१४ माघ २०७५, सोमबार
  • उत्तम पौडेल,

पोखरा,१४ माघ । पोखरा महानगरपालिका वडा नं १४ स्थित बाच्छेबुडुवामा अबैध रुपमा सञ्चालनमा आएको क्रसर एकाएक बन्द भएको छ । पोखरा महानगरपालिकाले कृषि योग्य जमिन सम्याउने र त्यहाँबाट निस्किएको माटो ढुंगा र गिटी पोखरा क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थलमा दिन पाउने गरि २०७४ माघ २२ देखि २०७४ चैत्र ३० सम्मका लागि अनुमति दिएको थियो ।

रामजी कार्की , रोम बहादुर कार्की , थमन कार्की र कृति कार्कीको नाममा रहेको २७ रोपनी क्षेत्रफल रहेको जग्गामा चैत ३० सम्मका लागि अनुमति दिइएको भएता पनि उनीहरुले सार्वजनिक जग्गामा समय सीमा नाघिसक्दा पनि अबैध रुपमा क्रसर सञ्चालन गरेको भन्ने समाचार सम्पे्रषण भएपछि क्रसर एकाएक बन्द भएको छ । खोलासँग जोडेर गिट्टी बालुवा निकालिएको भएता पनि यहाँ कसैको ध्यान गएको थिएन । ०७४ चैत ३० गते साँझ ५ बजेसम्मलाई दिइएको अनुमतिको आडमा हालसम्म उक्त स्थानबाट नदी तथा सार्वजनिक सामग्री उत्खनन गरि अबैध क्रसर सञ्चालन गर्दै लुटको खेती गरिरहेका थिए ।

एकातिर आइइइ रिपोर्ट नै आएको छैन तर क्रसर कम्पनीले नदीजन्य सामग्री मनलाग्दी ढंगले उठाइरहेको थियो । न्यूज २४ टेलिभिजनको सीधाकुरा जनतासँग कार्यक्रममा रिपोर्ट प्रसारण भएसँगै प्रदेश अनुगमन समितिको निर्देशनमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले सो क्रसरमा तालाबन्दी गरेको छ । आइ इइ रिपोर्ट नआएको कारण क्रसर उद्योग बन्द भएको क्रसरमा डोजर भाडामा लगाएका वडा नं १४ का वडा अध्यक्ष प्रेमबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार क्रसरले महानगरलाई बुझाउनु पर्ने बक्यौता रकम तिरेर सञ्चालनमा ल्याइने छ ।

नियमसंगत चलेको भन्ने तपाइको पहिलाको भनाइ त झुट साबित भयो नि भन्ने न्यूज २४ को प्रश्नमा उहाँले महानगरपालिकाले आइइइ रिपोर्ट नल्याइ राजश्व नलिने भनेपछि क्रसर चलेको र कस्ले बन्द गर्न लगाएको आफुलाई कुनै जानकारी नभएको वडाध्यक्ष कार्कीको जिकिर छ ।

कार्कीका अनुसार आइ इइ रिपोर्टले मात्र क्रसर सञ्चालनमा रोक लगाइएको भनेको भएता पनि क्रसरले कुनै पनि सम्झौता कार्यावयन गरेको छैन । तर उद्योग वन तथा वातावरण मन्त्रालयका अनुसार वातावरणमा सीधै असर गर्ने भएको हुँदा फौजदारी मुद्धा अन्तर्गत बिगो खुलेमा बिगो बराबरको रकम र बिगो नखुलेमा १० लाख सम्म जरिवाना रकम सहित क्रसर बन्द गर्नुपर्ने प्रावधान रहेको छ ।

अब हेर्न बाँकी यो छ कि प्रदेश अनुगमन समितिले निर्देशन दिएको यो कार्यमा कस्लाई कति कारवाही हुन्छ ?

प्रतिक्रिया दिनुहोस्
LIVE TV