलामा बगेरमा मरेका, हिडदा हिड्दै मरेकाहरू पनि सहिदको सूचिमा थपिएका छन । कहि केही झगडामा कसैको मृत्यु भयो भने पहिलो माग भनेको मृतकलाई सहिद घोषणा माग गर्छन् । अनि मात्रै लाख क्षतिपूर्तिको कुरो हुन्छ ।

माओवादीको नाममा मारिने सहिद, एमालेको नाममा मारिने सहिद, कांग्रेसको नाममा मारिने सहिद, मधेशीको नाममा मारिने सहिद, जनजातिको नाममा मारिने सहिद, दलितको नाममा मारिने, धर्मका नाममा मारिने पनि सहिद । जो जसरी मारिए पनि सहिद । हजारौं हजार शहिद घोषणा भएको देशमा कसलाई कसरी कुन रूपमा शहिद मान्ने ? अनि कसरी दिबस मनाउने ?

तत्कालीन नेकपा माओवादीबाट पुष्पकमल दाहाल पहिलोपटक प्रधानमन्त्री भएका बेला २०६५ पुस ९ गते ६ हजार तीन सय ४४ जनालाई सहिद घोषणा गरियो। दाहाल नेतृत्वको सरकारले यतिधेरै संख्यामा सहिद घोषणा गरेको हो ।

त्यसपछि तत्कालीन नेकपा एमालेबाट प्रधानमन्त्री बनेका माधवकुमार नेपालको पालामा २०६७ असारमा एक हजार ६ सय २६ जनालाई सहिद घोषणा गरिएको थियो।

त्यस्तै २०७३ साउन ३० गते शेरबहादुर देउवा नेतृत्वको सरकारले तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा भएको मधेस आन्दोलनका क्रममा मृत्यु भएका सहित ६८ जनालाई सहिद घोषणा गरेको थियो। त्यतिबेला १२ सुरक्षाकर्मीलाई पनि सहिद घोषणा गरियो। देउवा नै प्रधानमन्त्री भएका बेला २०७४ पुस २८ गते पञ्चायती सरकारले छिन्ताङमा हत्या गरेका १६ जनालाई पनि सहिद घोषणा गरियो।

सच्चा शहिदकाे अवज्ञा

दल विशेष वा दलका नेताका संरक्षणमा रहेका गुण्डाहरू अकालमा मारिए पनि सरकारले शहिदको मान्यता दिन थालेपछि सच्चा शहिदकाे अवज्ञा हुन थालेकाे छ । सरकारले हचुवाका भरमा सहिद घोषणा गर्न थालेको भन्दै विज्ञहरूले आपत्ति जनाउँदै आएका छन् ।

अहिले मूलुकमा शहिदको संख्या झण्डै १२ हजार पुगेको छ। यसले गर्दा मुलुकका लागि जीवन उत्सर्ग गरेका व्यक्तिहरूलाई दिइएको उच्च सम्मानस्वरुप दिइने शहीदको उपाधिको अवमूल्यन हुदै गएको छ । हजारौं हजार शहिद घोषणा भएको देशमा कसलाई कसरी कुन रूपमा शहिद मान्ने ? अनि कसरी दिबस मनाउने भन्ने नै अन्यौल छाएको छ ।

कम्युनिस्ट आन्दोलनका नेता हस्तबहादुर केसीले नै भनेका छन्, ‘कहिले नेपाली काँग्रेस र कहिले कम्युनिस्टहरू आलोपालो गरी सत्तामा पुगे । राजाहरूले निरङ्कुश व्यवहारबाट जनतामाथि दमन गर्दै शासन गरे तर काँग्रेस–कम्युनिस्ट भने जनताको सरकार चलाउने अनि शहीदहरूका सुन्दर सपना साकार पार्ने गुलिया नारा उराल्दै र चिप्ला कुरा गर्नमा बढी अभ्यस्त देखिएका छन् ।’

पछिल्लो समयमा शहिद शक्तिकाे आधारमा घाेषणा गरेकाे पाइन्छ । शक्ति प्रदर्शनबाट राजनीतिक दल वा संगठनहरूले शहिदका नाममा मागिखाने भाँडो बनाइएको देखिन्छ । आफ्नो दुनो सोझाउने, दुई चार पैसा कमाउने खेल पनि शहिदको नाममा भइरहेको छ यसलाई पबित्र भावनाले भन्दा पनि कमाउने धन्दा, ब्यापार बनाउने काम पनि गरिरहेको सबैले बुझिरहेका छन् । 

सीमित वर्ग, समुदाय, पार्टी वा संगठनको हितमा मात्रै उनीहरूको नाम बेचिने हो भने जो सहिद घोषित बन्दै जान्छन्, उनीहरूले रगत बगाएको के अर्थ ?  

शहिदका परिवार भन्छन्- ‘वास्तविक शहिदको अपमान भयो’

देशका लागि बलिदान दिने वास्तविक शहीदको पहिचान गर्न शहीद परिवारले माग गरेका छन् । जथाभावी शहीद घोषणा गर्ने परिपार्टीले वास्तविक शहिदको अपमान भएको उनीहरुको गुनासो छ ।

राणाशासन र राजतन्त्रको अन्त्य गर्न वीर शहिदले दिएको बलिदानीका कारण आज मुलुकले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरे पनि शहीदको रगतको पनि सम्मान हुन नसकेको
शहिद परिवारकाे गुनासो छ ।

देश र जनताका लागि आफ्नो जीउज्यानको पनि माया नगरी हाँसीहाँसी शहादत प्राप्त गर्ने व्यक्तिलाई मात्र शहिद घोषणा गर्ने प्रावधान राख्न शहीद परिवार सुझाव छ । शहिदको बलिदानीका कारण प्राप्त गणतन्त्रात्मक शासनमा शहिदलाई सम्मान गर्नुका सट्टा आजको दिनमा दिइँदै आएको सार्वजनिक बिदा पनि कटौती गरिएकोमा शहीद परिवारले आपत्ति जनाउदै आएका छन् ।

आवश्यक मापदण्डबिना हचुवाका भरमा सहिद घोषणा गर्दा वास्तविक सहिदप्रति अपमान महसुस भएको शहिद परिवारले गुनासाे छ ।

शहिदप्रतिको सरकारको सोचाइ आजसम्म पनि निर्दलीय निरंकुश कालकै सेरोफेरोमैे छ। यसबाट माथि उठेर सरकारले देशमा आएको परिवर्तनलाई महसुस गर्नुपर्छ। परिवर्तनको संवाहक सहिद हुन् भन्ने यथार्थ मनन गर्नुपर्छ। प्रत्येक वर्षको सहिद दिवसमा सहिदहरूको स्मरणमा कहाँकहाँ कुनकुन कार्य भए भन्ने विवरणको जानकारी समस्त नेपाली जनतालाई दिनुपर्छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV