१३ माघ २०७५, आईतवार
  • सुशीलबाबु थकाली

मुस्ताङ, १३ माघ । शुक्रबारदेखिको निरन्तरको हिमपातले मुस्ताङको जनजीवनलाई कष्टकर बनाउँदै लगेको छ । बालीनाली सप्रने आशामा मुस्ताङवासी औधी खुसी भएपनि सञ्चार र हवाई सेवा ठप्प हुँदा उनीहरुको दैनिकी कष्टकर बनेको हो । त्यसमाथि विद्युत सेवा पनि अवरुद्ध हुँदा मुस्ताङवासी थप मारमा परेका छन् ।

निरन्तरको हिमपातका कारण थासाङ गाउँपालिकाको अधिकांश स्थानमा अहिले विद्युत र सञ्चार सेवा ठप्प बनेको छ । एक साता अघिदेखि थासाङ गाउँपालिकामा हिउँ फुसफुसाउन सुरु गरेको थियो ।
हिमपात भएसंगै गत शुक्रबारदेखि थासाङ गाउँपालिका विद्युत र सञ्चारविहीन भएको छ । हिउँ पर्दा विजुलीका तारमा समेत हिउँ जम्ने, तार लत्रेर रुख विरुवामा छुने हुँदा त्यस्ले करेन्ट लाग्ने सम्भावना भएकोले विद्युत वितरण गर्न नसकिएको नेपाल विद्युत प्राधिकरण मुस्ताङका कार्यालय प्रमुख सनप्रसाद थकालीले जानकारी दिनुभयो । कोवाङबाट माथिल्लो भागमा भने विद्युत सेवा प्रवाह भईरहेको छ ।

हिउँ पर्दा या पानी पर्दा मुस्ताङका अधिकांश स्थानमा विद्युत वितरणमा समस्या देखिनु सामान्य नै बनिसकेको छ । मुस्ताङमा हावा बढी चल्ने हुँदा पनि विजुलीका तारहरु एकापसमा जुध्ने समस्या बढी हुने गर्नाले पनि विद्युत सेवा प्रवाहमा अवरोध हुँदै आएको छ । हिमपात पछि कतिपय स्थानमा समस्या आएकोले पनि मर्मत सम्भार पछि मात्र विद्युत सेवा प्रवाह गर्ने मुस्ताङ विद्युत प्राधिकरणको तयारी छ ।

विद्युतसँगै मुस्ताङको सञ्चार सेवा पनि ठप्प हुँदा स्थानीयवासी सकसमा परेका छन् । मुस्ताङमा सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी स्वामित्वको एनसेलले सञ्चार सेवा उपलब्ध गराइरहेका छन् । तर हिमपात पछि यी दुबै संस्थाका सेवा पनि ठप्प बनेको छ ।

नेपाल टेलिकम मुस्ताङका कार्यालय प्रमुख हुमबहादुर भुजेलले विद्युतको समस्याले गर्दा सञ्चार सेवामा पनि प्रभाव पारेको बताउनु भयो । हिउँ परेपछि विद्युत नहुँदा टावरहरु सञ्चालनमा आउन नसक्दा टेलिफोन सुविधामा असर परेको उहाँको तर्क छ । यस्तै मुस्ताङलाई हवाई मार्गबाट जोड्ने पुसाङ विमानस्थल पनि गत सातादेखि ठप्प बनेको छ ।

मुस्ताङमा यस्ता समस्या विद्यमान हुँदाहुँदै पनि जिल्लाबाट चुनाव जितेर गएका प्रतिनिधिहरुले चासो नदेखाएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् । गाउँगाउँमा सिंहदरबार पुगेको भनिरहेकै वेला भने मुस्ताङका गाउँठाउँ भने अन्धकारमा सञ्चारविहीन भएर बस्नु पर्दा स्थानीयवासीलाई गाउँगाउँमा सिंहदरबार भन्ने नारा व्यङ्ग झै बनेको छ ।







LIVE TV