१३ माघ २०७५, आईतवार

काठमाडौँ । अबको २वर्षभित्र १ हजार ३ सय ८१ मेगावाट विद्युत प्रणालीमा जोडिदै छन् । चालु आर्थिक बर्षभित्रै ३ सय ५८ र अर्को आर्थिक बर्षमा १ हजार २३ मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएको प्राधिकरण विद्युत खेर जाने डरमा थियो । तर भारतसँगको ‘इनर्जी बैंकिङ’ ले विद्युत खेर जानबाट जोगाएको छ ।

यतिबेला विद्युत भण्डारण अर्थात ‘इनर्जी बैंकिङ’को चर्चा चलेको छ । नेपालमा बर्खायाममा बढि भएको विद्युत भारतलाई दिने र आवश्यक पर्दा ल्याउने गरी यस्तो सहमति भएको हो । नेपाल विद्युत प्राधिकरणले अबको २ बर्षभित्र मुलुकमा १ हजार ३ सय ८१ मेगावाट विद्युत उत्पादन हुने प्रक्षेपण गरेको छ । उत्पादन हुने विद्युत खेर जान नदिन सरकारले पनि भारतसँगको ‘इनर्जी बैंकिङ’ लाई बढावा दिएको हो । अहिले प्रणालीमा कूल १ हजार ८२ मेगावाट विद्युत छ भने चालु आर्थिक बर्षभित्र ३ सय ५८ र आर्थिक बर्ष २०७६/७७ मा १ हजार २३ मेगावाट विद्युत प्रणालीमा जोडिनेछ ।

नेपालमा २ बर्षभित्र कहाँबाट कति विद्युत ?

  • आर्थिक बर्ष २०७५/७६ – प्राधिकरणका २ र निजी क्षेत्रका १६ आयोजनाबाट ३ सय ५८ मेगावाट
  • आर्थिक बर्ष २०७६/७७ – अपर तामाकोशीसहित १ हजार २३ मेगावाट
  • हाल प्रणालीमा रहेको विद्युत –१ हजार २३ मेगावाट

लक्ष्यलाई सफलतामा पु¥याउन प्राधिकरण आफ्ना मातहत रहेका ६० मेगावाटको अपर त्रिशुली थ्रि–ए र १४ मेगावाटको कुलेखानी तेस्रोलाई समयमै सम्पन्न गर्न लागिपरेको छ । विद्युत प्राधिकरणकै सहायक कम्पनीमार्फत निर्माण भइरहेका र निजी क्षेत्रबाट निर्माण भइरहेका जलविद्युत आयोजनाको जडित क्षमता २ हजार ४ सय ६३ मेगावाट छ ।

कात्तिकदेखि ४ सय ५६ मेगावाटको तामाकोशी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन शुरु भएपछि नेपालमा विद्युत बढ्छ । हिउँदमा कम र बर्षामा बढि विद्युत उत्पादन हुने भएकोले बर्षाको उत्पादन भारत पठाएर हिउँदमा पुनः नेपाल ल्याउने सरकारी प्रयास सान्दर्भिक छ । हाल नेपालमा निजी क्षेत्रका ७७ आयोजनाबाट ५ सय २१ र प्राधिकरणका आयोजनाबाट ५ सय ६३ मेगावाट विद्युत उत्पादन हुँदै आएको छ । यस्तै, २ हजार ५ सय १० मेगावाटका १ सय १४ आयोजना निर्माणाधिन छन् भने २ हजार ६ सय ४८ मेगावाटका १ सय २२ आयोजना वित्तिय व्यवस्थापनको पर्खाइमा छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV