१३ माघ २०७५, आईतवार

काठमाडौँ । साहित्यकार भुवनहरि सिग्देलको संस्मरणात्मक कृति ‘अदभुत तिवारी’ सार्वजनिक भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रममा लेखक सिग्देलका दुई नातिनीहरूको हातबाट सो कृति सार्वजनिक गरिएको हो ।

साहित्यकार रेशम विरहीले कृतिमाथि अन्तरक्रिया सञ्चालन गरेका थिए । कार्यक्रममा प्रा. राजेन्द्र सुवेदी, आख्यानकार नारायण ढकाल, निबन्धकार/पत्रकार दीपक सापकोटा र लेखक भुवनहरि सिग्देलबीच अन्तरक्रिया भएको थियो ।

प्रा. सुवेदीले भुवनहरि सिग्देलले अरुको कथामा आफ्नो संस्मरण मिश्रण गरेर एक सुन्दर कृति तयार पारेकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । साथै उहाँले पुस्तकलाई गैरआख्यानात्मक औपन्यासिक कृतिको संज्ञा दिनुभयो ।

साहित्यकार नारायण ढकालले भुवनहरि सिग्देलले काँठको साहित्यमा राम्रो छलाङ मारेको बताउनुभयो । उहाँले आफू पूर्वी उपत्यकाको काँठ र सिग्देल पश्चिम काँठमा रहेको बताउँदै संस्मरण कुनै उपन्यासभन्दा कमी नभएको बताउनुभयो ।

पत्रकार दीपक सापकोटाले पुस्तकको रचनागर्भदेखि नै आफू परिचित रहेको बताउनुभयो । भुवनहरि सिग्देलको लेखाइबाट आफू निकै प्रभावित रहेको उहाँको भनाइ थियो ।

अन्तरक्रिया सञ्चालन गरेका साहित्यकार रेशम विरहीले भुवनहरि सिग्देल आफै अद्भुत लेखक भएकाले किताब पनि उद्भूत रहेको दाबी गर्नुभयो ।

लेखक सिग्देलले आफूले देखेका र बेहोरेका पात्रहरूसँगको सङ्गतबाट संस्मरणात्मक कृति तयार पारेको बताउनुभयो । उहाँले किताबमा समेटिएका पात्रहरु यथार्थ र कथा सत्य रहेको स्पष्ट पार्नुभयो ।

शिखा बुक्सले प्रकाशन गरेको यस कृतिको मूल्य ३२५ रहेको पुस्तक छ ।

LIVE TV