१२ माघ २०७५, शनिबार

डडेलधुरा । डडेलधुरामा धेरै वर्षपछि शुक्रबार भारी हिमपात भएको छ। झण्डै एक दशकपछि
डडेलधुरा सदरमुकामसहित जिल्लाका उच्च लेकाली ठाउँमा भारी हिमपात भएको हो ।

डडेलधुराको अनारखोली, साहुखर्क, हगुल्टेलगायतका स्थानमा पनि हिमपात भएको छ । हिमपात भएसँगै पहाडी जिल्लामा चिसोका कारण जनजीवन प्रभावित भएको छ । डडेलधुरा सदरमुकाम क्षेत्रमा डेढ फिट हिउँ जमेको जल तथा मौसम विज्ञान विभाग मध्य तथा सुदूरपश्चिम क्षेत्रीय हावापानी फिल्ड कार्यालय डडेलधुराले जनाएको छ ।

हिमपातका कारण चिसो बढेकाले यो समयमा बालबालिका तथा वृद्धवृद्धाको विशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् । यो समयमा बालबालिकामा निमोनिया र वृद्धवृद्धामा दम, श्वासप्रश्वाससम्बन्धी रोग देखिन सक्ने भएकाले तातो तथा झोलिलो खानेकुरा खानुपर्ने स्वास्थ्यकर्मीले जोड दिएका छन् ।

हिमपातले हिउँदे बाली सप्रने भन्दै किसान खुसी भएका छन्। हिमपातले गहुँलगायतका हिउँदे बाली हुर्कन सहयोग गर्ने अमरगढी कृषि शाखाका संयोजक टेकबहादुर विष्टले बताए।

यसैबिच डडेलधुरामा बुुधबारदेखि नै परेको हिमपातले सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको यातायात ठप्प भएको छ । दार्चुला, डडेलधुरा, बैतडी, बझाङ, डोटी, अछाम र बाजुराको मुख्य राजमार्ग मानिने भीमदत्त राजमार्गमा शुक्रवार बिहानदेखि यातायात सेवा ठप्प भएको हो ।

डडेलधुरा जिल्ला अन्तर्गत पर्ने भीमदत्त राजमार्ग अनारखोली, मेलखर्क, हगुल्डे, साउँखर्क, भत्कडाँ, स्याउले बजारलगायत क्षेत्रमा बाक्लो हिउँ जमेकाका कारण यातायात चल्न नसकेको डडेलधुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

अहिले पनि हिमपात भइरहेकाले डोजरले पनि बाटो खुलाउन सम्भव नभएको प्रजिअ जोशीको भनाइ छ । बिहीबार डडेलधुराको अनारखोली र साहुखर्कमा भएको हिउँ सफा गरी राजमार्ग सञ्चालन गरे तापनि शुक्रवार पुनः भएको हिमपातका कारण राजमार्ग अवरोध भएको उनले जानकारी दिए ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा राजमार्गको हिउँ हटाउने र सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । यस वर्ष यो क्षेत्रमा चौथौँ पटक हिमपात भएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV