१४ माघ २०७५, सोमबार

काठमाडाैं । एफए कपको चौथो चरणमा क्रिष्टल प्यालेससँग पराजित भएपछि टोटनह्याम दोस्रो नकआउट प्रतियोगिताबाट बाहिरिएको छ ।

चेल्सीसँग पेनाल्टी शुटआउटमा टोटनह्याम गत बिहीबारको खेलमा पराजित हुँदै लिगको सेमिफाइनलबाट बाहिरिएको थियो । क्रिष्टल प्यालेस बिरुद्ध ३५ मिनेटभित्रै २ गोलले पछि परेको टोटनह्याम खेलमा फर्कन सकेन ।

कनर विकह्यामले क्रिष्टल प्यालेसका लागि सन् २०१६ को नोभेम्बरयता पहिलो गोल गर्दा नवौं मिनेटमै टोटनह्याम एक गोलले पछि परेको थियो । टोटनह्यामकै पूर्व मिडफिल्डर आन्द्रोस टोनसेन्डले पेनाल्टीमार्फत ३४औं मिनेटमा क्रिष्टलका लागि दोस्रो गोल गरेका थिए ।

पहिलो हाफको अन्त्यतिर टोटनह्यामले पेनाल्टीको अवसर पाएको थियो । तर, केरियन ट्रिपरको प्रहार बाहिरिएपछि टोटनह्यामले गोल अन्तर कम गर्ने अवसर गुमाएको थियो ।

टोटनह्यामले दुई खेलमा तेस्रो पटक पेनाल्टी गुमाएको हो । बिहीबारको खेलमा चेल्सीबिरुद्ध लुकास मोउरा र एरिक डायरले पेनाल्टीमा गोल गर्न चुकेका थिए । ०००

प्रतिक्रिया दिनुहोस्
LIVE TV