१४ माघ २०७५, सोमबार

काठमाडाैँ । संयुक्त अधिराज्य अमेरिकाले भेनेजुयलाकाे पछिल्लाे राजनैतिक घटनाक्रमबारे नेपाल सरकारको ‘आधिकारिक’ धारणा के हाे भन्दै जवाफ माग गरेकाे छ ।

सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुयलामा अमेरिकी नीतिको विरोध गर्दै वक्तव्य जारी गर्नुभएको थियो । उहाँको वक्तव्यमा राष्ट्रपति निकोलस मडुरोको समर्थन र अमेरिकालगायत पक्षधर राष्ट्रको विरोध रहेको छ ।

सत्तारूढ दलका अध्यक्षले जारी गरेको विज्ञप्तिलाई ‘नोटिस’ मा लिएको भन्दै नेपालस्थित अमेरिकी दूतावासले परराष्ट्र मन्त्रालयसँग यसबारे सरकारको आधिकारिक धारणा प्रस्ट पार्न आग्रह गरेको हो ।

भेनेजुयेलाकाे राष्ट्रिय सभाका अध्यक्ष जुवान गुइडोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि त्यहाँ राजनीतिक संकट चुलिएको छ ।

भेनेजुयलाको संकटलाई लिएर विश्व महाशक्ति राष्ट्रहरू दुई ध्रुवमा विभाजित भएका छन् । अमेरिका र उसका पक्षधर राष्ट्रले गुइडोलाई समर्थन गरेका छन् । रुस, चीन, भारत, टर्कीलगायतले राष्ट्रपति वैधानिक चुनावी प्रक्रियाबाट निर्वाचित भएको भन्दै मडुरोलाई समर्थन गरेका छन् ।

यही सन्दर्भमा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्डले पनि विज्ञप्ति जारी गर्दै मडुरोको समर्थन गरेका थिए । उनकाे याे वक्तव्य आएपछि त्यसकाे पक्ष र विपक्षमा बहस सृजना भएकाे छ । कतिपयले भेनेजुयेलामाथि अमेरिकी हस्तक्षेपकाे विराेधमा अाएकाे साे वक्तव्य सही भनेका छन् भने कतिपयले चाहिँ वक्तव्य कूटनीतिक मर्यादाविपरीत रहेकाे टिप्पणी गर्दै यसले अमेरिकासँग नेपालकाे सम्बन्ध कमजाेर हुने बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV