
हेटौंडा । शनिबार बारामा भएकाे सवारी दुर्घटनामा परी सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक एसपी बलराम पाेखरेलकाे मृत्यु भयाे । हुन त दुर्घटना कसैकाे इच्छाले हुन्न तर कहिलेकाहीँ यस्ता संयाेगहरु देखापर्छन्- जहाँ कुनै व्यक्तिले जानअन्जान वा ख्यालठट्टामै पनि व्यक्त गरेका कुराकाे कन्नेक्सन सत्य घटनासँगै गएर जाेडिन्छन् ।

करिब चार महिनाअघि एसपी पाेखरेलले अाफ्नाे फेसबुकमा ठट्याैली एवं कवितात्मक पारामा एउटा स्टाटस लेखेका थिए । जुन अहिले अाएर भाइरल हुँदै छ । उनले अाफ्नाे अन्तिम इच्छा अब ‘स्वर्गकाे वास’ भएकाे स्टाटसमा लेखेका छन् । उनकाे साे स्टाटसले जीवनमा सबैथाेक पाइसकेकाे जनाउँछ । अर्थात् जीवनदेखि उनी सन्तुष्ट थिए, अघाइसकेका थिए । उनकाे मनमा त्यतिखेर (स्टाटस लेखिरहँदा) के कुरा थियाे, किन यस्ताे भावकाे स्टाटस लेखे ?

यसै साल उनले राष्ट्पति विद्यादेवी भण्डारीबाट सुप्रबल जनसेवा श्री पदक पाएका थिए । त्यसअघि उनले गाेरखा दक्षिणबाहु पनि पाएका थिए । पछिल्लाे पदक पाएपछि उनले साे स्टाटस गत सेप्टेम्बर ४ मा पाेष्ट गरेका थिए ।

के एसपी पाेखरेललाई मृत्युकाे पूर्वाभास थियाे या उनलाई मृत्युइच्छा थियाे ? शनिबार जब पिकनिकमा रमाइलाे गरी फर्कने क्रममा सरकारी गाडी नै दुर्घटनामा परी उनकाे मृत्यु भयाे, यस घटना धेरैले विक्षिप्त बनाएकाे छ र साथसाथै उनकाे उल्लिखित स्टाटसका कारण अनेक प्रश्न समेत सृजना गरिदिएकाे छ ।
पोखरेलको दुर्घटनामाम अप्रत्यासित मृत्यु भएपछि उनका शुभचिन्तक धेरैले उनैले लेखेकाे उक्त कवितात्मक स्टाटसलाई स्क्रिनसट गरेर ‘स्वर्गकाे वास हाेस्’ भन्दै श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

विशेषगरी उनी सशस्त्र प्रहरी बल सुरक्षा बेस हेटौंडाकाे प्रमुख भएर अाएपछि उनी यहाँका लागि लाेकप्रिय बनेका थिए । २०७२ सालकाे भूकम्पपछिकाे उद्धारका लागि हाेस् या हेटाैँडा जलमग्न हुँदा हाेस् उनले जनताकाे सेवामा अहाेरात्र टाेली खटाएका थिए । यहाँ अाएपछि उनले अनेक काेशिस र सहयाेग मागेर सशस्त्र प्रहरीको आफ्नै भवन बनाउन सफल भए, उनी अाउँदासम्म सशस्त्र प्रहरी बल जिल्ला सुरक्षा बेस मकवानपुर भाडाको घरमा बस्थ्यो ।

भूकम्पले हेटौंडाका चर्किएका घरहरु भत्काउने, घाइतेहरुको उद्दार, राहत वितरणमा उचित व्यवस्थापन र सुरक्षा प्रदान गर्न अहोरात्र खटिएका पाेखरेलकाे याेगदान र मिजासिलाे स्वभावलाई यहाँका जनताले अहिले सम्झिरहेका छन् ।
बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईसँगै कर्मचारी मिलन केन्द्रको पिकनिक सकाएर फर्किने क्रममा पसाहा खोलाको बाटोमा रोकेर राखेको नम्बर नखुलेको ट्र्याक्टरको टेलरमा बा १ झ १६३३ नम्वरको प्रजिअ भट्राई चढ्ने स्कर्पियो ठोक्किएर दुर्घटना भएकाे बताइएकाे छ । एसपी पाेखरेलकाे घटनास्थलमै मृत्यु भयो भने गम्भीर घाइते भएका प्रजिअ भट्टराईको हाल काठमाडाैँमा उपचार भइरहेको छ ।